Kathmandu Press

नयाँ पुस्ताका चर्चित फुटबल प्रशिक्षक

काठमाडौं, साउन २६ :  युरोपियन फुटबलका महान प्रशिक्षकहरुको नाम लिँदा धेरैले सम्झिन्छन्– रि

नयाँ पुस्ताका चर्चित फुटबल प्रशिक्षक

काठमाडौं, साउन २६ :  युरोपियन फुटबलका महान प्रशिक्षकहरुको नाम लिँदा धेरैले सम्झिन्छन्– रिनेस मिकेल, सर एलेक्स फर्गुसन, एरिगो साची, भिन्सेन्ट डेल बोस्के

अहिले सक्रिय रहेका उत्कृष्ट  प्रशिक्षकको नाम लिने हो भने- पेप ग्वार्डिओला, जोसे माउरिन्हो, योर्गेन क्लोप, जिनेदिन जिदान आदि।   

तर, विगत एक वर्षको अवधिमा युरोपियन फुटबलमा नयाँ पुस्ताका केही प्रशिक्षक उदाएका छन्। जो आफ्नो समयमा चर्चित खेलाडी पनि थिए। तीमध्ये केहीले पहिलो सिजनमै उत्कृष्ट फुटबल खेलाएर उज्वल प्रशिक्षण करिअरको संकेत गरेका छन्। केहीको भने परीक्षण हुन बाँकी छ।  पहिलो सिजनमै राम्रो गरेका नयाँ पुस्ताका प्रशिक्षकहरु हुन्– मिकेल अर्टेटा, फ्राङ्क लामपार्ड, स्कट पार्कर। उनीहरुले आफूलाई कुशल प्रशिक्षकका रुपमा प्रमाणित गरिसकेका छन्। 

Hardik ivf

तर, भर्खरै प्रशिक्षकको करियर सुरुवात गरेका आन्द्रे पिर्लो, रोविन भान पर्सी लगायत भने नयाँ सिजनमा परीक्षण हुनेछन्। जसले प्रशिक्षकका रुपमा उनीहरुको भविष्य निर्धारण गर्नेछ। 

यी हुन्, चर्चामा रहेका नयाँ पुस्ताका प्रशिक्षक 

मिकेल अर्टेटा (आर्सनल, ३८ वर्ष)

अर्टेटा मध्य सिजनसम्म पेप ग्वार्डिओलाका सहायकका रुपमा म्यानचेष्टर सिटीमा थिए। उनको खासै चर्चा थिएन। तर, सिजन सकिँदा उनी चर्चामा छन्। सिटीमै रहँदा पनि उनको प्रशिक्षण कौशलताको चर्चा नभएको भने होइन। कतिपयले सिटीमा ग्वार्डिओलाको सफलता पछाडि उनै अर्टेटाको हात रहेको मान्छन्। 

प्रिमियर लिगमा लगातारको खराब प्रदर्शन गरेपछि आर्सनलले गत नोभेम्बरमा युनाई एम्रीलाई बर्खास्त गर्‍यो। एम्रीको बर्खास्तीपछि अर्टेटा  आर्सनल आउने चर्चाले फुटबल जगतमा हलचल मच्चायो। जुन स्वभाविक पनि थियो। किनकि २०१८ मा आर्सेन वेंगरको विदाइ पनि नै आर्सनलको प्रशिक्षकका रुपमा अर्टेटाको चर्चा चलिसकेको थियो। भलै त्यो बेला चर्चाले मूर्तरुप लिन पाएन। 

तर, एम्रीको बर्खास्तीपछि आर्सनलले आफ्ना पूर्वखेलाडीलाई डिसेम्बर २० मा मुख्य प्रशिक्षक नियुक्त गर्‍यो। खराब लयमा रहेको आर्सनललाई अर्टेटाले परिवर्तन गरिदिए। खेल्ने शैली नै परिवर्तन गरेर उनले सिजन सकिँदा बलियो टोलीका रुपमा स्थापित गरे। उनले एफए कपको उपाधि दिलाउँदै युरोपा लिगमा छनोट गराए। जसका कारण उनले फुटबल प्रेमीको ध्यान आफूतर्फ तान्न सफल भएका छन्।

धेरै युवा खेलाडीलाई मौका दिएका अर्टेटाको टिम आर्सनलले लिग विजेता लिभरपुल, पूर्वविजेता म्यानचेष्टर सिटी र अघिल्लो सिजन युरोपा लिगको फाइनलमा व्यहोरेको हारको बदला लिँदै एफए कपको फाइनलमा चेल्सीलाई हराउँदै उपाधि जित्यो। अर्टेटाको प्रशिक्षण करियरको यो नै पहिलो उपाधि हो।

