Kathmandu Press

कोरोना उपचारमा अत्यावश्यक औषधि सरकारसँग शून्य, बल्ल अनुमति दिने तयारी

काठमाडौं, साउन २३ : सरकारले कोरोना भाइरसका कारण ‘क्रिटिकल केयर’मा पुगेका व्यक्तिलाई अनिव

कोरोना उपचारमा अत्यावश्यक औषधि सरकारसँग शून्य, बल्ल अनुमति दिने तयारी

काठमाडौं, साउन २३ : सरकारले कोरोना भाइरसका कारण ‘क्रिटिकल केयर’मा पुगेका व्यक्तिलाई अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने ‘रेमडेसिभीर’ नामक इन्टिभाइरल औषधि अझै खरिद गरेको छैन।

स्वास्थ्य सामग्री खरिदमा अर्ब बढी रकम खर्च गर्दा पनि कोरोनाले च्यापेका बिरामीलाई प्रयोग गनुपर्ने रेमडेसिभीर भ्याक्सिन अझै खरिद नगरेको भेटिएको हो। यो भ्याक्सिन अहिलेसम्म नेपालमा एउटा पनि छैन।

एक हप्ताअघि विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई कारोना भाइरस पोजेटिभ देखियो। उनलाई भारसका कारण श्वास फेर्न गाह्रो भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले रेमडेसिभीर भ्याक्सिन आवश्यक पर्ने निष्कर्ष निकाले। 

Hardik ivf

तर, नेपालमा कतै पनि त्यो भ्याक्सिन उपलब्ध थिएन। त्यसपछि डा. कार्कीले श्री एयरको विमान चार्टर्ड गरेर उक्त भ्याक्सिन भारतबाट मगाए। भ्याक्सिन लगाएको केही दिनमै उनी निको भए। 

भारत, अमेरिका, सिंगापुर, बेलायत, जापान, युरोपियन युनियनमा आवद्ध राष्ट्र र अष्ट्रेलिया लगायतका देशमा कोरोना संक्रमितको उपचारका लागि रेमडेसिभीरको प्रयोग हुँदै आएको छ। नेपालमा भने संक्रमितको संख्या २२ हजार कटेपनि उक्त औषधि खरिद भएको छैन।

चौतर्फी दबाब परेपछि औषधि व्यवस्था विभागले शुक्रबारमात्रै रेमडेसिभीर प्रयोगका लागि अनुमति दिने निर्णय गरेको छ। ‘हामीले संक्रमितको उपचारका लागि आज (शुक्रबार) नै रेमडेसिभीरको प्रयोगका लागि अनुमति दिँदैछौँ,’ विभागका प्रवक्ता सन्तोष केसीले काठमाडौंप्रेससँग भने, ‘अहिलेसम्म यो औषधि उपलब्ध छैन। लक्षणसहितका संक्रमित थपिन थालेपछि औषधि प्रयोगको अनुमति दिने निर्णय भएको हो।’

उनले गम्भीर लक्षण भएका बिरामीको उपचारमा रेमडेसिभीर प्रभावकारी हुने देखिएकाले प्रयोगको अनुमति दिन लागिएको पनि बताए।  पछिल्लो समय नेपालमा लक्षणसहितका संक्रमित थपिइरहेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार अहिले ६६ जना संक्रमित आईसीयूमा छन् भने तीन जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई महिनाअघि नै मागिएको थियो अनुमति 

रेमडेसिभीर एन्टिभाइरल ड्रग उत्पादन गर्ने अमेरिकी कम्पनी ग्लिड साइनसले दुई महिनाअघि नै प्रयोगका लागि अनुमति मागेको थियो।  शुक्रराज ट्रिपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले समेत कम्पनीका प्रतिनिधिसँग भेट गरेका थिए। 

‘करिब दुई महिनाअघि नै कम्पनीका प्रतिनिधि आएका थिए। नेपालमा प्रयोग गर्नेबारे छलफल भएको थियो,’ डा. पुनले काठमाडौंप्रेससँग भने, ‘मैले चाहिँ यो औषधि प्रयोग गर्ने विषयमा प्रोटोकलमा समावेश नभएकाले औषधि व्यवस्था विभागबाट अनुमति लिन भनेको थिए।’

नेपालका केही संक्रमितहरु आफैँले भारतबाट मगाएर रेमडेसिभीरको प्रयोग गरेका छन्। ‘पैसा हुनेले ल्याएर प्रयोग गरेका होलान्। तर, आमरुपमा यसको प्रयोग भएको छैन। प्रोटोकलमा नभएर प्रयोग नभएको होला,’ डा. पुनले भने, ‘तर, यसको प्रयोग गर्दा राम्रो नै हुन्छ।’

उनले रेमडेसिभीरले भाइरस मार्ने नभएर त्यसको पराक्रमलाई कम गर्ने बताए। ‘यसले भाइरस मार्दैन। तर, भाइरसको पराक्रमलाई कम गर्छ। संक्रमितको अस्पताल बसाइ कम गर्छ। यसले चमत्कार नै  गर्दैन,’ उनले भने, ‘कम्प्लिकेसन कम हुँदा र अस्पताल कम बस्नु पर्दा मानिसको मृत्यु हुने सम्भावना कम हुन्छ।’

के हो रेमडेसेभिया? 

रेमडेसिभीर प्रतिविषाणुजन्य अर्थात एन्टिभाइरल औषधि हो। कोरोना भाइरसका बिरामीलाई सुईको माध्यमबाट यो औषधि दिइन्छ। यसले बिरामीको श्वासप्रश्वास सहज गराउन मद्दत गर्ने चिकित्सकको भनाइ छ।

सन् २००३ मा मध्यपूर्वी राष्ट्रमा फैलिएको सार्सको उपचारमा समेत यसको प्रयोग भएको थियो। यस्तै, अफ्रिकी मुलुकमा देखा परेको इबोला भाइरसको उपचारमा समेत यसको प्रयोग भएको थियो।

गत फेब्रुअरीमा विभिन्न देशमा १ हजार ६३ जना कोरोना संक्रमितमा यो औषधिको परीक्षण गरिएको थियो। रेमडेसिभीर प्रयोग गरेका ३१ प्रतिशत कोरोना संक्रमित ११ दिनमा निको भएको अध्ययनले देखाएको छ।

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, साउन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्