कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज
भरतपुर, असोज ९ : चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ। गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर...भरतपुर, असोज ९ : चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ। गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार त्यहाँ पाँच जातका ३० वटा कछुवा छन्। जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको छ। निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ विसं २०५७ बाट हुर्काउन थालिएको हो। उनका अनुसार हुर्किएका ६ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन्।
अति सङ्कटापन्न सालको जङ्गलमा रहने भुई, तीन पाते पहाडी, पदनी, पुतली र मयुरपङ्खी कछुवा छन्। भुई र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ। धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहन्छ। यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन्।
पदनी पानीमा बस्ने कछुवा हो। यो मुख्य रुपमा घोलमा पाइन्छ। यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खान्छ। पुतलीलाई नरम खबटे कछुवा पनि भनिन्छ। दलदल र पोखरीमा यो बस्छ। खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई इनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन थियो।
मयुरपङ्खीलाई नरम खबटे भनिन्छ। यो पोखरी, दलदल र हिलोमा बस्छ। पानीमा पाइने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ। निकुञ्जले पदनी, पुतली र मयुरपङ्खीलाई गोहीसँगै राखेको छ। ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ।
कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उनको भनाइ छ। विश्वमा २५० जातिका कछुवा पाइन्छन्। तीमध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिए। तस्करले चोरीशिकार गरेर यसलाई धेरै मूल्यमा बिक्री गर्ने गर्छन्। रासस