Kathmandu Press

‘कोरोना खतरनाक रोग हो, नजरअन्दाज नगरौँ’

हामीले मानिसलाई सतर्कताका उपाय अपनाउन र यसलाई नजरअन्दाज नगर्न भने पनि उनीहरुले हल्का रुपमा लिइरहेका छन्।
‘कोरोना खतरनाक रोग हो, नजरअन्दाज नगरौँ’

मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेपनि अतिआवश्यक कामका लागि मानिसको आवतजावतलाई रोकेको छैन। यस्ता अतिआवश्यक कार्यालयमा काम गर्ने कर्मचारी कार्यालय जाने क्रममा संक्रमित हुन सक्ने सम्भावना हुन्छ।

अफिस वा घरमा एक जनामा मात्रै कोरोना संक्रमण भयो भने सबैमा यसको असर पर्न सक्छ। त्यसैले पनि अहिले निषेधाज्ञा लगाइएको भएपनि कोरोना संक्रमितको संख्या बढिरहेको छ।

कोरोना संक्रमितको संख्या बढ्नुको अर्को मुख्य कारण भनेको सरकारले बनाएको नियम वा निर्णयको प्रभावकारी कार्यान्वयन नहुनु पनि हो। निषेधाज्ञा भनेको मानिसको हुलमुल नहुने किसिमले परिवार–परिवारलाई छुट्याउने हो। तर, परिवारभित्रको सदस्यलाई छुट्टाउन सकिँदैन। यसले के हुन्छ भने परिवारको एक जना सदस्यले मात्र बाहिरबाट कोरोना ल्याउने वा घरबाटै संक्रमित भएर अफिसका अन्य कर्मचारीहरुलाई अञ्जानमा कोरोना सारेको हुनसक्छ।

Hardik ivf

अहिले निषेधाज्ञा जारी रहेका बेला बाहिर ठूला सडकमा केही हदसम्म मानिसको चाप कम छ। तर, भित्रका गल्लीमा अझै पनि मानिस भेला हुने, मास्क नलगाएर  साथीभाइ जमघट हुने लगायतका क्रियाकलाप भइरहेका छन्। यदि मानिस आफँै  सजक भएर सकभर घरैमा बस्ने गरेको भए अहिले यो स्थिति आउँदैन थियो।

सुरुमा लकडाउन गरेका बेला पनि मानिसको आनीबानीमा खासै परिवर्तन आएको थिएन। अहिले पनि त्यस्तै भइरहेको छ। मानिसले आफ्नो व्यवहारमा मात्रै पनि केही परिवर्तन ल्याएको भए केही हदसम्म कोरोना नियन्त्रणमा सहज हुने थियो।

अहिले सडकमा हेर्‍यौँ भने पनि धेरै गाडी गुडिरहेका देख्छौं। ती सबै मानिस अत्यावश्यक कामले नै हिँडेका हुन् वा होइनन् भन्ने कुरामा पनि शंका उब्जिन्छ। किनभने सबै ठाउँमा कडा जाँच छैन। काम परेर वा नपरेर हिँडेका ती मानिसहरु कता गए त? पक्कै पनि कार्यालय वा अन्य ठाउँबाट फर्केर घर नै गए होलान्। यसरी मानिसले अफिस वा अन्य ठाउँबाट घरमा वा घरबाट अफिसमा संक्रमण सार्न सक्ने सम्भावना रहन्छ। अहिले कोरोना परीक्षण गर्न आउने मानिसमध्ये धेरै जसो सहकर्मी वा आफन्तको सम्पर्कमा आएकै भएर परीक्षण गराउन आउने गरेका छन्।

पहिलाको लकडाउन र अहिलेको लकडाउनमा धेरै फरक छ। सुरुमा केही व्यक्तिमा कोरोना संक्रमण देखिने बित्तिकै लकडाउनको घोषणा गरियो। पछि विभिन्न क्षेत्रबाट दबाब आउन थालेपछि चार महिनापछि लकडाउन अन्त्य गरियो। तर, यसको व्यवस्थापनमा भने सरकार चुक्यो।

लकडाउन अन्त्य हुने बित्तिकै बाहिरबाट वा भनौँ भारतबाट नेपाल भित्रिनेको संख्या पनि बढ्यो। यस लगत्तै संक्रमण पनि विस्तारै फैलिँदै गयो। संक्रमण फैलने क्रम तीव्र गतिमा पुग्दा सरकारले फेरि निषेधाज्ञाको घोषणा ग¥यो र मानिस घरमै बस्न बाध्य भए। यदि त्यो समयमा परिवारका एक जना सदस्यमा मात्रै कोरोना संक्रमण भएको भए त्यसले परिवारमा पनि सार्ने सम्भावना रह्यो। तसर्थ यो कारणले पनि अहिले धेरै मानिसमा संक्रमण देखिन थालेको हुन सक्ने सम्भावना अत्यधिक छ।

अहिले पनि ५० प्रतिशतभन्दा बढी मानिस लक्षणबिहिन अवस्थामा नै छन्। उनीहरुलाई कोरोना संक्रमण भएको थाहा नै छैन। यसरी अञ्जानमा उनीहरुले कोरोना अरुलाई सारिरहेका छन्। तसर्थ बीचमा लकडाउन खुलेपछि मानिसको आवतजावत बढेको र पुनः निषेधाज्ञापछि घर–घरमा परिवारलाई मात्र नभएर आफ्नो अफिसका सहकर्मीमा समेत संक्रमण सारेको उदाहरण धेरै छन्।

