Kathmandu Press

माइतीघर नि लज्जित हुँदो हो !

सबैको दुःख बिसाउने ठाउँ। चाहे त्यो सत्ताप्रतिको आक्रोश होस् वा अन्यायको चित्कार वा अन्य नागरिक आन्दोलन। सबैको साक्षी

माइतीघर नि लज्जित हुँदो हो !

सबैको दुःख बिसाउने ठाउँ। चाहे त्यो सत्ताप्रतिको आक्रोश होस् वा अन्यायको चित्कार वा अन्य नागरिक आन्दोलन। सबैको साक्षी हो- माइतीघर।

आक्रोश र असन्तुष्टिका स्वर गुन्जाउनेदेखि न्यायको चित्कार माइतीघरले सुनेको छ। जसरी एउटी चेलीलाई समस्या पर्दा माइतीको आशा र भरोसा हुन्छ, त्यसरी नै जनताका आक्रोश सत्तालाई सुनाउन र झुकाउन माइतीघरको साहरा छ। 

मौलिक नाम ‘फिब्वः ख्यः’ रहेको माइतीघर मण्डलाले राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रुपमा आफ्नो परिचय बनाएको छ। बेलायतको स्पिकर कर्नर जस्तै काठमाडौंको माइतीघर यस्तो थलो हो जसको सबैले भरोसा गर्छन्।  

Hardik ivf

२०५७ सालमा ११ औं सार्क शिखरको सम्मेलन आयोजना हुने बेलामा आसपासको बस्तीलाई व्यवस्थापन गरी केवल १७ दिनमा निर्माण गरिएको माइतीघर मण्डलाले २० वर्षे उमेरमा सबै खाले आन्दोलन साक्षी बनेर मौलिक ख्याति कमाएको छ।

प्रायः जनताको आक्रोश र असन्तुष्टि पोख्ने माइतीघर अहिले जनतालाई मात्रै होइन, सत्तालाई पनि चाहिएको छ। त्यो पनि सच्चिन दबाब दिन माइतीघरमा भेला भएका जनताप्रति विष बमन गर्ने सरकारलाई।

भ्रष्टाचार काण्डमा मुछिनुअघि वर्तमान सरकारका प्रवक्ता रहेका बेला गोकुल बाँस्कोटाले माइतीघरमा भएका कुनै पनि आन्दोलनको आलोचना गर्न छुटाएनन्। खबरदारीलाई बेवास्ता गरेर जनतालाई गाली गरेर सत्ताको ताबेदारी गर्नु उनको बाध्यता थियो वा मजवुरी।

तर, गुठी विधेयकको विरोधमा भएको विशाल आन्दोलनले भरीभराउ भएपछि त्यो बेला ओली सरकारको शीर दुई तिहाइको दम्भबाट झुकेको थियो।

सिंहदबारको प्रधानमन्त्री कार्यालयबाट केही सय मिटरको दूरीमा रहेको माइतीघरको कोलाहलले सिंहदरबारमा मस्त सुतेका शासकको कानमा पुग्छ भनिन्छ। सायद त्यही भएर होला ओली सरकार गठन भएको केही महिनामै माइतीघरमा आन्दोलन गर्न निषेध गरिएको थियो।

आफूविरुद्ध कसैले विरोध गर्छ कि भनेर माइतीघरलाई निषेध गरेका प्रधानमन्त्री ओलीले आफ्नो सत्ताको कुर्ची हल्लिन थालेपछि बिहीबार त्यही माइतीघरको सहारा लिए– आफ्नो बचाउमा केही युवाहरु जम्मा गरेर।

०७५ बैशाखमा सरकारले माइतीघरमा आन्दोलन गर्न नपाइने निर्णय गरेको थियो। माइतीघरको कर्कस ध्वनी नमिठो लागेपछि माइतीघरको आन्दोलन अलिक पर सार्ने निर्णय यही सरकारले गरेको थियो। 

०७५ वैशाख १६ पछि खुलामञ्च, तीनकुनेको खुला चौर, भगवानपाउको भुइँखेलचौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद् अगाडिको खुला स्थान र सिफल चौर र गौशालामा मात्र विरोध प्रदर्शन गर्न पाइने निर्णय गृह मन्त्रालयले गरेको थियो। तर, सरकारको निर्णय न जनताले पालना गरे, न माइतीघर शान्त रहन सक्यो।

सरकारको निर्णय शान्तिपूर्ण आन्दोलनमा बन्देज लगाउने उद्देश्यबाट प्रेरित रहेको भन्दै विरोध भएपछि सरकार पछि हट्यो। कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका बेला भएका अनियमितताको विरोध माइतीघर मण्डलामा राम्रैसँग भयो। ‘इनअफ इज इनअफ’ अभियान नै चल्यो। कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब यही अभियानमा संलग्न युवाहरुले माइतीघरबाट खोजे।

तर, बिहीबार एक हुल प्रदर्शनकारी त्यही माइतीघरमा देखिए। उनीहरु भन्दै थिए– ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’। पार्टीभित्र राजीनामाको बढ्दो दबाब र सत्ता पक्षमा बोलिदिने कोही नभेटिएपछि सत्ताको नेतृत्वकर्ता आफैँले आफ्ना कार्यकर्ता माइतीघरमा उतारे। कुनै बेला आन्दोलनका लागि योग्य नभएको ठहर गरेका प्रधानमन्त्री ओलीले बिहीबारदेखि माइतीघर प्रदर्शन गर्न योग्य रहेको ठहर गरे। दिउँसो माइतीघरमा भएको आन्दोलनबाट उत्साही बनेका शासकले बेलुका निवासमै आफ्ना कार्यकर्ता डाकेर सरकारका पक्षमा आन्दोलन गर्न निर्देशन नै दिए।

जनचासोका विषय सम्बोधन गर्न असफल बनेको र भ्रष्टाचारका दर्जनौं काण्डमा फसेको सरकारका नेतृत्वकर्ताले कुर्ची जोगाउन कार्यकर्ता माइतीघरमा उतार्नु परेको छ। जनादेश अनुरुप काम गर्नु त परेकै कुरा हो, पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न नसक्ने, तथ्य र तर्कबाट भड्किएर सर्वज्ञानी अवतार प्रस्तुत गर्ने शासकले कुर्ची जोगाउन कार्यकर्ता उतारेपछि जनताका अनेकौं आन्दोलनको साक्षी बनेको माइतीघर लज्जित हुँदो हो।

ओलीको सत्ता संकट अझै टरिसकेको छैन। संकट गहिरिए ओली पक्षधरले सत्ताका पक्षमा ठूलो आवाजमा चर्का नारा केही समय घन्काउलान् नै। सायद माइतीघरको जीवात्मा हुँदो हो त मनमनै गुन्दो हो– यस्ता दिनको पनि साक्षी बस्नु पर्दा ग्लानी भइरहेछ। अझै कति सहनुपर्ने हो!
 

प्रकाशित मिति: १९:११ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्