बहुमतले तर्साउन खोज्दै प्रचण्ड-माधव समूह, गलाउँदै ओली
काठमाडाैं, साउन १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार ब
काठमाडाैं, साउन १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको थियो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामाको माग जोडदार रुपमा उठाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको तयारी थियो।
तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महासचिव विष्णु पौडेललाई पत्र लेख्न लगाउँदै स्थायी कमिटी बैठक एकलौटी रुपमा स्थगित गरिदिए। सोमबार खुमलटारमा बसेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकले प्रधानमन्त्री ओली अनुपस्थित भए प्रचण्डकै अध्यक्षतामा बैठक राखेर निर्णयमा पुग्ने निष्कर्षमा निकालेको थियो। तर, मंगलबारको बैठकमा त्यो परिस्थिति निर्माण भएन।
मंगलबार प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि बहुमतबाट भएपनि निर्णयमा पुग्ने अघिल्लो दिनको निष्कर्षबाट प्रचण्ड पछि हटे। प्रधानमन्त्रीसँगको छलफलपछि स्थायी कमिटी सदस्यहरुसँगको ब्रिफिङमा प्रचण्डले उत्तेजनामा आएर बहुमतबाट निर्णय गर्न नहुने निचोड सुनाए। बालुवाटारमा बैठक राखेका उनीहरूले ओलीविरूद्ध निर्णय सुनाए- स्थायी कमिटी बैठक एकलाैटी रूपमा स्थगित गर्ने ओलीको कदम विधान विपरीत हो।
पार्टीलाई विभाजनको दुर्घटनाबाट जोगाउन सघन छलफलको जरुरी रहेको भन्दै उनले सहमतिको प्रयासलाई जारी राख्नुपर्ने उल्लेख गरे। 'उत्तेजनामा विवेक गुमाएर एकतामा आघात पुग्ने काम नगरौँ, संवादलाई सघन बनाउने प्रयास जारी राखौँ,' प्रचण्डले बैठकमा भने।
प्रचण्डको यो भनाइले उनमा बहुमतबाट अघि बढ्ने आत्मविश्वास नदेखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। पार्टीका सांगठनिक निकायमा अंकगणीत बलियो भएपनि आँट नभएका कारण प्रचण्ड-नेपाल समूहले ओलीविरुद्ध कुनै निर्णय लिन नसकेको उनको भनाइ छ।
अंकगणीतमा कमजोर ओलीले आँट देखाएरै प्रचण्ड-माधव समूहलाई गलाएको उनको तर्क छ। 'राजनीतिमा अंकगणीत बलियो भएपनि आत्मविश्वास कमजोर भयो भने नेतृत्वले कुनै निर्णय लिन सक्दैन,'श्रेष्ठले भने,' ओलीसँग अंकगणीत कमजोर भएपनि आत्मविश्वास निकै बलियो छ। त्यही आत्मविश्वासका कारण उनले पार्टीभित्र बलियो स्थितिमा रहेका प्रचण्ड-नेपाल समूहलाई गलाइरहेका छन्।'
पार्टीमा आफ्नो समूह बलियो हुँदा समेत कुनै निष्कर्षमा नपुगेपछि प्रचण्ड-नेपाल समूहकै नेताहरु आजित भएका छन्। मंगलबारको स्थायी कमिटी बैठकमा कुनै निर्णय गर्न नसक्ने बैठकको श्रृंखलाले मुख देखाउन नसक्ने परिस्थिति सिर्जना भएको भन्दै केही नेताहरुले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको आलोचना समेत गरेका थिए।
नेपालनिकट स्थायी कमिटी सदस्य भीमबहादुर रावलले पार्टीलाई विधिमा चलाउने विषयमा बहुमतबाट निर्णयमा पुग्नुपर्ने अवस्थामा भएपनि नेतृत्व केही गलेको महशुस गरेको बताए। बैठकमा विधिबाट चलाउने विषयमा निर्णय गर्दा आफूले समर्थन जनाउने तर पदीय भागबन्डाको विषयमा निर्णय गर्न आफ्नो टाउको नगन्न आग्रह गरेको उनले बताए।
'पार्टीलाई विधिमा चलाउने विषयमा बहुमतबाट निर्णय गर्न हिम्मत नगर्ने पद व्यवस्थापनका लागि बहुमतबाट ठीक पार्छु भन्ने काम गलत छ,'रावलले काठमाडौंप्रेससँग भने,'पदीय झगडाका लागि बहुमतको खेल सुरु गर्ने काम गलत छ भनेर मैले मेरो कुरा राखेको छु।'
नेकपाभित्र अध्यक्ष प्रचण्ड र नेपाल समूह मिल्दा सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैमा उनीहरुको बहुमत पुग्छ। सचिवालयमा प्रचण्ड-नेपाल समूहका पाँच सदस्य छन्। यस्तै, स्थायी कमिटीमा स्थायी कमिटीमा उनीहरुको समूहमा २४ जना रहेको दाबी सो समूहको छ।