सरकारले पहिलो चरणको लकडाउनमा जे गल्ती ग¥यो, त्यही गल्ती दोहो¥याइरहेको छ। लक्षण नदेखिएका मानिसलाई कोरोना परीक्षण नगर्ने भनिएपछि तराई वा अन्य ठाउँ जहाँ हट स्पट बनेको थियो, त्यहाँका मानिस पनि विभिन्न ठाउँमा गए। उनीहरुबाट पनि अरुलाई संक्रमण सरेको हुनसक्ने अनुमान छ।

अहिलेको निषेधाज्ञाकै विषयमा कुरा गर्नु पर्दा धेरै मानिसमा कोरोना संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयलाई नियन्त्रणको जिम्मा दिइएको र उनीहरु अत्तालिएर निषेधाज्ञा जारी गरिएको जस्तो लाग्छ। तर, निषेधाज्ञा जारी नै गरेपछि कहाँ–कहाँ, कसरी थप समस्या आउन सक्छ? भन्ने सोचिएन।

जतिपनि मानिस संक्रमित भए ती मानिस अझै पनि समुदायमा मिक्स भएर बसेकै कारण पनि अहिले यो अवस्था आएको हो कि। किनभने उनीहरुले एकले अर्कोलाई र अर्कोले फेरि अरु मानिसमा संक्रमण सारेको अनुमान गरिएको छ। अहिले हेर्दा पहिलो लकडाउनमा के कसरी संक्रमण सर्ने अवस्था थियो, थिएन? र पहिला के कमजोरी थिए? त्यसलाई कसरी सुधार गर्नुपर्ने? लगायतका सबै कुराहरु हामीले छोडेर आयौँ। 

अहिले कोरोनालाई हेरेर हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था छ। किनभने अहिले न हामीसँग खोप छ, न त पर्याप्त सुविधा नै छ। मानिसलाई कोरोना कसरी सर्छ भन्ने कुरा थाहा छ। तैपनि लापरवाही गरिरहेका छन्। हुँदाहुँदा अहिले ‘कोरोना भनेको हावा हो, यसले केही हुँदैन’ भन्ने भ्रम समाजमा व्यापक छाएको छ।

जो मानिस कोरोनाकै कारणले सिकिस्त भएर गएका छन्, उनीहरुलाई थाहा छ कि  कोरोना कति डरलाग्दो छ भनेर। तर, नलाग्नेहरु भने अफवाहको पछि लागेर  लागेर कोरोना केही होइन भन्दै हिँडिरहेका छन्। यसरी मानिसमा भ्रम सिर्जना  भइसकेको भएर पनि सतर्कता अपनाउन छाडेका छन्। साथै हाम्रो र सरकारको तर्फबाट पनि यस्ता भ्रमहरु हटाउन कुनै विशेष काम भएको छैन। हामीले मानिसलाई सतर्कताका उपाय अपनाउन र यसलाई नजरअन्दाज नगर्न भने पनि उनीहरुले हल्का रुपमा लिइरहेका छन्।

तर, लकडाउन मात्र पनि अन्तिम उपाय भने होइन। किनभने जो हुने खाने छन्, उनीहरु अहिले पनि हिँडिरहेका छन्। तर दैनिक ज्यालामजदुरी गर्नेलाई भने यसले धेरै मर्का पारेको छ। जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गर्ने हो भने संक्रमणको गतिलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ। यसलाई नै उचित व्यवस्थापनका साथ निषेधाज्ञाको अन्त्य गर्न आवश्यक छ। किनभने मानिसमा कोरोनाले भन्दा बढी अन्य कुराले बढी प्रभाव पार्न थालेको छ।

सरकारले अहिले केही समयका लागि लकडाउन तथा निषेधाज्ञा जारी गरी अवस्थालाई स्थिर बनाएको सोच्नु नै गलत हो। अहिले क्षणिकका लागि अवस्था स्थिर भएपनि पछि फेरि निषेधाज्ञा खुलेपछि कसरी यसको नियन्त्रण गर्ने भनेर अहिलेसम्म पनि सोचेको जस्तो लाग्दैन। मानिसहरु पनि जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्नेतर्फ विश्वस्त भइसकेका छैनन्। उनीहरुले सुनिरहेका छन्, देखिरहेका छन्। तर, व्यवहारमा उतार्न सकेका छैनन्।

यसबीच मानिसको व्यवहारमा परिवर्तन आएको भनेकै हात मिलाउन बन्द प्रायः भएको मात्र हो। यसरी नै अन्य कुराहरुलाई पनि अनुशरण गर्नेतर्फ प्रोत्साहन गर्नुपर्छ। सर्वप्रथम भारतको खुला सीमामा कडाइ गर्नु अत्यन्तै आवश्यक छ। यो एउटा ठूलो चुनौती पनि हो। किनभने नेपालमा कोरोना शून्यमा नै झरेपनि खुला सीमाका कारण यो धेरै दिन टिक्न सक्दैन। त्यसमाथि पनि अहिले भारतमा दिनदिनै कोरोना संक्रमितको बढिरहेकाले यसले नेपालमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्छ। यसका लागि मानिस आफैँले सतर्कता अपनाउन जरुरी छ।

तसर्थ मानिसलाई प्रभाव पर्ने गरी तत्कालै केही कार्यक्रमहरु गर्नुपर्ने देखिन्छ। सानोतिनो नभई कोरोना नियन्त्रणको महाअभियान नै चलायौँ भने मात्र अहिलेको अवस्थालाई नियन्त्रण गर्न सकिन्छ। केही दिन सजिलोका लागि निषेधाज्ञा जारी गरेर मात्र सधैँका लागि समस्या समाधान हुँदैन।
 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्