नेकपाका स्थायी कमिटी सदस्यहरू भन्छन्- नेतृत्वको कार्यशैलीबाट हामी लज्जित भइसक्यौं
काठमाडाैं, साउन २ : सात पटक स्थायी कमिटी बैठक स्थगित भएपछि सदस्यहरु पार्टी नेतृत्वसँग आक्रोशित
काठमाडाैं, साउन २ : सात पटक स्थायी कमिटी बैठक स्थगित भएपछि सदस्यहरु पार्टी नेतृत्वसँग आक्रोशित भएका छन्। उनीहरुले स्थायी कमिटीको गरिमा कायम गर्न र सदस्यहरुको मानमर्दन हुने काम बन्द गर्न नेतृत्वलाई भनेका छन्।
स्थायी कमिटी बैठकको औचित्य अब सकिएकाले यथाशीघ्र केन्द्रीय कमिटी बैठक राख्नुपर्ने सदस्यहरुको माग छ। शुक्रबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने भनेपछि स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बालुवाटार पुगेकी थिइन्।
बालुवाटार पुगेको १५ मिनेटमा उनले जानकारी पाइन् बैठक तीन बजेसम्मका लागि स्थगित भयो। बैठकमा सहभागी हुन हतार-हतार बालुवाटार हिँडेका मातृका यादव नक्साल पुगेपछि खबर पाए बैठक सर्यो।
शुक्रबारको स्थायी कमिटी बैठकमा सहभागी हुन २३ जना सदस्य साढे १० बजे बालुवाटार पुगिसकेका थिए। कतिपय नेताहरू बाटोमै थिए। योबीचमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा व्यस्त थिए।
वार्ताका लागि समय चाहिएको भन्दै उनीहरुले साउन ४ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिदिए। नेतृत्वको यो कार्यशैली गलत भएको नेतृ शाक्य बताउँछिन्। सरकार र पार्टीको काम चापाचाप रहेको अवस्थामा बैठक बोलाउँदै स्थगित गर्दै जाँदा गलत सन्देश प्रवाह भइरहेको उनको भनाइ छ। बाढीपहिरो जस्ता विपद् व्यवस्थापनमा सरकार र पार्टी पंक्ति केन्द्रित हुनुपर्ने बेला शक्तिको सुनिश्चितताको लडाइँमा नेताहरु लाग्दा पार्टीको छवि निकै धुमलिएको उनले बताइन्।
दुई अध्यक्षबीचको शक्ति संघर्षले पार्टीलाई नै बदनाम गराएको भन्दै कोठे बैठकको 'नाटक' बन्द गरी तत्काल केन्द्रीय कमिटी बैठकको मिति तोक्नुपर्ने उनको भनाइ छ। 'कोठे बैठकको नाटक गर्नुभन्दा केन्द्रीय कमिटीको मतमार्फत पार्टीका शीर्ष नेताहरु चल्नुपर्छ,' सहमतिको विन्दु पहिल्याउन नसक्ने कोठे बैठकबाट हामी आजित भइसक्यौँ,' शाक्यले भनिन्।
यस्तै, अर्का सदस्य मातृका यादवले नेकपाका शीर्ष नेताहरुले स्थायी कमिटी सदस्यको मानमर्दन गरेको बताउँछन्। पटक-पटक बैठक बोलाउने र अन्तिम समयमा स्थगित गर्ने शीर्ष नेताहरुको शैलीले आफूहरु आजित भएको उनको भनाइ छ।
'पार्टीको विधि भत्काउने शीर्ष नेताहरुको शैलीले हामी सदस्यहरु आजित भइसकेका छौँ, यादवले भने,' उहाँहरु आफैँले लाज मान्नुपर्ने हो हामी त निकै लज्जित भइसक्यौँ।'
स्थायी कमिटीबाट पार्टीमा देखिएको संकट समाधान नहुने भन्दै नेता यादवले तत्कालै केन्द्रीय कमिटीको बैठक बोलाउनुको विकल्प नरहेको बताउँछन्।
'पार्टीको विधिलाई भद्रगोल बनाएका नेताहरुलाई अब केन्द्रीय कमिटीबाट ठेगान लगाउनुको विकल्प छैन। त्यो बैठकले जे निर्णय लिन्छ त्यसका आधारमा पार्टी चल्नुपर्छ,' उनले भने।
यस्तै, स्थायी कमिटी सदस्य भीमबहादुर रावल घण्टा-घण्टामा बैठक स्थगित गर्ने काम लज्जास्पद भएको बताउँछन्। स्थायी कमिटीको आफ्नो मर्यादा हुने भएकाले त्यसको हेक्का राख्न उनले नेतृत्वलाई सुझाव दिएका छन्।
'बैठकको मिति तय गरेर घण्टा-घण्टामा स्थगित गर्ने काम निकै लज्जास्पद छ। यसले स्थायी कमिटीको मानमर्दन गरेको छ,' उनले भने। व्यक्तिगत स्वार्थका लागि पार्टीको स्थायी कमिटीलाई बन्धक बनाउने काम निन्दनीय रहेको रावलको भनाइ छ।
अर्का सदस्य सत्यनारायण मण्डल असार १० गते बसेको स्थायी कमिटी बैठकले एजेण्डा पास गरिसकेको विषयमा छलफल राख्न छोडेर एकाएक विषायन्तर गर्ने काम गलत भएको बताउँछन्।
'कोरोना रोकथाम, सीमा समस्या समाधानका विषयमा छलफल गर्ने एजेण्डा थियो एकाएक स्थायी कमिटीको एजेण्डा विषायान्तर गर्ने काम निन्दनीय छ,' उनले भने।
कम्युनिष्ट पार्टीभित्र अध्यक्षद्वयबीच भएको शक्ति संघर्षलाई उनले बेमौसमी बाजाको संज्ञा दिएका छन्।
'जनताको दु:खकष्ट समाधान गर्नुपर्ने, राष्ट्रको सीमा सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षामा लाग्नुपर्ने बेलामा शक्ति संघर्ष गर्नु बेमौसमी बाजा बजाउनु हो। नेकपाका नेताहरुको शैली काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तो छ,' मण्डलले भने।
असार १० गतेको स्थायी कमिटी बैठकले कोरोना रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समीक्षा, सांगठनिक एकताका थाँती रहेका काम, अमेरिकी सहयोग परियोजना (एमसीसी), नगारिकता विधेयक र रुकुम घटनाका विषयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो।
कमिटीले पारित गरेको एजेण्डालाई किनारा लगाउँदै प्रधानमन्त्रीबाट अध्यक्ष ओलीको राजीनामामात्रै स्थायी कमिटीको बलियो एजेण्डा बनेपछि बैठक बस्न सकेको छैन। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष ओलीलाई स्थायी कमिटी फेस गर्न बारम्बार भनेका छन्।
ओली स्थायी कमिटी फेस गर्न तयार नभएपछि केन्द्रीय कमिटीमा उनको राजीनामाको विषय प्रमुखताका साथ उठाउने त्यस समूहको तयारी छ। खुमलटारमा बिहीबार साँझ भएको भेलामा भदौमा केन्द्रीय कमिटीको बैठक राख्ने निष्कर्षमा अध्यक्ष प्रचण्ड र नेता नेपाल पुगेका थिए।