Kathmandu Press

एउटै गीतमा विश्व कीर्तिमान बनाउने नेपाली संगीतकार

तिमीले पराई ठानेपछि पराई हुन के भयो र,
तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र ।

गीतकार

एउटै गीतमा विश्व कीर्तिमान बनाउने नेपाली संगीतकार

तिमीले पराई ठानेपछि पराई हुन के भयो र,
तिम्रो मेरोबीचको नाता भन्नु पनि के रह्यो र ।

गीतकार लोकराज अधिकारीका शब्दलाई गायिका अन्जु पन्तको स्वरमा यो गीतलाई कर्णप्रिय बनाएका थिए, संगीतकार सन्तोष श्रेष्ठले। सीआरबीटीमा सर्वाधिक रुचाइएको यो गीतले युट्यूबमा पनि ३५ लाख भ्युअर पाइसकेको छ।

नेपाली भाषीबीच लोकप्रिय सन्तोषको संगीतको जादु यतिवेला भने देशको सीमाभित्र मात्रै सिमित रहेन। उनले अर्को एउटा सांगीतिक प्रयासमाझ अन्तर्राष्ट्रिय रुपमा आफूलाई उभ्याएका छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीबीच गरिएको लकडाउनमा भने उनकाे ‘मायाको सागरमा पौडिन सिकायौ’ गीतलाई १२ भाषामा गरिएको संगीत सिर्जनाले विश्व कीर्तिमानी बनाएको छ।

संगीतकार सन्तोष भन्छन्, ‘यो कठिन काम थियो, धेरै मेहनतले सफल भयो।’ दुई दशक संगीत सिर्जनामै बिताएका उनलाई अर्को सिर्जना गर्न के गाह्रो भयो र। तर, उनी भने धेरै सकस भएको बताउँछन्। ‘बाह्र भाषामा संगीत भर्दा सबै देशको भाषाशैली बुझ्नुपर्थ्याे। गीतले त्यस देशको भाषा अनुसारकै भाषाशैली बोक्नु पर्थ्याे,’ उनी भन्छन्।

र, उनी लामो प्रयासपछि यसमा सफल भएका छन्। गीतकार डीआर उपाध्यायका शब्दलाई नेपालीसँगै अंग्रेजी, हिन्दी, चाइनिज, जापानी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन, थाईलगायत १२ भाषामा संगीतबद्ध गरेका छन्। जसका लागि उनले दुई महिना अघि गिनिज वल्ड रिकर्डको प्रमाणपत्र पाएका छन्।

यो गीतलाई नेपाली भाषामा सागर अधिकारीले गाएका छन भने हिन्दीमा डीआर उपाध्यायले गाएका छन्। त्यस्तै, अन्य १० भाषामा प्रकाश तिमिल्सिनाले स्वर दिएका छन्।

उनको यो सांगीतिक यात्राको सुरुआत भने दाङको हापुर गाउँँबाट भएको हो। गाउँको मन्दिरमा राखिएको हार्मोनियमलाई कहिलेकाहि देख्न र अरुले बजाएको सुन्न पाएका उनी बजाउन भने पाउँदैन्थे। तैपनि हार्मोनियमप्रति लगाव बढेको उनी बताउँछन्। हापुरमा उनले मादल र बासुरी भने खुब बजाए। त्यसले उनको संगीतप्रतिको रुचिलाई झन बढायो।

केहि वर्षपछि गाउँमा शान्ति सन्देश युवा क्लब खुल्यो। त्यसले सांगीतिक कार्यक्रम गर्न थाल्यो। ‘क्लबका कार्यक्रममा हार्मोनियम बजाउन थालेँ,’ उनी सम्झिन्छन्।

एसएलसीपछि २०५६ मा कलेज अध्ययनका लागि काठमाडौं आए। पढाइसँगै संगीत अध्ययन पनि सुरु गरे। ‘मलाई संगीतमै केही गर्नुपर्छ भन्ने लागिसकेको थियो। काठमाडौं आएर संगीतमै ध्यान दिन थाले,’ उनी भन्छन्।

गाउँमा हार्मोनियम बजाउँदाबजाउँदै काठमाडौं छिरेका उनलाई हिजोजस्तै लाग्छ। वर्ष गणना गर्दा भने झस्किन्छन्। हुन पनि उनी काठमाडौं आएको २१ वर्ष भइसकेकाे छ भने संगीतमा लागेको २० वर्ष।

यो दुई दशकको अवधिमा उनले संगीत भरेका गीतले चर्चाको शिखर चुमेका छन्। लाखौं स्रोता र दर्शकले मन पराएका छन्। सन्तोषकै संगीत सिर्जना रहेका गीत हुन् ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’ , ‘आउँछु भनि निष्ठुरीले भर किन पार्नु।’

त्यस्तै, ‘तिमीले भुल्न सके पनि, मैले भुल्न सकिन भो’, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, ‘तिमीले हाँसो लुटी लाग्यौ रुँदैरुँदै बाँचेकी छु’मा उनकै हस्ताक्षर छ। ‘तिमीलाई सन्चो छैन भन्ने खवर पाएँ मैले’, ‘परेलीको वर्षातले छातीभित्र पहिरो गयो’, ‘तिम्रै यादमा भित्रभित्रै जलीजली बाँचेकी छु’, ‘कोपिलामा सुन हुन्छ,’ लगायत दर्जनौं गीतलाई उनको संगीत सिर्जनाले कर्णप्रिय बनाएको छ।

केही समययता भने उनी अलि फरक र नौलो काम गर्न खोजिरहेका थिए। डा.डीआर उपाध्यायको शब्दले उनलाई त्यहि फरक र नौलो गर्ने इच्छाले पूर्णता पायो।

जसको प्रतिफल उनले विश्व संगीतको इतिहासमा नयाँ रिकर्ड बनाए। र, २०२० मार्च ११ तारेखमा गिनिज वल्ड रिकर्ड बनाएको प्रमाणपत्र पाए। विश्व कीर्तिमानी संगीतकारको प्रमाणपत्र पाउँदा उनलाई कस्तो लाग्यो होला? संगीतकार सन्तोष त्यो क्षण सम्झिँदै भन्छन्, ‘जसरी एउटा बिरामीले उपचार पाउँदा खुशी हुन्छ, त्यस्तै अनुभुति भयो।’

उनलाई लाग्छ आँट गर्‍यो भने अन्तर्राष्ट्रिय स्तरको काम गर्न सकिदोरहेछ। याे सफलता उनलाई खुशी त बनाएको छ नै सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउन सकेकोमा गर्व पनि लागेको छ।

उसो त उनले यस अघि पनि गिनिज वल्ड रिकर्ड बनाएका थिए। सन् २०१८ मा वातावरण संरक्षण विषयमा एउटा गीत तीन सय ६५ जनाले गाएको थियो, जसमा उनले संगीत भरेका थिए। त्यसले पनि विश्व कीर्तिमान कायम गरेको थियो।

दुई दशक संगीत सिर्जनमा बिताएका उनले झण्डै आठ सय गीतमा संगीत भरेका छन्। उनको एकल संगीतका ३४ एल्बम सार्वजनिक भएका छन्। उनलाई संगीत के लाग्दो हो? सन्तोष भन्छन्, ‘मेरो लागि संगीत जीवन हो। संगीत साधना हो। संगीत संस्कार हो। जीवन जिउने कला हो। यहि कलाले बाँचिरहेको छु।’

प्रकाशित मिति: ०९:३८ बजे, शुक्रबार, साउन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्