Kathmandu Press

१५ लाख मत बढाउने गरी पार्टी प्रवेश गराउँदै कांग्रेस

काठमाडौं, साउन १५ :  पछिल्लो संसद र प्रदेशको निर्वाचनमा पराजय भोगेको प्रमुख प्रतिपक्षी दल नेपाल

१५ लाख मत बढाउने गरी पार्टी प्रवेश गराउँदै कांग्रेस

काठमाडौं, साउन १५ :  पछिल्लो संसद र प्रदेशको निर्वाचनमा पराजय भोगेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आगामी चुनावी रणनीति तय गर्दै साना लोकतान्त्रिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने अभियानमा जुटेको छ।

आगामी, संसद, प्रदेश र स्थानीय निकायको चुनावमा सशक्त रुपमा अघि बढ्न कांग्रेसले मंगलबार राप्रपा परित्याग गरेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापका छोरा सुनिल सहित तीन दर्जनभन्दा बढी केन्द्रीय नेतालाई पार्टी प्रवेश गराएको छ। तीन वर्षअघिको निर्वाचनमा दुई प्रमुख कम्युनिष्ट दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएर निर्वाचन लड्दा कांग्रेस र संघीय संसद र प्रदेशसभामा नराम्रो पराजय भोगेको थियो ।

कांग्रेसले लोकतान्त्रिक विचार मान्ने पार्टी र तीनका नेताहरुलाई अधिकतम पार्टीमा स्थान दिएर भित्राउने आन्तरिक रणनीति तय गरेको छ। त्यसका साथै लोकतन्त्रलाई वलियो बनाउन सबै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने ठहर पनि कांग्रेसको छ।

Hardik ivf

‘मुलुकको राजनीति विस्तारै टु पार्टी सिस्टमतर्फ उन्मुख छ। त्यसैले हाम्रो प्राथमिकता अन्य दलका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नु हो,’ कांग्रेसका संगठन विभाग प्रमुख समेत रहेका नेता गोपालमान श्रेष्ठले काठमाडौं प्रेससँग भने, ‘नेता-कार्यकर्ता मात्रै होइन, साना पार्टीहरुलाई कांग्रेसमा गाभ्ने नीति  लिएका छौं।’

केही दिनअघि सभापति शेरबहादुर देउवाले काभ्रेका नेकपा परित्याग गरी आएका दुई दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले झण्डै सय जनाको हिमाल आरोहीको टोलीलाई हालसालै पार्टी प्रवेश गराएका थिए।

त्यस्तै महामन्त्री डा. शशांक कोइरालाले गत मंगलबार नै संखुवासभाका १० जना नेकपा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए। राजनीतिक दल सम्बन्धी कानूनमा भएको भोटको थ्रेस होल्डको व्यवस्थाले पनि साना राजनीतिक दललाई राष्ट्रिय दलको मान्यता पाउन कठिन हुने हुँदा ठूलो दलमा समायोजन हुनुपर्ने बाध्यात्मक अवस्था छ।  

राजनीतिक दल सम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक तर्फ तीन प्रतिशत मत ल्याउनुपर्ने र एक प्रत्यक्ष सिट जित्नुपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार साना पार्टीलाई थ्रेस होल्ड कटाउन गाह्रो हुने भएकाले पनि साना दलका नेताहरु नै ठूलो दलको सहारामा जान थालेका हुन्।

‘विचार मिल्ने सबै पार्टीसँग एकताको प्रयास गर्ने छौँ’, श्रेष्ठले भने।  खासगरी तत्कालीन एमाले र माओवादीबीच एकीकरण पछि बनेको नेकपाको दुई तिहाइको सरकारबाट लोकतन्त्र खतरामा रहेको भन्दै कांग्रेसले बृहत लोकतान्त्रिक मोर्चा आवश्यक रहेको बताउँदै आएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकार निरन्तर आलोचित बनिरहेको अवस्थामा आगामी निर्वाचनमा पहिलो शक्ति बन्न कांग्रेसले अन्य पार्टीसँगको एकता र अन्य दलका नेता कार्यकर्तालाई भित्र्याउने रणनीति अख्तियार गरेको हो।

सुनिल थापासहितका नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै सभापति शेरवहादुर देउवाले प्रजातन्त्रको नाममा मुलभूत अधिकार संकटमा आउने अवस्था आएकाले प्रजातान्त्रिक शक्ति एक हुन जरुरी रहेको भन्दै पार्टीको आयतन बढाउने रणनीतिमा कांग्रेस रहेको स्पष्ट गरेका छन्।

देउवाले भनेका थिए, ‘भोलि आउने चुनौतीको सामना गर्न पनि एकता आवश्यक छ।’ आफ्नै नेतृत्वमा भएको निर्वाचनमा दुई कम्युनिष्ट पार्टी एक भएका कारण पार्टीले लज्जास्पद पराजय भोगेपछि देउवा आलोचित बनेका थिए। उपसभापति विमलेन्द्र निधिका अनुसार अहिले विभिन्न दलका नेता-कार्यकर्ता कांग्रेस प्रवेश गर्ने तयारीमा छन्।

‘सुनिलजीहरुसँग लामो समयदेखि वार्ता भइरहेको थियो। उहाँहरु भर्खर आउनुभएको छ। उहाँहरुको आगमनले पार्टी थप बलियो बनेको छ’, निधिले भने, ‘अन्य दलका थुप्रै नेता कार्यकर्ता पनि हाम्रो पार्टीमा प्रवेश गर्ने तयारीमा छन्।’

राप्रपा नेता थापालाई पार्टी प्रवेश गराउन वार्ता गर्ने जिम्मेवारी निधिले नै पाएका थिए। कांग्रेसले आगामी चुनावसम्म पछिल्लो चुनावमा पाएको मत ३१ लाख २८ हजार ३ सयबाट १५ लाख मत बढाउने गरी विभिन्न दलका नेताहरुलाई पार्टी प्रवेश गराउने रणनीतिमा छ।

पछिल्लो चुनावमा तत्कालीन नेकपा एमालेले ३१ लाख ८३ हजार ४ सय ९४, नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय १५, तत्कालीन मोआवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, साउन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्