प्रचण्डले किन गर्न सकिरहेका छैनन् ‘ब्रेक थ्रु’?
काठमाडाैं, साउन ४ : राष्ट्रिय राजनीतिमा संकट पर्दा केही न केही प्रस्ताव अघि सारेर राजनीतिक माह
काठमाडाैं, साउन ४ : राष्ट्रिय राजनीतिमा संकट पर्दा केही न केही प्रस्ताव अघि सारेर राजनीतिक माहोललाई आफूतर्फ ध्यानाकृष्ट गराउने नेता हुन्, पुष्पकमल दाहाल प्रचण्ड।
सधैँ आफ्ना एजेण्डामा अरुलाई बहस गराउन बाध्य पार्ने प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा माओवादी केन्द्रलाई विलय गराए यता अरुको प्रस्ताव कुर्ने गरेका छन्।नेपाली राजनीतिक वृत्तमा उनले स्थापित गरेका ‘ब्रेक थ्रु’, अग्रगामी छलाङ र निरन्तरतामा क्रम भंगता शब्द प्रचण्ड स्वयंमलाई अहिले भारी परिरहेका छन्।
पार्टीभित्रको अन्तरविरोध समाधानमा प्रचण्डले 'ब्रेक थ्रु' गर्न सकेका छैनन्। शक्तिशाली कार्यकारी अध्यक्षको दाबी गरिरहेका प्रचण्ड सेरोमोनियल जस्तै छन्। आफूलाई शक्तिशाली बनाउने मामिलामा उनले छलाङ मार्न सकिरहेका छैनन्। त्रिशंकु शक्ति भएको नेकपामा अध्यक्ष केपी शर्मा ओलीतर्फ लाग्ने वा वरिष्ठ नेता माधव कुमार नेपाललाई साथ दिने भन्ने दोधारमा रहँदा प्रचण्डले निरन्तरतामा क्रम भंगता समेत गर्न सकेका छैनन्।
'आफ्नो आन्दोलनलाई विर्सजन गरेर पार्टी विलय गराएका प्रचण्ड अहिले संसदीय राजनीतिको खुंखार खेलाडीको घेराभित्र छन्। प्रचण्डको स्ट्रेन्थ निकै कमजोर भएकाले उनले पहिले जस्तो ब्रेक थ्रु, निरन्तरतामा क्रम भंगता वा छलाङ जे भन्नुस् त्यो गर्ने सामर्थ्य अहिले राख्दैनन्,' वाम विश्लेषक हरि रोका भन्छन्।
‘ब्रेक थ्रु’ मा प्रचण्ड असफल
नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले विचार र शक्तिको बहस प्रमुखताका साथ भइरहेको छ। गत मंसिरमा ओली र प्रचण्डबीच अधिकार बाँडफाँड भएपछि प्रचण्डले सार्वजनिक रुपमै 'कार्यकारी अध्यक्ष फिल भएको' भाषण गर्दै हिँडेका थिए।
प्रचण्डको कार्यकारी फिलिङ धेरै टिक्न सकेन। त्यसपछि वरिष्ठ नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदको एजेण्डामा साथ दिए। प्रधानमन्त्रीबाट र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा जोडदारका साथ अघि बढेपछि पार्टी झन्डै फुटको संघारमा पुगेको थियो। प्रचण्डले आफू सम्हालिएका कारण दुर्घटनाबाट बचेको भन्ने अभिव्यक्ति दिए।
तर, विवाद समाधान लागि कुनै प्रस्ताव अघि सार्न सकेनन्। बरु, ओलीले नेकपा सचिवालयको बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरेको प्रस्तावमा प्रचण्डले मौन समर्थन जनाए। उनले परिबन्धमा परेर मौन बसेको तर ओलीसँग महाधिवेशनबारे कुनै सहमति नभएको बताएका छन्। 'म परिबन्धमा परेँ, तर अर्ली महाधिवेशनको विषयमा कुनै सहमति भएको छैन,' प्रचण्डको खुमलटारमा आफूनिकट नेताहरुसँग भनेका थिए।
