Kathmandu Press

प्रचण्ड-माधव समूहको निष्कर्ष : महाधिवेशन ओली ‘मनमौजी’ अन्त्यको एकमात्रै विकल्प

काठमाडौं, साउन ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सुरु भएको महाधिवेशन बहस अध्

प्रचण्ड-माधव समूहको निष्कर्ष : महाधिवेशन ओली ‘मनमौजी’ अन्त्यको एकमात्रै विकल्प

काठमाडौं, साउन ७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सुरु भएको महाधिवेशन बहस अध्यक्ष केपी शर्मा ओलीको ‘मनमौजी’ अन्त्यको सुरुवात भएको निष्कर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेका छन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफ्ना नेता कार्यकर्तासँगको भेटमा हाल भएको प्रधानमन्त्री ओलीको स्वेच्छारिता अन्त्यको एकमात्र विकल्प महाधिवेशन भएकाले त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखेका छन्। 

नेपालले पार्टीभित्र जारी स्वेच्छारिताको अन्त्यको जिम्मेवारी कार्यकर्ताको काँधमा आइपरेको सार्वजनिक रुपमै भनेका छन्। बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेता नेपालले पार्टीभित्र हाबी भएको व्यक्तिवादी र गैरकम्युनिष्ट प्रवृत्तिको अन्त्य गर्ने कर्तव्य कार्यकर्ताको काँधमा आइपरेको बताए।

Hardik ivf

अध्यक्ष ओलीप्रति इंगित गर्दै उनले म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी विभाजनको चरणमा पुगेकाले त्यसविरुद्ध  इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कार्यकर्तालाई अपील गरे। 

'म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन भन्ने भावनाले कम्युनिष्ट आन्दोलनलाई विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै यहाँसम्म आइपुगेका छौँ,' नेता नेपालले भने,' आज पनि कहीँ कतै त्यस्ता गलत व्यक्तिवादी र गैरकम्युनिष्ट प्रवृत्ति देखा परे त्यसविरुद्ध दृढतापूर्वक उभिनु सबै इमानदार नेता-कार्यकर्ताको कर्तव्य हुन्छ।'

वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा मनमौजी धेरै चलेकाले विधि र प्रक्रियाबाट चलाउनुको विकल्प नभएको बताएका छन्। 'उपलब्धीसँगै हाम्रासामू ठूल्ठूला चुनौती पनि खडा भएका छन्। यी चुनौतीसँग जुध्न हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन,' नेता खनालले भने।

गत सोमबार पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यसँगको छलफलमा अध्यक्ष प्रचण्डले व्यक्तिवाद हाबी भएको पार्टीमा महाधिवेशनले विधि बसाल्ने धारणा व्यक्त गरेका थिए। 'पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति धेरै हाबी भयो। विधिबाट चलाउन महाधिवेशन नै उत्तम विकल्प हो महाधिवेशनलाई बटमलाइन बनाएर अन्य मुद्दाका आधारमा अरु पक्षसँग सहकार्य गरौँ,' बैठकमा प्रचण्डले भनेको कुरा उदृत गर्दै नेता मणि थापाले भने।

नेता थापाले काठमाडौँ प्रेससँग कुराकानी गर्दै अध्यक्ष प्रचण्ड र नेता नेपाल महाधिवेशनलाई बटमलाइन बनाएर सहकार्यका लागि तयार भएको बताए। 'प्रधानमन्त्रीसँग महाधिवेशनको प्रस्तावमा कन्भिन्स हुनुभएका प्रचण्ड केही ब्याक हुनुभएको थियो,' थापाले भने,'अहिले उहाँ महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्षमा पुग्नुभएको छ। महाधिवेशनलाई बटमलाइन बनाएर अघि बढ्नेमा प्रचण्ड दृढ हुनुहुन्छ।' 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले महाधिवेशनको बहसले पार्टीमा गुणात्मक परिवर्तन ल्याएको बताएका छन्। नेकपा विवाद समाधानको सुत्र महाधिवेशन भएको उनको मत छ। अहिले प्रचण्ड र नेपालबीच कुन विचार लिएर महाधिवेशनमा जाने भन्ने मात्र मतभेद देखिएको छ। जनताको बहुदलीय जनवाद (जबज) लाई मूल विचार बनाउनुपर्ने मत माधव नेपालको छ भने जबजका आधारमा तयार गरिएको जनताको जनबादलाई मूल सिद्धान्त बनाउनुपर्ने प्रचण्डको मत छ।

गत माघ १५  गते देखि १९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले २०७७ चैतभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। अहिले अध्यक्ष ओलीले मंसिरभित्रै महाधिवेशन गर्ने प्रस्ताव पेश गरेपछि नेकपाको आन्तरिक राजनीति त्यसतर्फ मोडिएको छ। अध्यक्ष प्रचण्डले अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो प्रणालीको अब अन्त्य भएको बताएका छन् भने वरिष्ठ नेताद्वय नेपाल र खनालले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने अडानमा अडिएका छैनन्।

नेकपाका शीर्ष नेताहरु महाधिवेशनलाई ध्यानमा राखेर गठबन्धन निर्माणमा अग्रसर छन्। महाधिवेशनको प्रस्ताव आएसँगै अध्यक्ष ओलीले जनताको बहुदलीय जनबादमा सहमति जनाए प्रचण्डलाई एकल अध्यक्षमा सघाउने प्रस्ताव गरिसेका छन्। ओलीले बामदेवलाई बारम्बार धोका दिएको देखेर प्रचण्ड नेपालसँगको  गठबन्धनलाई कायम राख्ने पक्षमा छन्। प्रचण्ड नेपाल पक्षलाई  हरेक निर्णय सामूहिक छलफलबाटै लिने प्रष्ट पारेका छन्।

मंसिरमै महाधिवेशन गर्न नेकपालाई चुनौती समेत छ। हाल महाधिवेशनबारे शीर्ष नेतृत्वमा मात्रै छलफल भएको हो। त्यो औपचारिक प्रस्ताव बनिसकेको छैन। यस्तै, नेकपाले आफ्ना केन्द्रीय विभागहरुलाई पूर्णता दिनुपर्ने अवस्था छ। नेकपाभित्र कति कार्यकर्ता छन् भन्ने यकिन समेत भएको छैन। हाल आठ लाख संगठित सदस्य रहेको दाबी गरिएपनि तिनीहरुको आधिकारिक अभिलेख तयार भएको छैन। 

मंसिरमा महाधिवेशन गर्ने भए नेकपाले प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह र वडाका साथै जनवर्गीय संगठनको समेत अधिवेशन गर्नुपर्छ। सदस्यता नै नवीकरण नभएको हालको अवस्थामा ती काम सम्पन्न हुन समय लाग्नेछ। यस्ता काम बाँकी भएकाले मंसिरमै महाधिवेशन हुनेमा नेताहरु विश्वस्त हुन सकेका छैनन्। 

'महाधिवेशनको विकल्प हामीसँग छैन तर प्राविधिक तयारीका लागि समय लाग्ने भएकाले मंसिरमै महाधिवेशन समयका हिसाबले सम्भव नहुन सक्छ,' प्रवक्ता श्रेष्ठ भन्छन्। 

महाधिवेशन नै ओलीको मनमौजी अन्त्य गर्ने अस्त्र रहेको निष्कर्षमा पुगेपनि मंसिरमै महाधिवेशन हुनेमा यो गठबन्धन विश्वस्त छैन। यसलाई उनीहरुले ओलीको अल्झाउने दाउका रुपमा व्याख्या गरिसकेका छन्। 
 

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, साउन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्