Kathmandu Press

नेकपा विवाद : वार्ता जारी, विश्वासको संकट कायमै 

काठमाडौं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चर्किए यता अध्यक्ष पुष्पकमल दाहाल

नेकपा विवाद : वार्ता जारी, विश्वासको संकट कायमै 

काठमाडौं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चर्किए यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ पटक वार्ता गरेका छन्। 

योबीचमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग पनि संवाद गरेका छन्। नेपाल पक्षका नेताहरु समेत आपसी छलफलमा व्यस्त छन्। पार्टीको अन्तरविरोध समाधानका लागि सबै पक्षले वार्ता र संवाद निरन्तर गरिरहेपनि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच विश्वासको संकट कायमै छ।

पार्टीको अन्तरिम विधानले दुई अध्यक्षबीचको सहमतिलाई आधार मानेर अघि बढ्ने भनेको छ। नेता-कार्यकर्ताहरुको समेत सहमतिमा पुग्न नेतृत्वलाई दबाब छ। तर, दुई जनाले एक-अर्कालाई अविश्वास गर्दा पार्टीमा कुनै सहमति कायम हुन सकेको छैन।

Hardik ivf

अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादलाई स्वीकार गरेको अवस्थामा प्रचण्डलाई महाधिवेशनमा एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। त्यसमा प्रचण्डको संशय छ। उपाध्यक्ष बामदेव गौतमलाई बारम्बार धोका दिएका ओलीले आफूलाई सहयोग गर्नेमा उनी विश्वस्त हुन सकिरहेका छैनन्। आफूविरुद्ध माधव नेपालसँग सहकार्य सुरु गरेपछि ओलीले प्रचण्डलाई विश्वास गर्न सकेका छैनन्। 

यद्यपी दुई नेताबीच शुक्रबार पनि ४५ मिनेट संवाद भएको थियो।  उनीहरुको संवादले कुनै निष्कर्ष निकाल्न भने सकेन। अनिर्णीत बैठकको श्रृंखलाबाट नेकपाका नेता-कार्यकर्तासमेत आजित बनेका छन्। पार्टीका स्थायी कमिटी सदस्य बेदुराम भुसाल नेतृत्वको अक्षमताले बैठकले निष्कर्ष निकाल्न नसकेको बताउँछन्। 

'दुई अध्यक्षमा आफ्ना एजेण्डामा एक अर्कालाई सहमत गराउने क्षमता नभएको महसुस हामीले गरेका छौं। सायद अविश्वासकै कारण आफ्ना एजेण्डामा एक अर्कालाई कन्भिन्स गराउन सक्नुभएको छैन,' उनले भने। 

प्रचण्ड र ओलीबीच कुन हदसम्म अविश्वास छ भन्ने कुरा शुक्रबार प्रचण्डले दिएको अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ। प्रचण्डले अध्यक्ष ओली पार्टीलाई एकताबद्ध बनाउन नभई संकटतर्फ धकेल्न उद्धत रहेको आरोप लगाए। उनकै सक्रियतामा नेकपा एमाले  दर्ता भएको आरोप लगाउँदै त्यसले एकता प्रक्रियालाई कमजोर बनाएको उल्लेख गरे। 

'पार्टीको सचिवालय बैठक चलिरहेको अवस्थामा अर्का अध्यक्षको संलग्नतामा  नेकपा एमाले दर्ता भएको छ यसले अर्को संटक निम्त्याएको छ,' प्रचण्डले भने।

प्रचण्ड र ओलीबीच विश्वासको खडेरी उत्पन्न भएका कारण कुनै निर्णयमा पुग्न नसकेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन्।

'प्रचण्ड र ओलीले एक-अर्कालाई विश्वास गर्दैनन्। विडम्बनाको कुरा त के छ भने उनीहरु केन्द्रीय कमिटीलाई समेत विश्वास गर्ने पक्षमा छैनन्,' उनले भने,'यो दुई जनाको मात्रै पार्टी होइन, अविश्वासका कारण दुई जनाले कुनै निर्णय दिन सकेका छैनन्। अब विवादित विषय केन्द्रीय कमिटीमार्फत समाधान गर्नुपर्छ।'

पूर्वमाओवादी खेमाका नेताहरु रामबहादुर थापा बादल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीसहितका केही नेताहरु दुई अध्यक्षबीचको सहमतिबाट पार्टी चल्नुपर्ने मत राख्छन्। नेतृत्वमा विश्वासको संकट कायम हुनु दु:खद् भएको उनीहरुको भनाइ छ।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले बहुमतको दम्भका कारण नेताहरुबीच अविश्वास भएको भन्दै त्यसलाई त्यागेर विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए। 'अन्तरिम विधानले बहुमत र अल्पमतलाई चिन्दैन तर अंकगणित ख्याल गरेर एकले अर्कालाई नगन्ने प्रवृत्ति हाबी हुँदा नेकपामा विश्वासको संकट कायम हुँदै आएको हो,' रायमाझीले भने।

माओवादी खेमामा गुट अदलबदल हुन थालेपछि एक अर्काप्रति निकै संशय पैदा भएको छ। विश्वासको संकट नेकपामा कति छ भन्ने कुरा प्रचण्डको सचिवालयले बिहीबार जारी गरेको विज्ञप्तिबाट पनि झल्किन्छ। नेता जनार्दन शर्माले गुट छाडेका छैनन् भन्दै प्रचण्डको सचिवालयले विज्ञप्ति नै जारी गरेको थियो।

पार्टीभित्र सहमति कायम राखेर अघि बढ्नुपर्ने भनाइ कार्यकर्ताको रहेपनि अब बहुमतबाट चल्नुको विकल्प नरहेको कुरा नेता नेपालले बताएका छन्। शुक्रबार उनले सहमति कायम गर्ने पार्टीलाई अघि बढाउने प्रयास बारम्बार असफल भएकाले बहुमतको आधारमा चलाउनुको विकल्प नभएको बताएका छन्।

'पार्टीमा कसैको दास भएर बस्न सकिँदैन। सहमति कायम गरेरे पार्टीलाई विधिबाट चलाउने प्रयास असफल भइसक्यो। अब बहुमतको निर्णय स्वीकार गर्नुपर्छ,' उनले भने।पार्टीको विचार जनताको बहुदलीय जनबाद मान्ने प्रस्ताव नेपालले समेत अघि सारेका छन्। यो कुराले गर्दा प्रचण्ड नेपालसँग पनि झस्किएका छन्।

यता बारम्बार ओलीसँग वान टू वान वार्तामा प्रचण्डको सक्रियता बढ्दा नेपालले पनि प्रचण्डलाई विश्वास गर्न सकेका छैनन्। उनले गत शनिबार प्रचण्डलाई प्रश्न गरिसकेका छन्,'तपाईंको पोजिसन के हो क्लियर हुनुपर्‍यो?'

अविश्वासकैबीच महाधिवेशनसम्म आफ्नो गठबन्धनलाई कायम राख्न प्रचण्ड-नेपाल समूह सक्रिय छ। अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता महाधिवेशनमा उम्मेदवारीका लागि पद बाँडफाँडदेखि वैचारिक दस्तावेजमा समझदारी कामय गर्ने गृहकार्यमा लागेका छन्।

पार्टीले अंगीकार गर्ने वैचारिक विचारमा सहमति जुटेपछि पद बाँडफाँड गर्ने उनीहरुको तयारी छ। 
 

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्