Kathmandu Press

काेराेनाले यस वर्ष 'डिजिटाइज' गाईजात्रा

काठमाडौं, साउन १८ : ‘नमस्कार! नमस्कार! नमस्कार! कोभिड–१९ को त्रास र पिडाबीच आशा र हौसलाक

काेराेनाले यस वर्ष 'डिजिटाइज' गाईजात्रा

काठमाडौं, साउन १८ : ‘नमस्कार! नमस्कार! नमस्कार! कोभिड–१९ को त्रास र पिडाबीच आशा र हौसलाको कोशेली आइएमई २०७७ सालको गाईजात्रा हेर्न तयार भएर बस्नुभएका विश्वव्यापी नेपाली भाषी दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु,’ हाँस्यकलाकार मनोज गजुरेलले ओपनिङ गरे।

अघिल्ला वर्षहरुका गाईजात्रामा नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरमा भिन्न–भिन्न पात्रको क्यारिकेचर गर्दै गरेका भेटिने गजुरेल यो वर्ष एपिवान एचडीको पर्दामा देखिए। बिहीबार राति ८ बजे उनी टेलिभिजनको पर्दामा सप्ताहव्यापी गाईजात्रा कार्यक्रमको ओपनिङ गर्दै थिए।  

गाईजात्राको अवसर पारेर कुनै वेला काठमाडौंमा तीन भिन्न प्रेक्षालयमा झन्डै दुई सातासम्म हास्य व्यंग्यात्मक कार्यक्रम सञ्चालन हुने गरेका थिए। तर, अहिले अवस्था फरक छ। प्रेक्षालयमा हुने गाईजात्राका कार्यक्रम टेलिभिजनका पर्दामा सरेका छन्।

Hardik ivf

कोरोना भाइरसको जोखिमका कारण दर्शक उपस्थित गराएर कार्यक्रम गर्न कठिन छ। हलभरी भरिभराउ दर्शक, निम्तालु नेता तथा विशिष्ट व्यक्तिहरुलाई एउटै मञ्चमा उपस्थित गराउन सक्ने अवस्था रहेन। जसका कारण हास्यकलाकारहरुले गाईजात्रा लक्षित कार्यक्रम टेलिभिजन र युट्युब च्यानलमार्फत प्रस्तुत गरिरहेका छन्।

कतिपयले गाईजात्रालाई ‘हास्यकलाकारको दशैं’का रुपमा चित्रण गर्छन्। गाईजात्राले झन्डै एक साता समाजका विकृति–विसंगतिविरुद्ध खुलेर व्यंग्य गर्ने अवसर प्रदान गर्छ। त्यही अवसरलाई नेपालका हास्य कलाकारहरूले खुलेर सदुपयोग गर्ने परम्परा छ।

लक्ष्मण गाम्नागे।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएयताका हरेक गाईजात्रामा हास्य कलाकारहरूले विभिन्न रंगमञ्चमार्फत सामाजिकदेखि राजनीतिक विषयवस्तुहरूमाथि व्यंग्य कस्दै आएका छन्। गाईजात्रे कार्यक्रममा हास्य कलाकारहरूले हास्य व्यंग्यका विविध खुराक प्रस्तुत गर्छन्। प्यारोडी गीत, नृत्य, प्रहसन, व्यंग्य कविता आदिका माध्यमबाट राजनीतिक तथा सामाजिक क्षेत्रका विकृति आँैल्याउने अवसर पनि गाईजात्राले नै जुटाइदिन्छ।

गाईजात्रे महोत्सवमा प्रस्तुत गरिने अधिकांश प्रहसन तथा क्यारिकेचर राजनीतिप्रति लक्षित हुनेगर्छन्। यो वर्ष प्रेक्षालयमा कार्यक्रम प्रस्तुत गर्न नपाएका हास्यकलाकारहरुले एपीवान एचडीको पर्दामा व्यंग्य गरिरहेका छन्।  गजुरेलसहितका दर्जनभन्दा बढी हास्यकलाकारले ‘२०७७ सालको गाईजात्रा’ कार्यक्रममा प्रस्तुति राख्नेछन्। ब्रान्डवर्थको आयोजनामा सुरु भएको कार्यक्रम साउन २१ गतेसम्म प्रसारण हुनेछ।

गाईजात्रामा दर्शकका अघि प्रत्यक्ष कार्यक्रम गरिरहेका कलाकारहरुलाई टेलिजिभनमार्फत कार्यक्रम गर्दा कस्तो अनुभव भएको छ त?

मनाेज गजुरेल।

सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे भन्छन्, ‘हजार, बाह्र सय दर्शकबीच कार्यक्रम गर्दा तुरुन्तै प्रतिक्रिया पाइन्थ्यो। त्यसले छुट्टै सन्तुष्टि दिन्थ्यो। यो वर्ष टेलिभिजनमार्फत व्यंग्य गर्दा फरक अनुभूति भइरहेको छ।’

टेलिभिजनमार्फत गाईजात्रा कार्यक्रम देखाउँदा टिकट बेच्ने हतारो, दर्शक भेला गर्ने चुनौति, हल बुकिङको व्यस्ततालाई घटाइदिएको गाम्नागेको भनाइ छ।

हास्यकलाकार मनोज गजुरेल दर्शकमाझ गरिने महोत्सव र टेलिभिजनमार्फत गरिने कार्यक्रम प्रविधिगतरुपमा नै फरक हुने बताउँछन्। कोरोनाको त्रासमा दर्शकको हौसला बढाउन नयाँ चुनौति मोलेर नयाँ प्रयोग गर्दै गाईजात्रा कार्यक्रम टेलिभजिनमा ल्याएको उनको भनाइ छ।

‘गत वर्ष केही कलाकारका साथमा सातै प्रदेशमा गाईजात्रा कार्यक्रम गरेका थियौं। अहिले दर्शकको उपस्थितिबिनै प्रविधि, शैली, मञ्चका फरक अनुभव हुँदै छ,’ गजुरेल भन्छन्, ‘अब दर्शकको प्रतिक्रियामा हाम्रो अनुभव भर पर्छ।’

सुमन कार्की।

कमेडियन च्याम्पियनका प्रतिस्पर्धी कलाकार सुमन कार्कीले गत वर्ष सात वटै प्रदेशमा भएका गाईजात्रा कार्यक्रममा प्रस्तुति दिएका थिए। तर, यो वर्ष भने उनी पनि आईएमई २०७७ को गाईजात्रामा देखिनेछन्।

‘दर्शकको अघि प्रस्तुति दिँदाको तुलनामा दर्शकबिना नै प्रस्तुति दिनुपर्दा खल्लो लाग्दो रहेछ। अहिले पनि अगाडि दर्शक हुनुहुन्छ, भन्ने सम्झेर प्रस्तुति दिन्छु, तर दर्शक अगाडि भएजस्तो किन हुन्थ्यो र?,’ उनी भन्छन्।।

अहिलेको गाईजात्रा कार्यक्रममा अग्रज कलाकारहरुसँग काम गर्न पाउँदा घरभित्र बसेर काम गरेको महसुस भएको उनको भनाइ छ।

प्रकाशित मिति: ११:०१ बजे, आइतबार, साउन १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्