अर्टेटाको नेतृत्वमा आर्सनलले ५७ प्रतिशत खेल जितेको छ। अर्टेटाले  प्रशिक्षण सम्हालेयता आर्सनलले २८ खेलमा १६ जित, ६ बराबरी र ६ हारको नतिजा निकालेको छ। सन् २०१५–१६ यता आर्सनलले च्याम्पियन्स लिग खेल्न सकेको छैन। अर्टेटाले आगामी सिजन आर्सनललाई च्याम्पियन्स लिगमा छनोट गराउन सके क्लब र उनी दुवैका लागि ठूलो उपलब्धि हुनेछ।

अर्टेटा उनै खेलाडी हुन्, जसले सन् २०१६ मा आर्सनलबाटै खेल जीवनबाट सन्यास लिएका थिए। उनले खेलाडीका रुपमा आर्सनलमा चार सिजन बिताउँदा दुई एफए कप र दुई कम्युनिटी शिल्ड जितेका छन्। ३८ वर्षीय  स्पेनिस प्रशिक्षकले पिएसजी, रेन्जर्स, रियल सोसिडाड र एभर्टनबाट समेत खेलेका थिए।

स्कट पार्कर (फुलह्याम, ३९ वर्ष)

एक साताअघिसम्म इंग्लिश प्रशिक्षक स्कट पार्करलाई सीमित मान्छेले मात्र चिन्थे। एक हिसाबले भन्ने हो भने उनी गुमनाम जस्तै थिए। तर, केबल एक साताको समय नै उनका लागि चर्चामा आउन पर्याप्त बन्यो। अहिले उनका लागि एक साताअघिको जस्तो अवस्था छैन, उनी विश्वभरका फुटबलप्रेमी माझ परिचित भइसकेका छन्। 

पार्करकै प्रशिक्षणमा फुलह्याम प्रिमियर लिगबाट घटुवा भएको एक सिजनपछि नै पुनः शीर्ष डिभिजनमा फर्किएको छ। चौथो स्थानमा रहँदै च्याम्पियनसिप सकाएको फुलह्यामले प्ले अफमार्फत प्रिमियर लिगको यात्रा तय गरेको हो। प्लेअफ फाइलनमा फुलह्यामले ब्रेन्टफर्डलाई हराएको थियो।

प्रशिक्षण करिअरको पहिलो सिजनमा नै पार्करले फुलह्यामलाई पुनः प्रिमयर लिगमा फर्काए, जुन फुलह्याम र पार्कर दुवैका लागि ठूलो उपलब्धि हो। उनले सिजनको सुरुवातबाट मात्रै प्रशिक्षण करिअर सुरु गरेका थिए।

फुलह्याम सन् २०१८-१९को सिजनमा प्रियियर लिगबाट रेलिगेसनमा परेपछि स्लाविसा जोनाभोविचले क्लब छाडेका थिए। उनकै स्थानमा फुलह्यामले आफ्ना पूर्वखेलाडी पार्करलाई प्रमुख प्रशिक्षक बनायो। सन् २०१७ मा फुटबल करिअर टुंग्याएपछि पार्करले टोटनह्यामको यु–१८ टिम हेरेका थिए। त्यहीबाट उनी फुलह्याम गएका हुन्।

पार्करको प्रशिक्षणमा फुलह्यामले ४७ प्रतिशत जित निकालेको छ। उनको प्रशिक्षणमा ६२ खेल खेल्दा फुलह्यामले २९ जित, १२ बरारबरी र २१ हारको नतिजा निकालेको छ। च्याम्पियन्ससिपमा उत्कृष्ट खेल पस्कँदै फुलह्यामलाई प्रिमियर लिगमा फर्काएका पार्करले शीर्ष डिभिजनमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिँदै क्लबलाई शीर्ष डिभिजनमा राख्न सके उनको प्रशिक्षण करिअरले थप उचाइ लिनेछ।

नयाँ सिजनमा प्रशिक्षकका रुपमा पार्करले प्रिमियर लिगमा डेब्यू गर्दैछन्। खेलाडीका रुपमा भने पार्करले फुलह्यामसहित ६ फरक क्लबबाट १६ सिजन प्रिमियर लिगमा बिताएका छन्। उनले चार्लटन एथ्लेटिक, चेल्सी, न्यूक्यासल युनाइटेड, वेष्ट ह्याम, टोटनह्याम र फुलह्यामबाट प्रिमियर लिग खेलेका छन्।

फ्राङ्क लामपार्ड (चेल्सी, ४२ वर्ष)

इंग्लिश क्लब चेल्सीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा आफ्नै लिजेन्ड खेलाडी फ्राङ्क लामपार्ड छन्। ४२ वर्षीय लामपार्ड सिजनको सुरुवातमा माउरिजो सारीलाई विस्थापन गर्दै चेल्सीको प्रशिक्षक बनेका थिए। 