पार्टीको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्ने पूर्वएमाले खेमाको मत छ भने माओवादी खेमा जनयुद्धलाई सम्पूर्ण रुपमा बिर्सिएर जनताको बहुदलीय जनवादलाई पूर्ण रुपमा स्वीकार गर्ने पक्षमा छैन। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा मंसिरमा महाधिवेशन गर्ने र पार्टीको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुने कुरा उठेपछि प्रचण्ड विच्किएका छन्। शनिबार खुमलटारमा गरेको ब्रिफिङमा प्रचण्डले भनेका थिए-'जबजलाई निर्देशक सिद्धान्त बनाउने कुराले म झस्किएको छु।'
प्रचण्ड पार्टीको निर्देशक सिद्धान्त जबजलाई आधार मानेर बनाइएको जनताको जनवाद हुनुपर्ने मत राख्छन्। हाल नेपाल पक्षले पनि जबज नै मुख्य निर्देशक सिद्धान्त हुनुपर्ने मत राखेको छ। पार्टीको निर्देशक सिद्धान्तमा असहमति जनाएपनि त्यसमा उनले दरिलो अडान लिन सकेका छैनन्। राष्ट्रपति विद्या भण्डारीको पार्टीमा राम्रो पडक रहेको र महाधिवेशनमा उनको साथ आवश्यक हुने भएकाले पनि प्रचण्डले जनताको जनवादको सिद्धान्त पनि त्याग्न सक्ने त्रास पार्टीभित्र छ। यद्यपी सोमबारको भेलामा प्रचण्डले जबजलाई स्वीकार गरेर अघि बढ्न नसकिने बताएका छन्।
महाधिवेशनपछिको राजनीतिक हिसाबकिताब प्रचण्डले गरिरहेको कारण ब्रेक थ्रुमा असफल भएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 'महाधिवेशनपछि आफू अध्यक्षको परिदृश्य मात्रै अघि राखेका छन्। प्रचण्ड चरम व्यवहारवादी भएकै कारण आफ्नो एजेण्डामा पार्टीभित्र बहस गराउन सकेका छैनन् र विगतको झैँ संकटको समयमा ब्रेक थ्रु गर्न सकिरहेका छैनन्,' श्रेष्ठले भने।
शक्तिशाली अध्यक्षमा छलाङ मार्न असफल
आफ्नो राजनीतिक करियरमा जहिलेपनि कार्यकारी भूमिकामा रहेका प्रचण्ड नेकपामा व्यवहारिक रुपमा सेरोमोनियल भूमिका छन्।
शक्तिको महत्वकांक्षा बोकेका प्रचण्डले सेरोमोनियल अध्यक्ष स्वीकार्न सकिरहेका छैनन्। नेकपामा नेता नेपालसँग सहकार्य गरेर एक व्यक्ति एक पदको एजेण्डामा प्रचण्डले समेत सहमति जनाए। त्यसमा उनको स्पष्ट स्वार्थ थियो- ओलीलाई प्रधानमन्त्री पद दिने र पार्टी पूर्णरुपमा आफूले चलाउने।
शक्तिशाली अध्यक्ष बनेर छलाङ मार्ने उनको चाहनामा ओली बाधक बनिरहेका छन्। एक व्यक्ति एक पदको एजेण्डा ओलीले नमानेपछि उनलाई स्थायी कमिटीमार्फत ठेगान लगाउने तयारी नेपाल र प्रचण्डको थियो। स्थायी कमिटीमा छलफल गरेर प्रस्ताव तयार गर्ने र त्यसलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी विफल भइरहेको छ।