४ सय ४१ केन्द्रीय सदस्यमध्ये प्रचण्ड-नेपाल समूहमा २ सय ५५ जना रहेको दाबी उनीहरुको छ। संसदीय दलमा सभामुख अग्निप्रसाद सापकोटालाई छाड्दा १७४ सांसख छन्। जसमा प्रचण्ड-नेपाल समूहमा ९५ जना सांसद खुलेका छन्।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट ओलीको राजीनामा माग गरेपनि मागबारे औपचारिक प्रस्ताव तयार गर्न सकेका छैनन्। उनीहरुले आँट गरेको अवस्थामा केन्द्रीय कमिटीमार्फत दुवै एजेण्डा अनुमोदन गराउन सक्छन्।
यस्तै, केही समयअघि ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका उनीहरुले त्यो प्रक्रिया चाल्न समेत सकेका छैनन्। प्रचण्ड-नेपाल समूहसँग बहुमत भएपनि प्रधानमन्त्री ओली रत्तिभर आतिएका छैनन्। उनले गत शुक्रबारको बैठकमा प्रचण्डलाई स्पष्ट भनेका छन्-'तपाईंहरुलाई बहुमतको दम्भ छ, म कुनै पदबाट पनि राजीनामा दिन्न जे गर्न सक्नुहुन्छ गर्नुस्।'
ओली आफ्नो अडानबाट विचलित नहुने स्थायी कमिटी सदस्य शंकर पोखरेल बताउँछन्। 'आफ्नो अडान सही भएको अवस्थामा बहुमतसँग डराउनु पर्दैन, अध्यक्ष ओली बहुमतबाट अत्तालिएर अडान फेर्ने स्वभावको नेता हुनुहुन्न। आफ्नो एजेन्डामा सहमत गराउने प्रयास उहाँले गरिरहनुहुन्छ,' पोखरेलले भने।
विरोधीलाई कसरी गलाउँदैछन् ओली?
पार्टी विभाजन भए नेकपा एमाले ब्युँत्याउन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको छ।
ओलीकै निर्देशनमा दल दर्ताका लागि निवेदन दर्ता गराएको ओरोप प्रचण्ड-नेपाल समूहको छ। ओलीले पार्टी विभाजन भए एमाले नै ब्युँत्याउने संकेट बेला-बेलामा दिँदै आएका छन्।
आफ्नो अडानबाट पछि नहट्ने र पार्टी विभाजनको अवस्था आइपरे सबै दोष प्रचण्ड-नेपाल समूहको टाउकोमा थोपार्ने रणनीतिमा प्रधानमन्त्री ओली छन्। त्यसैले उनले महाधिवेशनबाट विवाद समाधान गरौँ भनेर प्रस्ताव ल्याइसकेका छन्।
'ओली यस्ता तिकडममा निकै चतुर छन्। विवाद समाधान गर्न खोजेको जस्तो गरेर सहानुभूति बटुल्ने तर आफ्नो अडानबाट नडग्मगाउने चरित्रका व्यक्ति ओली हुन्,' विश्लेषक श्रेष्ठ भन्छन्।
निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भइसकेपछि ओलीले केही संशोधनसहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा छलफल सुरु गरेका छन्। संसदीय दलमा जसको पक्षमा बहुमत पुग्छ उसैले चुनाव चिन्ह पाउने गरी अध्यादेश ल्याउने पक्षमा ओली रहेका छन्। सूर्य चिन्ह हात लागेपछि केही नेताबाहेक पूर्वएमाले आफूतिर आउने ओलीको बुझाइ छ।
दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेर तरंग पैदा गरेका ओलीले फेरि विरोधीलाई गलाउन अध्यादेश ल्याउने तरखर गरेका छन्। यस्तै, संसद विघटन गरेर मध्यावधि निर्वाचन गर्ने परिकल्पना अहिलेको संविधानले नगरेपनि ओली विरोधी पक्षलाई अत्याउनकै लागि संसद विघटनको प्रस्ताव ल्याएर तरंग फैलाउने रणनीतिमा लागेको कतिपयको टिप्पणी छ।
विरोधीलाई गलाउन ओलीले यी योजना प्रयोग गर्न आटेकै हुन् त ? यो प्रश्नमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कूटनीतिक उत्तर दिए। उनले भने,'अन्तरिम विधानले सहमतिबाट अघि बढ्ने स्पष्ट किटान गरेको अवस्थामा पार्टीमा एक पक्षले बहुमतको खेल सुरु गर्यो भने स्वभाविक रुपमा अर्को पक्षले केही न केही रणनीति बनाउँछ।'
विरोधी खेमालाई कसरी गलाउने भन्ने विषयमा रणनीति तयार पारेका ओली प्रचण्ड-नेपाल समूहको बहुमतका अघि झुक्ने पक्षमा छैनन्। त्यसैले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा माग गर्दै आएका प्रचण्ड-नेपाल समूहलाई ओलीले भन्दै आएका छन्-प्रधानमन्त्री बन्न अर्को चुनाव पर्खिनुस्, अध्यक्ष बन्ने भए महाधिवेशन कुर्नुस्।
पछिल्लो समय ओलीले सो समूहलाई 'बहुमतको दम्भ तपाईंहरुलाई छ, सकेको गर्नुस्' भन्ने गरेका छन्।