लामपार्डले पहिलो सिजन नै आफ्नो प्रभाव जमाए। खेलाडी किन्न प्रतिबन्ध लागेपछि कमजोर बनेको चेल्सीलाई उनले पुनः बलियो बनाए। र, चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेर च्याम्पियन्स लिगमा छनोट गराए। मेसन माउन्ट, हड्सन ओडोइ, टेमी एब्राहम, रिस जेम्सलगायतका युवा खेलाडीलाई मौका दिएका लामपार्डले चेल्सीलाई एफए कपको फाइनलसम्म पुर्‍याए।

सिजनभर चेल्सीले फ्रन्टलाइन र मिडफिल्ड उत्कृष्ट प्रदर्शन ग¥यो। तर डिफेन्स र गोलपोस्टमा भने चेल्सीले समस्या भोग्यो। सोही कारण चेल्सीले प्रिमियर लिगमा ६९ गोल गर्दा ५४ गोल खाएको थियो।सन् २०१६ मा मेजर लिग सकर क्लब न्यूयोर्क सिटीबाट फुटबल करिअरको अन्त्य गरेका लामपार्डले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट प्रशिक्षण करिअर सुरु गरेका थिए। लामपार्डको प्रशिक्षणमा डर्बी काउन्टी प्रिमियर लिग छनोटको प्लेअफको फाइनलसम्म पुगेको थियो।

तर, फाइलनमा एष्टन भिल्लासँग पराजित भएपछि डर्बी काउन्टी प्रिमियर लिगमा बढुवा हुन सकेन। एक सिजन काउन्टीमा बिताएपछि लामपार्ड चेल्सी आएका हुन्। लामपार्डले प्रशिक्षण करिअरमा ४७ प्रतिशत जित निकालेको छ। दुई वर्षको प्रशिक्षण करिअरमा लाम्पार्टले ११२ खेल खेल्दा ५३ जित, २६ बराबरी र ३३ हारको सामना गरेको छ। जसमा डर्बी काउन्टीबाट ५७ खेलमा २४ जित, १७ बराबरी र १६ हारको सामाना गरेका छन्।

लामपार्डको प्रशिक्षणमा चेल्सीले ५३ प्रतिशत जित निकालेको छ। यो सिजन चेल्सीले सबैखाले प्रतियोगितामा गरी कुल ५५ खेल खेल्दा २९ जित, ९ बराबरी र १७ हार व्यहोरेको छ। लामपार्डले चेल्सीबाट खेलाडीका रुपमा १३ सिजन बताएका थिए। चेल्सीबाट उनले ३ प्रिमियर लिग र १ च्याम्पियन्स लिगसहित १३ उपाधि जितेका छन्।

जुलियन नगेल्सम्यान (आरबी लेइपजिग, ३३ वर्ष)

१९ वर्षकै उमेरमा कुर्कुचामा गम्भीर चोट बोकेपछि नगेल्सम्यानको फुटबल करियरको सुरुवातमै अन्त्य भयो। र, उनी युवा अवस्थामै प्रशिक्षक बने। चोट बोके लगत्तै नगेल्सम्यानले जर्मन क्लब असबर्गमा सन् २००७ थोमस टुचेलको सहायकका रुपमा प्रशिक्षण करिअर सुरु गरेका थिए। 

३३ वर्षीय नगेल्सम्यान अहिले आरबी लेइपजिगको मुख्य प्रशिक्षक हुन्। उनी सिजनको सुरुवातमा होफेनहाइमबाट लेइपजिग आएका हुन्। उनको प्रशिक्षणमा लेइपजिगले बुन्डेस लिगा र च्याम्पियन्स लिगमा दुवैमा उत्कृष्ट प्रदर्शन गरेको छ। लेइपजिगले लिग तेस्रो स्थानमा सकाउँदै लगातार दोस्रो पटक च्याम्पियन्स लिगमा छनोट भएको छ। उसले लिगमा ३४ खेलमा १८ जित, १२ बराबरी र ४ हारको सामाना गरेको थियो। 

यस्तै,च्याम्यियन्स लिगमा लेइपजिग क्वाटरफाइनलमा पुगेको छ। च्याम्पियन्स लिगको पहिलो सहभागितामै लेइपजिग क्वाटरफाइलन पुगेको हो। समूह चरणमा शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको लेइपजिगले अन्तिम १६ मा इंग्लिस क्लब टोटनह्यामलाई पाखा लगाएको थियो। अब उसले लिस्वनमा हुने क्वाटरफाइनलमा एथ्लेटिको मड्रिडको सामना गर्नेछ। 

