नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने
दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ।
काठमाडौं, असोज १३ : नेपाल र बेलायतका सांसदबीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना हुने भएको छ। नेपाल–बेलायत संसदीय मैत्री समूहको पहलमा आगामी वर्ष फेब्रुअरी २७ मा दुई देशका सांसदबीच क्रिकेट खेल आयोजना गर्न लागिएको हो।
प्रस्तावित कार्यक्रमअनुसार पहिलो खेल काठमाडौँको त्रिवि क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल पर्यटकीय सहर पोखरामा आयोजना गरिनेछ। दुई खेलमार्फत नेपाल र बेलायतबीच संसदीय सम्बन्धसँगै खेलकुदका माध्यमबाट समेत सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाका अनुसार मैत्रीपूर्ण प्रतियोगिताले दुई देशका सांसदबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र बेलायतबीच लामो समयदेखि वैदेशिक रोजगारी, पर्वतीय कूटनीति, पर्यटन, संस्कृति तथा संसदीय अभ्यासका क्षेत्रमा सहकार्य हुँदै आएको छ। यसै सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले क्रिकेटलाई समेत सहकार्यको माध्यम बनाउन लागिएको हो ।
नेपाल–बेलायतबीचको संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउने, पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने र दुई देशका सांसदबीच आपसी अनुभव तथा सम्बन्ध विस्तार गर्ने विषयलाई समेत कार्यक्रमले प्राथमिकता दिने जनाइएको छ।