प्रचण्ड अडानबाट विमुख हुँदा समस्या भइरहेको नेकपाका नेताहरु बताउँछन्। 'विविध लाभको लालसामा प्रचण्डले अडान छाडिरहनुभएको छ,' नेकपाका एक स्थायी कमिटी सदस्यले भने,'लोभले लाभ लाभले विलाप भनेजस्तै छ उहाँको हालत।'राजनीतिक विश्लेषक श्रेष्ठ प्रचण्डले आँट नगरेका कारण उनी शक्तिशाली हुन नसकेको बताउँछन्। प्रचण्डमा बनिबनाउ संरचनामा विलिन हुने प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ छ।
'माधव नेपालसँगको सहकार्यपछि पार्टीको हरेक तप्कामा उनीहरुको बहुमत छ तर प्रचण्डले आँट नदेखाएका कारण शक्तिशाली अध्यक्ष हुने उनको कदम सफल हुन सकिरहेको छैन,' उनले भने,' ओलीसँगको वान टू वान वार्ताबाट अझ बढी लाभ प्राप्त हुने प्रचण्डको गलत मनोविज्ञान र एडजस्मेन्टको प्रवृत्तिले उनीमाथि अविश्वास समेत पैदा हुँदै गएको छ,' श्रेष्ठले भने।
निरन्तरतामा क्रम भंग गर्न असक्षम
नेकपाभित्र प्रचण्ड कुन पक्षमा छन् भन्ने संशय कायमै छ। नेता नेपालसँग सहकार्य गरेपनि उनको पक्षधरताका विषय नेपाल पक्षले बारम्बार प्रश्न गरेको छ।
आसन्न महाधिवेशनमा नेकपाको एकल अध्यक्ष बनाउन सहयोग गर्ने ओलीको आश्वासनपछि प्रचण्ड ओलीसँग पनि सकरात्मक छन्। गत शनिबारको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्रीको राजीनामाको माग छोड्ने जनाउ दिएका थिए। उनले न त ओलीलाई छोड्न सकेका छन् न त नेपाल पक्षधरलाई चिढ्याउन चाहेका छन्।
नेपालले पक्षधरले आइतबार भएको छलफलमा प्रचण्डको लाइनबारे स्पष्ट पार्न माग गरेका थिए। बैठकमा प्रष्टिकरण दिँदै प्रचण्डले भनेका थिए-'ढुक्क हुनुहोस् यो गठबन्धन भत्किँदैन तपाईंहरुसँग छलफल नगरी म कुनै कदम चाल्दिनँ।' प्रचण्डको यो प्रष्टिकरणपछि पनि नेपाल पक्ष उनीसँग विश्वस्त हुन सकिरहेको छैन।
'हाम्रो गठबन्धन भत्काउन विविध प्रयत्न भइरहेको छ। प्रचण्डजीको क्रियाकलापले उहाँसँग विश्वस्त हुने आधार बनिसकेको छैन,' नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने।
नेकपाभित्रै प्रचण्डको तन नेपालतिर मन केपी ओलीतिर रहेको भन्दै आलोचना हुने गरेको छ। एउटा खेमामा दरिलो भएर उभिने साहस प्रचण्डले नगर्दा उनको द्वेध प्रवृत्तिको निरन्तरताको क्रम भंग हुन सकेको छैन।
'आफ्नो फाइदाको वरिपरीमात्रै प्रचण्ड केन्द्रित छन् चरम व्यवहारवादी प्रवृत्ति हाबी हुँदा क्रम भंग गर्ने कदममा प्रचण्ड सफल छैनन्,' विश्लेषक श्रेष्ठ भन्छन्। उनीमाथि बारम्बार संशय पैदा भएपछि प्रचण्डले पूर्वमाओवादी खेमाका स्थायी कमिटी सदस्यहरुलाई बोलाएर एजेण्डाका आधारमा मात्रै ओली र नेपालसँग सहकार्य गर्ने बताएका छन्।
विषम परिस्थितिमा समेत राजनीतिलाई आफूतर्फ केन्द्रित गर्ने प्रचण्डको क्षमता 'एडजस्मेन्ट' मा चित्त बुझाउँदै जाँदा कमजोर बन्दै गएको जानकारहरुको बताउँछन्।