नगेल्सम्यानले प्रशिक्षण करिअरको सुरुवात अर्को बुन्डेस लिगा क्लब होफेनहाइमबाट गरे। सन् २०१६ मा होफेनहाइमको मुख्य प्रशिक्षक बन्दा नेगल्सम्यान केवल २८ वर्षका मात्र थिए। उनी बुन्डेस लिगाका कान्छा प्रशिक्षक हुन्। नगेल्सम्यानको प्रशिक्षणमा होफेनहाइमले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। उनको प्रशिक्षणमा होफेनहाइमले सन् २०१८-१९ मा च्याम्पियन्स लिग खेलेको थियो। 

नेगल्सम्यानले प्रशिक्षण करिअरमा ४४ प्रतिशत खेल जितेका छन्। उनले कुल १८१ खेलमा ८० जित, ५७ बराबरी र ४४ खेलमा पराजय भोगेका छन्। होफेनहाइममा उनले १३६ खेलमा ५५ जित, ४३ बराबरी र ३८ हारको सामना गरेका छन्। लेइपजिगमा उनको जित प्रतिशत ५६ छ। उनको प्रशिक्षणमा लेइपजिगले ४५ खेल खेल्दा २५ जित हात पारेको छ। उसले १४ बराबरी र ६ हारको सामना गरेको छ।

आन्द्रे पिर्लो (युभेन्ट्स, ४१ वर्ष)

इटाली तथा युभेन्ट्सका लिजेन्ड मिडफिल्डर आन्द्रे पिर्लो शनिबारमात्रै सिनियर टिमको मुख्य प्रशिक्षक बनेका हुन्। च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको २४ घण्टा नबित्दै युभेन्ट्सले माउरिजो सारीलाई बर्खास्त गर्दै पिर्लोलाई प्रशिक्षक नियुक्त गरेको हो। 

पिर्लोले अहिलेसम्म प्रशिक्षकका रुपमा औपचारिक खेल खेलाएका छैनन्। यु–२१ टिमको प्रशिक्षक बनाएको १० दिनमै युभेन्ट्सले उनलाई मुख्य टोलीको जिम्मेवारी दिएको हो। पिर्लो खेलाडीका रुपमा युभेन्ट्समा निकै सफल थिए। उनले त्यही सफलता प्रशिक्षकका रुपमा पनि पाउँछन् वा पाउँदैनन्, त्यो भने हेर्न बाँकी नै छ। प्रशिक्षकका रुपमा उनको नेतृत्वमा युभेन्ट्सले गर्ने प्रदर्शनले नै प्रशिक्षकको भविष्य निर्धारण गर्नेछ।

४१ वर्षीय पिर्लाेले सन् २०१७ मा फुटबल करिअरको अन्त्य मेजर लिग सकर क्लब न्यूयोर्क सिटीबाट गरेका थिए। सन् २०१५ मा युभेन्ट्सबाट  उनी न्यूयोर्क सिटी गएका थिए। युभेन्ट्सका लागि उनले १६४ खेल खेल्दै १९ गोल गरेका छन्। उनले युभेन्ट्सबाट चार सिरी ए, एक कोपा इटालिया र एक सुपर कोपा डे स्पाना उपाधि जितेका छन्।

सन् २००६ को विश्वकप विजेता इटालीको टिमका मुख्य सदस्य पिर्लोले युभेन्ट्सका अलावा एसी मिलान, इन्टर मिलान, ब्रेसियाबाट पनि खेलेका छन्। उनले एसी मिलानबाट दुई च्याम्पियन्स लिग, दुई सिरी ए, युइएफए सुपर कप, क्लब विश्वकप लगायत उपाधि जितेका छन्।  

रोविन भान पर्सी (फाइनुर्ड, ३७ वर्ष)

नेदरल्यान्ड्सका लिजेन्ड फुटबलर रोविन भान पर्सीले पनि प्रशिक्षण करिअर सुरु गरेका छन्। ३७ वर्षीय भान पर्सी शनिबारमात्र आफ्नो बाल्यकालको क्लब फाइनुर्डको प्रशिक्षकमा नियुक्त भएका हुन्। 

सन् २०१९ मा मात्र भान पर्सीले फाइनुर्डबाटै फुटबल करिअरको अन्त्य गरेका थिए। भान पर्सीले आर्सनल, म्यानचेष्टर युनाइटेड, फेनरावेचबाट समेत फुलबल खेलेका छन्। उनले आर्सनलबाट ८ सिजन र युनाइटेडबाट तीन सिजन खेलेका छन्। उनले सन् २०१२÷१३ मा युनाइटेडबाट प्रिमियर लिगको उपाधि जितेका थिए।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: ०९:०० बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्