Kathmandu Press

‘माधव नेपालको असन्तुष्टि केही छैन, पार्टी अब नयाँ उचाइमा पुग्यो’

माधव नेपालले कुनै पनि असन्तुष्टि व्यक्त गर्नु भएको छैन। उहाँले कार्यदलको प्रतिवेदन कार्यान्यवनका सवालमा नेतृत्वलाई ध्यानाकर्षण गराउनु भएको हो। बुँदागत रुपमा उहाँले जोड दिनु भएको विषयलाई कार्यान्वयन गर्नुपर्ने मत छ।
‘माधव नेपालको असन्तुष्टि केही छैन, पार्टी अब नयाँ उचाइमा पुग्यो’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव बैठकले पारित गरेको छ। सबै अन्तरसंघर्षलाई समाप्त गर्दै महाधिवेशनमा होमिने स्थायी कमिटीको निर्णय छ। के नेकपाभित्रको अन्तरसंघर्ष अब समाप्त भएको हो?

आगामी दिनमा पार्टी कसरी अघि बढ्छ र कमिटीको बैठकले पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने विषयमा र राष्ट्रिय हितका सवालमा के-के निर्णय गर्योब? नेकपाका स्थायी कमिटी सदस्य भीमबहादुर रावलसँग काठमाडौंप्रेसका लागि शिशिर ढकालले गरेको कुराकानीको सम्पादित अंश :

-नेकपाको स्थायी कमिटी बैठकले के-के निर्णय गर्‍यो ?

Hardik ivf

पार्टीको स्थायी कमिटी बैठकले पार्टी सुदृढीकरणका साथै राष्ट्रिय हितका सवालमा निकै महत्वपूर्ण निर्णय गरेको छ। पार्टीभित्रका अन्तरसंघर्षलाई अन्त्य गर्दै एकताबद्ध रुपमा पार्टीलाई अघि बढाउने सवालमा कार्यदलले पेश गरेका सुझावलाई अनुमोदन गर्दै अघि बढ्ने बैठकको निर्णय छ। र, यसअघि केन्द्रीय कमिटीले निर्णय गरेअनुसार पार्टीको महाधिवेशन सम्पन्न गर्ने निर्णय छ।

-पार्टी सुदृढीकरणका सवालमा के निर्णय भयो?

बैठकले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै अघि बढ्न नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो। त्यसको पालनाका लागि दुवै अध्यक्षले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। अब नेकपामा गुटबन्दीको अन्त्य गर्ने निर्णय भएको छ। यसका साथै एकताको रक्षाका लागि एकतावद्ध रुपमा अघि बढ्ने निर्णय बैठकको छ। सम्पूर्ण अन्तरविरोध र अन्तरसंघर्षको अन्त्य गर्दै सामूहिक रुपमा निर्णय गर्ने, पार्टीका कमिटीलाई सशक्त बनाउने निर्णयले पार्टीलाई सुदृढीकरणको दिशामा अग्रसर बताएको छ।

-राष्ट्रिय हितका सवालमा नेकपाको स्थायी कमिटी बैठकले गरेका निर्णय के-के हुन्?

बैठकले नेपाल-भारतबीचको सीमा विवादलाई नेपालको सार्वभौमिकता र स्वाधिनताको सुनिश्चितता गर्दै वार्तामार्फत समाधान गर्ने निर्णय गरेको छ। यस्तै, अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्दा राष्ट्रिय हितलाई सर्वोपरी राखेर मात्रै पारित गर्ने निर्णय गरेको छ। कस्ता विषय राख्ने वा हटाउने भन्ने विषयमा पार्टीको कार्यदलले यसअघि नै सुझाव दिएको छ। त्यसलाई आधार मानेर पार्टीका कमिटीमा वृहत छलफल गर्दै आउने सुझावलाई समेटेर एमसीसी पारित गर्ने निर्णय भएको छ।

-के नेकपा अब महाधिवेशनमा होमिएको हो?

