पेलेर अघि बढ्ने रणनीतिमा देउवा, रक्षात्मक पौडेल समूह
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टीभित्रको विवाद चुलिँदै ग
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टीभित्रको विवाद चुलिँदै गएको छ।
सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा विभाग गठन र मनोनयन धमाधम गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट बनेको छ। सभापति देउवाले विधान र निर्वाचन आचार संहिता विपरीत महाधिवेशनलाई प्रभावित गर्ने गरी विभाग गठन र मनोनयन गरेको भन्दै पौडेल पक्ष आक्रोशित बनेको हो।
तर, सभापति देउवा भने पौडेल समूहलाई पेलेर अघि बढ्ने रणनीतिमा छन्। १४ औं महाधिवशेनबाट दोस्रो पटक पार्टीको नेतृत्व सम्हाल्ने इच्छा देखाएका देउवाले संस्थापन इतर समूहलाई पेलेरै अघि बढ्ने रणनीति बनाएका हुन्।
पौडेल समूहले भने केही आक्रोश व्यक्त गरे पनि रक्षात्मक बनेको छ। विभाग गठन र मनोनयनको विरोध गर्दै इतर समूहले देउवाको पटक–पटक ध्यानाकर्षण गराएको छ। तर, देउवाले इतर समूहको विरोधलाई सुनेका छैनन्, बरु भटाभट विभाग गठन र मनोनयनको काम गरिरहेका छन्।
सभापति देउवाले पार्टीका ४७ विभागमध्ये करिब ३० विभागमा एकलौटी मनोनयन गरेका छन्। विरोधका बाबजुद धमाधम निर्णय गरिरहेका देउवाले आचरसंहिता मिचेर महाधिवेशन प्रभावित गर्न खोजेको इतर समूहको आरोप छ। पौडेल समूहले सभापति देउवाले एकलौटीरुपमा पार्टी चलाएको आरोप लगाइरहेका छन्।
हालै महामन्त्री शशांक कोइरालाले सार्वजनिकरुपमै भनेका छन्– पार्टीमा सामूहिक नेतृत्व प्रणाली हराएको छ। शेरबहादुरजीले एकलौटीरुपमा पार्टी चलाइरहनुभएको छ।उनले विभाग गठनका विषयमा सचेत गराउँदा समेत सभापति देउवा टसमस नभएको बताए। ‘सभापतिजीले एकलौटीरुपमा विभाग गठन गरेपछि हामीले उहाँलाई लिखित ध्यानाकर्षण गरायौं। तर उहाँ टसमस हुनुभएन,’ महामन्त्री कोइरालाले भने।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठन गरेर महाधिवेशन प्रभावित गर्न खोजिकएको भन्दै पौडेल समूहले निर्वाचन समितिमा उजुरी समेत दिइसकेको छ भने साउन १५ गते सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाइसकेका छ।
सभापति देउवालाई ध्यानाकर्षण बुझाए लगत्तै वरिष्ठ नेता पौडेल समूहले पत्रकार सम्मेलन गर्दै गलत कामविरुद्ध महाधिवेशनसम्म दबाब बढाउँदै लैजाने बताएको थियो। ध्यानकर्षण र विरोधका बाबजुद पनि सभापति देउवाले धमाधम निर्णय गरिरहँदा इतर समूह रक्षात्मक देखिन्छ।
साउन २२ गते देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताको छलफलमा समेत पौडेल समूहले यो विषयमा असहमति राखेको थियो। जवाफमा देउवाले भनेका थिए,‘मैले पहिले नै विभागमा मनोनयन गर्न रामचन्द्रजीसँग नाम मागेको हुँ। लामो समय कुरेँ दिनुभएन। त्यसैले अहिले विभागमा मनोनयन गरेको हुँ।’
पौडेल समूहको दबाब र चेतावनी बेवास्ता गरिरहेका देउवाले आइतबारमात्रै १२ विभागमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनोनित गरे। सोमबार समेत देउवाले पाँच विभागमा मनोनयन गरेका छन्।
विभाग गठन र मनोनयनलाई अटेरीपनको संज्ञा दिएको पौडेल समूहले यसलाई मुद्दा बनाएर महाधिवेशनसम्म लैजाने भएको छ। ‘सभापतिजीले हाम्रो सुझाव मान्नुभएन, अटेरीपन देखाउनुभयो। यसको परिणाम महाधिवेशनमा भोग्नुहुनेछ,’ पौडेलले भने।
संस्थापन पक्ष भन्छ- विभाग गठन र मनोनयन विधान अनुसार नै
एकलौटी गरेको भनेर पौडेल समूहले लगाएको आरोप संस्थापन पक्ष स्वीकार्न तयार छैन। बरु विभागमा मनोनयन गरेर जिम्मेवारी नपाएका नेता कार्यकर्तालाई अवसर दिइको संस्थापनको दावी छ।
‘एकलौटी गरिएको छैन। बरु विभाग गठनमा गुटउपगुट नहेरे समान अवसर दिइएको छ,’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने,‘एकलौटी गरेको भए त गुट मात्रै हरिन्थ्यो। तर, सभापतिजीले गर्नुभएको मनोनयनमा भेदभाव गरिएको छैन।’
उनले तल्लो तहमा रहेर पार्टीमा योगदान गरेका र योग्यता पुगेका नेता–कार्यकर्तालाई अवसर दिइएको दावी गरे।
‘रामचन्द्र दाइलाई पहिले नै विभागमा ४० प्रतिशत भाग दिएर माग गरेका थियौं। तर दिनुभएन। अहिले ग्रासरुट लेभलका इच्छुक, पार्टीमा योगदान गरेका नेता–कार्यकर्तालाई अवसर दिँदा एकलौटी गरेको भनेर भन्न मिल्दैन,’ उनले भने,‘कार्यकर्ताको विवेक हुन्छ। उनीहरु अवसर पाउँदा खुसी छन्। यसले पार्टीलाई घाटा गर्छ। र, कार्यकर्ता निराश छन् भन्न मिल्दैन।’