Kathmandu Press

सुनको मूल्यमा नयाँ कीर्तिमान, छैनन् किन्ने ग्राहक

काठमाडौं, साउन २१ :  सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै गइरहेका बेला नेपाली बजारमा भने विक्री

सुनको मूल्यमा नयाँ कीर्तिमान, छैनन् किन्ने ग्राहक
फाइल

काठमाडौं, साउन २१ :  सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै गइरहेका बेला नेपाली बजारमा भने विक्री प्रायः ठप्प छ।

चाड पर्व नजिकिँदा बजारमा सुनको माग ह्वात्तै बढ्ने गर्दथ्यो। तर, यो वर्ष भने सुनको विक्री ठप्प नै छ। बुधबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ पुगेको छ।  तिज नजिकिँदै गएपनि सुन  विक्री हुन छोडेपछि व्यवसायी चिन्तित बनेका छन्।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला कटेपछि कारोबार भने शून्य बराबर छ। ‘हरेक दिन भाउ बढेको छ। तर, विक्री भने ठप्प छ,’ शाक्यले काठमाडौंप्रेससँग भने,‘अहिले सुन किन्ने भन्दा पनि भाउ बढेका बेला आफूसँग भए गहना पनि बेच्ने मान्छे बढेका छन्।’

Hardik ivf

शाक्यका अनुसार सामान्य अवस्थामा तिजका बेला सुनको कारोबार बढ्ने गरेको थियो। तर, यो वर्ष कारोबार ठप्प छ। तीज अघि हरेक वर्ष नेपालमा प्रत्येक दिन सरदर ३० देखि ३५ किलो सुन किनबेच हुने गरेको थियो। 

‘अहिले सुनको कारोबार नै छैन,’ उनले भने, ‘कसैले सुन किन्ने सोच बनाएको छ भने पनि अहिले महँगो भएको छ। घटेपछि किनौंला भन्ने सोचको विकास भएको छ।’ 

पछिल्लो केही महिना यता सुनको भाउले प्रत्येक दिन जसो नयाँ कीर्तिमान बनाइरहेको छ।  बुधबार नेपालमा सुनको भाउ प्रतितोला एक लाख एकहजार चार सय रुपैयाँ पुगेको छ। अर्थात यो मूल्य अहिलेसम्मकै उच्च हो। मंगलबार सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। 

लकडाउनको अघिल्लो दिन (चैत १०) मा नेपालमा सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो। तर, त्यसपछिको चार महिनामा सुनको मूल्य प्रतितोला २२ हजार रुपैयाँले वृद्धि भएको छ। 

किन बढ्यो मूल्य ? 

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेपछि त्यसको असर नेपालमा पर्छ। अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रतिऔंस २ हजार अमेरिकी डलर नाघेको छ। एक साता अघिमात्र सुनले अन्तर्राष्ट्रिय बजारमा सन् २०११ को उच्च मूल्यको रेकर्ड ब्रेक गरेको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३५ अमेरिकी डलरसम्म पुगेको छ। अर्थशास्त्री विश्वास गौचनका अनुसार विश्वभरका लगानीकर्ताले सुनमा लगानी गरिरहेका कारण मूल्य बढेको हो।

‘कोभिडका कारण मानिसहरुले रियल इन्भेष्टमेन्ट गर्न पाएका छैनन्। बजारमा तरलता उच्च हुँदा लगानीकर्ताले डलर सुनमा लगानी गरिरहेका छन्,’ गौचनले भने,‘सुन र डलरमा गरिएको लगानी सबैभन्दा सुरक्षित मानिन्छ। त्यसलै सुनमा लगानी गरेका छन्। त्यसको असर नेपालमा देखिएको हो।’

सुनमा लगानी गर्ने बढिरहँदा उत्पादन भने न्यून रहेकाले समेत मूल्य  बढ्न पुगेको हो। यस्तै, अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको उतारचढावले समेत सुनको मूल्यमा असर गरेको शाक्यले बताए।  ‘चीन र अमेरिकाको व्यापार युद्ध समेत यसको कारण हो। विश्वका दुई शक्ति राष्ट्रबीचको टकराबको असर सुनको मूल्यमा परेको छ,’शाक्यले भने,‘यस्तै अमेरिका र इरानबीचको टकराबसँगै हङकङलाई लिएर चीन र अष्टे«लियाबीचको विवादको असर समेत सुनको मूल्यमा देखिएको छ।’ 

सरकारले चालू आर्थिक वर्षमा सुनको भन्सार मूल्य १५ प्रतिशतले बढाएकाले यसले सुनको मूल्यमा असर गरेको हो। शाक्यका अनुसार अहिले सुन आयात गर्दा प्रतिकिलो २३ हजार भन्सार तिर्नु पर्छ।

नेपालमा सुनको कारोबार अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित रहेकाले यहाँ पनि मूल्य बढेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा यहाँ पनि बढ्ने नै भयो। सँगै अमेरिकी राष्ट्रपतिको चुनाव नहुञ्जेल जारी रहने चीन–अमेरिकाबीचको व्यापार युद्धका कारण पनि भाउ बढेको हो,’उनले भने,‘कोरोना, व्यापार युद्ध आदिका कारण लगानी योग्य क्षेत्र कम भएका छन्। सोही कारण अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्ने बढेका छन्। 

अझै बढ्न सक्छ मूल्य

कोरोना कहरका कारण बैंकले ब्याजदर घटाएका कारण पनि सुनमा लगानी गर्ने बढेका छन्। वल्र्ड गोल्ड काउन्सिलले विश्वभरका केन्द्रीय बैंकले ब्याजदरमा कटौती गरेकाले लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भएका छन्। 

यस्तै, स्टक मार्केटले पनि लगानीकर्तालाई आकर्षित गर्न नसक्दा सुनमा आकर्षण बढेको काउन्सिलको निष्कर्ष छ। काउन्सिलले सुनको मूल्य बढ्ने क्रम अझै जारी रहने प्रक्षेपण गरेको छ। 

कोरोनाको त्रास विश्वमा कायमै रहेकाले लगानी तथा आर्थिक गतिविधि  सामान्य हुने अवस्था नभएकाले विश्वव्यापी लगानीको सुरक्षित माध्यम सुन भएको काउन्सिलको निष्कर्ष छ।
 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, साउन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्