महाधिवेशनको सवालमा पार्टीको केन्द्रिय कमिटीले यसअघि नै निर्णय गरेको थियो। त्यसको कार्यान्वयन गर्ने निर्णय स्थायी कमिटीले गरेको छ। अब सम्पूर्ण मतभेदलाई स्थगित गर्दै चैत २५-३० गतेसम्म महाधिवेशनमा जाने भन्नेमा सबैको सहमति छ। त्यसको आवश्यक तयारीका लागि कात्तिक १५-१७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाइएको छ। अब नेकपा महाधिवेशनमा होमिन्छ। 

-नेकपामा मतभेदको अवस्था अन्त्य भएको आधार चाहिँ के हो?

अध्यक्षद्वयले आत्मालोचनासहित आ-आफ्नो कार्यविभाजन गर्नु, विगतको अन्तरसंघर्षबाट पाठ सिक्दै नयाँ ढंगबाट पार्टीलाई अघि बढाउन तयार रहनु र महाधिवेशन केन्द्रित हुन तयार रहनुलाई नै मतभेद अन्त्यको आधार मान्न सकिन्छ।

-विगतमा पनि सहमति गर्ने तर पालना नगर्ने प्रवृत्तिले मतभदेलाई बढाएको थियो नि?

विगतका गल्तीबाट पाठ सिक्दै अहिलेको अवस्थामा नेतृत्व आइपुगेको छ। कार्यदलको सुझावलाई पालना गर्ने प्रतिवद्धता, विधिसम्बद्ध ढंगबाट पार्टीलाई अघि बढाउने संकल्प नेतृत्वले गरेको छ। अब नेतृत्वबीचको सहमति कार्यान्वयन नेकपामा हुन्छ। विगतका विकृति विसंगतिको अन्त्य गर्दै पार्टी अब सम्पूर्ण रुपमा राष्ट्रिय हितमा केन्द्रित हुन्छ।

-अध्यक्षद्वयले पार्टी नयाँ उचाइमा प्रवेश गरेको बताउनुभएको छ। के नेकपा नयाँ उचाइमा पुगेकै हो?

सात महिनादेखिको अन्तरसंघर्ष र अन्तरविरोधलाई अन्त्य गर्दै सहकार्य र सहमतिका आधारमा अघि बढ्ने नेतृत्वको संकल्प छ। पार्टीभित्रका सम्पूर्ण समस्या निराकरणका लागि उहाँहरु तयार देखिनुभएको छ। पार्टीभित्र कायम गुटबन्दीको अन्त्यका लागि उहाँहरु तयार हुनुभएको छ। सरकारलाई पार्टीको मार्गनिर्देशन अनुसार चलाउन र पार्टी कमिटीलाई बलियो बनाउन प्रतिबद्धता आएको छ। पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध रुपमा अघि बढाउने प्रयत्नबाट नेकपा नयाँ उचाइमा पुगेको अनुभूति गर्न सकिन्छ।

-वरिष्ठ नेता माधवकुमार नेपालका माग सम्बोधन नगरेको नेतृत्वले पार्टीलाई कसरी एकताबद्ध बनाएर अघि बढ्ला?

माधव नेपालले कुनै पनि असन्तुष्टि व्यक्त गर्नु भएको छैन। उहाँले कार्यदलको प्रतिवेदन कार्यान्यवनका सवालमा नेतृत्वलाई ध्यानाकर्षण गराउनु भएको हो। बुँदागत रुपमा उहाँले जोड दिनु भएको विषयलाई कार्यान्वयन गर्नुपर्ने मत छ। अब सबै जना एकताबद्ध भएर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन क्रियाशील हुनु हुनेछ। 

-बैठकमा तपाईंले के-के विषयको उठान गर्नुभयो?

बैठकमा मैले एमसीसीको परिमार्जनसहित अनुमोदन, राष्ट्रिय हित र स्वाधिनतालाई सर्वोपरीमा राखेर नेपाल-भारत सीमा विवाद समाधान गर्नु पर्नेसहित विधि र पद्धतिलाई सर्वोपरी मानेर पार्टी र सरकार चल्नुपर्ने विषय राखेको  थिएँ। यस्तै, विगतको जस्तै अन्तरसंघर्ष र अन्तरविरोध अब नेकपामा आउन नदिन भएका सहमतिको कार्यान्वयनमा इमान्दार हुन नेतृत्वको ध्यानाकर्षण गराउनुका साथै गुटबन्दीको संस्कार अन्त्य गर्न नेतृत्वलाई ध्यानाकर्षण गराएको थिएँ।
 

प्रकाशित मिति: १९:०८ बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्