लकडाउन बिनै कोरोना नियन्त्रण गरेको पाकिस्तानको सफलताको कथा, कसरी भयो सम्भव ?
काठमाडौं, भदौ २५ : मध्य जुनमा ६ हजार भन्दा धेरै कोरोना संक्रमित भेटिएको पाकिस्तानमा सेप्टेम्बरमा दैनिक केवल २ सय जना संक्रमित भेटिइरहेका छन्।...काठमाडौं, भदौ २५ : मध्य जुनमा ६ हजार भन्दा धेरै कोरोना संक्रमित भेटिएको पाकिस्तानमा सेप्टेम्बरमा दैनिक केवल २ सय जना संक्रमित भेटिइरहेका छन्। पछिल्ला केही साता यता पाकिस्तानमा नाटकीयरुपमा कोरोना संक्रमणको ग्राफमा गिरावट आएको छ।
पाकिस्तानमा हालसम्म २ लाख ९९ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार ३६५ जनाको निधन भएको छ भने २ लाख ८७ हजार ९५० जना निको भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ५४० छ। गत २४ घण्टामा पाकिस्तानमा १९६ जना संक्रमित थपिएका छन् भने ६ जनाको मात्र मृत्यु भएको छ।
२१ करोड २२ लाख जनसंख्या भएको पाकिस्तानमा कमजोर स्वास्थ्य सुविधा, भिडभाड युक्त सहर, धरमराएको अर्थतन्त्र आदीका कारण अगस्टको अन्तिमसम्ममा कोरोनाका कारण ८० हजार मानिसको मृत्यु हुने अनुमान गरिएको थियो। तर केही साता यता आश्चर्यजनकरुपमा संक्रमण कम हूँदै गएको छ। यसबाट हुने मृत्युसमेत हरेक दिन एक अंकमा झरेको छ।
कोरोनाको आँकडामा आएको आश्चर्यजनक परिवर्तनले स्वास्थ्य विशेषज्ञसमेत चकित बनेका छन्। कोरोना नियन्त्रण हुनुको कारणबारे आ–आफ्ना बिचार राखिरहेका छन्। पाकिस्तान कोरोना नियन्त्रणमा उन्मुख हुँदा भारतमा दैनिक करिब एक लाख जना संक्रमित थपिइरहेका छन्।
पाकिस्तानका जनताले महामारी नियन्त्रणमा आउनुको पछि थुप्रै कारण रहेको अनुमान लगाइरहेका छन्। केहीले देशको मौसम, वातावरणसँगै युवा जनसंख्यालाई कारक मानेका छन् भने केही प्राकृतिक इम्युनिटीका कारण कोरोना नियन्त्रण उन्मुख रहेको दाबी गरिरहेका छन्।
के युवा जनसंख्या कारक हो?
पाकिस्तानको औसत जनसंख्या केबल २२ वर्ष उमेर समूहको छ। कोरोना भाइरसको असर वृद्ध मानिसहरुमा धेरै हुन्छ। दक्षिण एसियामा कोरोना भाइरस नियन्त्रण बाहिर जानुको यो पनि एउटा कारण हुन सक्छ।
इटालीको औसत जनसंख्या ४६ दशमलव ५ वर्ष उमेर समूहको छ। जहाँ हालसम्म ३५ हजार ५७७ जनाको मृत्यु भएको छ। तर पाकिस्तानमा जम्मा ६ हजार ३६५ जनाको मात्रै निधन भएको छ। तर पाकिस्तानमा संक्रमण नियन्त्रण उन्मुख हुँदा भारतमा कसरी नियन्त्रण बाहिर जाँदैछ। सबैको ध्यान यही कुरामा छ। भारतको औसत जनसंख्या २६ वर्ष उमेर समुहको छ र भिडभाडयुक्त सहर लगायतका विषयमा पाकिस्तानसँग धेरै समानता छ।
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देशको औसत जनसंख्या ३५–४५ वर्ष उमेर समूहको छ। पाकिस्तानको २२ वर्ष भएकाले कोरोनाको असर कम देखिएको हुने अनुमान विज्ञहरुले लगाएका छन्।
के संक्रमण घटेको देखिनुमा कम परीक्षण कारण हो ?
विज्ञहरुले पाकिस्तानमा संक्रमण नियन्त्रण हुनुमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मुख्य कारक भएको बताएका छन्। पाकिस्तानको सरकारले ट्रेस, परीक्षण र क्वारेन्टाइन (टीटीक्यू)को रणनीति अख्तियार गरेर संक्रमण नियन्त्रण गरिएको जनाएको छ।
अगस्टको अन्तिम साता पाकिस्तानको परीक्षण दर २ दशमलव ०९ प्रतिशत थियो। विश्वस्वास्थ्य संगठनले ५ प्रतिशत परीरिक्षणदरबाट आएको परिणामलाई विश्लेषण गरेर मात्रै महामारी नियन्त्रणमा भए नभएको छुट्याउन सकिने बताएको छ। अलजजिरामा प्रकाशित एक रिपोर्टमा पर्यवेक्षकहरुले सिमितरुपमा भइरहेको परीक्षणलाई हेर्दा संक्रमणको संख्या धेरै रहेको हुन सक्ने बताएका छन्।
छिमेकी देश भारतको तुलनामा पाकिस्तान परीक्षण गर्नेकुरामा निकै पछि छ। भारतमा प्रतिदिन १० लाख मानिसको परीक्षण हुने गरेको छ। पाकिस्तानले प्रतिदिन औसतमा २० मानिसको परीक्षण गरिरहेको छ। भारतले हालसम्म ५ करोड २९ लाख ३४ हजार ४३३ जनाको परीक्षण गरेको छ भने पाकिस्तानले २८ लाख ५० हजार १२१ जनाको परीक्षण गरेको छ।
स्मार्ट लकडाउन र सरकारी नीति
संक्रमण नियन्त्रणका लागि सुरुवाती केही समय मात्रै पाकिस्तानमा लकडाउन गरिएको थियो। त्यसपछि भने लामो समय पाकिस्तानमा लकडाउन भएन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अर्थतन्त्र खोल्नुपर्ने भन्दै लकडाउन खुकुलो बनाउने घोषणा गरे। लकडाउन खुलेपछि कोरोना संक्रमण बढ्न थाल्यो। तर सरकारले लकडाउन कडा बनाएन।
पाकिस्तान संक्रमण नियन्त्रणका लागि लकडाउनमा भर परेन। सरकारले अर्थतन्त्र पनि सुचारु राख्ने र कोरोना भाइरस पनि नियन्त्रण गर्ने नीति अघि सार्यो। कोरोनाको हटस्पट बनेको स्थानमा लकडाउन गर्ने र अन्य स्थानमा लकडाउन नगर्ने नीति लियो। जसले पाकिस्तानको अर्थव्यवस्था धरासयी हुन पाएन।
प्रधानमन्त्री इमारान खानले पाकिस्तानका जनतालाई भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका थिए। उनले भौतिक दुरी, मास्क र हात धन नागरिकलाई आग्रह गरे। विज्ञहरुले ‘स्मार्ट लकडाउन’को योजना निकै प्रभावकारी भएकाले कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन्।
अन्तराष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा