Kathmandu Press

एन्फिल्डमा क्लोपले फर्काएको खुसी  

काठमाडौं, असार १२ : फुटबलमा ३० वर्ष चानचुने समय होइन। अझ व्यवसायिक फुटबलमा त अझ यो एक युग नै हो। यसो

एन्फिल्डमा क्लोपले फर्काएको खुसी  

काठमाडौं, असार १२ : फुटबलमा ३० वर्ष चानचुने समय होइन। अझ व्यवसायिक फुटबलमा त अझ यो एक युग नै हो। यसो भन्नुका पछि यसका बलिया आधार पनि त छन्। ३० वर्ष अर्थात ३० लिग उपाधि। अनि बदलिएको खेल शैली, नियम, पूर्वधार र लगानी। 

१९९० पछि मर्सी नदीमा धेरै पानी बग्यो। तर, लिभरपुलले घरेलु लिगको उपाधि भने जित्न सकेन्। तर, ३० वर्षपछि लिभरपुलको एउटा प्रतिक्षा र सपना पुरा भएको छ, बिहीबार राति। दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई चौथो स्थानको चेल्सीले हराएपछि लिभरपुल सात खेल अघि नै लिग विजेता बन्यो। 

Hardik ivf

यो ३० वर्षको अवधिमा लिभरपुल चार पटक उपाधिको नजिक पुग्यो। तर, भाग्यले साथ दिएन। तर, लामो निराशा पछि गत सिजन र चालू सिजनमा लिभरपुलले आफ्ना समर्थकलाई असिमित खुसी दियो। गत सिजन च्याम्पियन्स लिग र चालू सिजन प्रिमियर लिगको उपाधि जितेर। मर्सी नदीको छेउमा रहेको लिभरपुल सहर फुटबल र संगीतको लागि प्रसिद्ध छ। अहिले सोही सहरबाट पहिलो डिभिजनमा लिभरपुल र एभर्टनले खेल्छन्। सिजनको सुरूवातदेखि लिभरपुल जस्तो लयमा अन्य क्लब थिएनन्। जुन अहिलेसम्म कायम छ। त्यसैको प्रतिफल हो, लिगको उपाधि।  

सन् १९६० को दशकको सुरुवातमा स्कटिस प्रशिक्षक बिल शंकलीले लिभरपुललाई पहिलो डिभिजनमा ल्याएका थिए। त्यसयता नै लिभरपुलले खासगरी सफलताको स्वाद चाख्न थालेको हो। सन् १९७० र ८० को दशकमा लिभरपुल निकै सफल क्लब थियो। तर, समर्थक हिंसात्मक गतिविधीका कारण क्लबको शाख गिर्‍यो। सन् १९८५ को युरोपियन च्याम्पियनशीपमा युभेन्टसविरुद्धको फाइनल खेल अघि ३९ जनाको मृत्यु हुने गरी भएको हिंसात्मक घटना र १९८९ को सेफिल्डको हिल्सब्रो रंगशालामा ९६ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाका कारण लिभरपुलको शाख गिर्न पुगेको थियो। 

भंजाहा समर्थकका कारण झेल्नुपरेका अनेक समस्याका बाबजुद पनि लिभरपुले १९८९–९० को सिजनमा घरेलु लिगको उपाधि जितेको थियो। तर, त्यसको दुई वर्षपछि अर्थात १९९२–९३ को सिजनबाट लिगको ढाँचा फेरियो। प्रिमियर लिग नाम दिइएको नयाँ ढाँचाको लिगमा २० क्लबको सहभागिता सुनिश्चित गरियो। 

घरेलु लिग १८ पटक जितिसकेको लिभरपुलले नयाँ प्रणालीको लिगमा भने कुनै चमत्कार गर्न सकेन। एक हिसाबमा भन्ने हो भने चिरप्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडको छाँया लिभरपुलमाथि पर्‍यो। नयाँ लिगको सुरुवातसँगै युनाइटेडमा सर एलेक्स फर्गुसनको उदय लिभरपुलका लागि महँगो सावित बन्यो। म्यानचेस्टर युनाइटेड सन् १९९० र २००० को दशकमा घरेलु लिगमा अत्यन्त सफल भयो, तर लिभरपुल भने निरिह बनिरह्यो।  

प्रिमियर लिग सुरु भएयता म्यानचेस्टर युनाइटेडले १३, चेल्सीले ५, म्यानचेस्टर सिटीले ४, आर्सनलले ३ पटक लिग जितिसकेका छन्। तर, लिभरपुलको खातामा प्रिमियर लिगको उपाधि शुन्य रह्यो। १८ वर्षको अवधिमा लिभरपुल केवल चार पटक उपविजेता बन्न सक्यो।   

त्यसैले त चालू सिजनमा जितेको प्रिमियर लिगको उपाधि लिभरपुलका लागि महत्वपूर्ण छ। किनकी लिभरपुलका लागि नयाँ ढाँचाबाट घरेलु लिग सुरु भएपछिको यो नै पहिलो घरेलु उपाधि हो।  

सन् २०१० मा लिभरपुलका मालिक फेरिए। फेनवेए स्पोर्टस् क्लबले लिभरपुलको स्वामित्व खरिद गर्यो। क्लबका मालिक फेरिँदा केही फरक हुने विश्वास समर्थकको थियो। तर, लिभरपुलको प्रदर्शन सुध्रन सकेन। हुन त चेल्सी र म्यानचेस्टर सिटीले पनि त्यही बेला ठूलो लगानी भित्र्याएर आफुलाई पावर हाउसकारुपमा उभ्याइसकेका थिए।

 

लिभरपुल र उसका समर्थकका लागि सन् २०१३–१४ को सिजन पीडादायक बन्न पुग्यो। कारण के भने लामो समयपछि लिगको उपाधि जित्ने प्रतिक्षा सकिने आशा क्लब र समर्थकलाई थियो। स्टार मिडफिल्डर स्टेभन जेरार्ड लुइस स्वारेजसँगको तालमेलमा प्रिमियर लिग जित्न तयार थिए। तर, दुर्भाग्य घरेलु मैदानमा भएको चेल्सीविरुद्धको खेलमा उनै जेरार्ड मैदानमा चिप्लिए। सोही कारण लिभरपुल चेल्सीसँग हारेन मात्रै लिगको उपाधि म्यानचेस्टर सिटीलाई सुम्पियो। 

गत सिजन पनि लिभरपुल उपाधि दौडमा थियो। एक खेल मात्रै हारेको लिभरपुलले अन्तिममा म्यानचेस्टर सिटीभन्दा १ अंक कम हुँदा उपाधि गुमाएको थियो। 

क्लोपको आगमनले फेरिएको लिभरपुल 

नयाँ ढाँचामा घरेलु लिग सुरु भएपछि लिभरपुलले १० प्रशिक्षक फेर्‍यो। तर, ९ प्रशिक्षकले घरेलु लिगमा सफलता दिलाउन सकेनन्। त्यही असफलताले बढाएको निराशाका कारण लिभरपुल यस्तो प्रशिक्षकको खोजीमा थियो, जसले क्लबको सफलताको कथा एकपटक फेरी दोहोर्‍योस्। 

यही क्रममा सन् २०१५ मा जर्मन क्लब बोरुसिया डर्टमन्डमा आफुलाई सफल प्रशिक्षककारुपमा उभ्याएका योर्गेन क्लोपलाई भित्र्यायो। जबकी त्यो बेला ठूला क्लबमा सफल प्रशिक्षककारुपमा दरिएका इटालियन प्रशिक्षक कार्लो एन्सोलोटीलेसमेत इच्छा देखाएका थिए। तर, क्लोपलाई भित्र्याउने क्लब बोर्डको निर्णय कालान्तारमा कोसे ढुंगा सावित बनेको छ।  


   
क्लोपले लिभरपुलको खेल शैली त आफ्नो फिलोसफीअनुसार ढाले नै, सँगै खेलाडीमा आत्मविश्वास र समर्थकमा आशा जगाए। खेलाडी खरिदमा उनले क्लबको ठूलो खर्च गरेनन्। स्टार खेलाडी भित्र्याउने अभियानमा रियल मड्रिड, बार्सिलोना, पिएसजी, म्यानचेस्टर सिटीलगायतका धनाढ्य क्लब लागिरहँदा क्लोपले भने ठूला स्टार खेलाडीमा ध्यान दिएनन्। बरु कम मूल्यमा क्षमतावान खेलाडी किने र स्टार बनाइदिए। त्यसैको उदाहरण हुन्, साडियो माने र मोहम्मद सलाह। सँगै उनले युवा खेलाडीलाई मौका दिए। ट्रेन्ट अलेक्जेडर आर्नोल्ड, जो गोमेज यसका उदाहरण हुन्। 

क्लोप ४–३–३ को फर्मेसनमा बढी सफल देखिएका छन्। डिफेन्सिभ मिडफिल्डरलाई पछि ल्याएर दुई फुल व्याकलाई अगाडि बढाउँदा उनीहरूकै क्रसबाट बढी गोल भइरहेका छन्। साथै काउन्टर, हाइ प्रेस तथा व्याक ट्रयाक खेलाउन पनि क्लोप माहिर छन्। आफ्नो फिलोसफीबारे उनले भन्ने गरेका छन्, ‘म चहान्छु, मेरा खेलाडीले दाँया हेरेर बाँया पास खेलुन्।’ 

जब उनी लिभरपुलको प्रशिक्षक बनेका थिए। सोही बेला भनेका थिए–अविश्वासबाट माथि उठेर विश्वास गर्नुपर्छ। र, सँगै घोषणा गरेका थिए– ‘यदी चार वर्षभित्र कुनै उपाधि नजिते स्विट्जरल्याण्डमा गएर क्लब व्यवस्थापन गर्छु।’  

उनले जे बोले त्यो पुरा गरेका छन्। पाँच वर्षको अवधिमा दुई पटक लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल पुर्‍याएका छन्। र एक उपाधि जितेका छन्। यस्तै एक पटक क्लब विश्वकपको उपाधिसमेत लिभरपुललाई दिलाएका छन्। एक पटक युरोपा लिगको फाइनल खेलेका छन्। 

क्लोप सफल हुनुको अर्को पनि कारण छ, खेलाडीसँगको मित्रवत् व्यवहार। सरल, साधारण व्यवहारका कारण उनी खेलाडीका प्रिय प्रशिक्षक बनेका छन्। प्रशिक्षकको व्यवहार क्लबको सफलतासँग जोडिन्छ, मैदानमा देखिन्छ। प्रशिक्षकको खराब व्यवहारका कारण क्लब असफल बनेको र खेलाडीको करियरसमेत डुबेका घटना फुटबलमा धेरै छन्। तर, क्लोप यी सबै कुरा भन्दा पृथक छन्। 

उनी यती सरल छन् कि जस्तोसुकै कठिन अवस्थामा पनि मुस्कुराइ रहन्छन्। मैदानमा हुँदा होस् वा प्रेस कन्फ्रेन्समा क्लोप कहिलै आक्रोशित हुँदैनन्। जोसे माउरिन्हो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक हुँदा एकपटक प्रेस कन्फ्रेन्समा सोधियो– प्रिमियर लिगमा २० म्यानेजर छन्। तर, तपाईमात्रै किन रिसाउनुहुन्छ, आक्रोशित हुनुहुन्छ?  

माउरिन्होले प्रतिप्रश्न गरे– जस्तो?

पत्रकारले भने–योर्गेन क्लोप

माउरिन्होले भनेका थिए– हा हा हा। किनकी उनले उपाधि जित्दैनन्। 

तर, लिभरपुलको पाँच वर्षे बसाइका क्रममा क्लोपले च्याम्पियन्स लिग र प्रिमियर लिग जितिसकेका छन्। तर, उनमा न उन्माद छ, न त घमण्ड नै। बरु लिग जितेपछि उनको प्रतिक्रिया छ– ‘मसँग कुनै शब्द छैन।’  उनले सफलताको श्रेय खेलाडीलाई दिएका छन्। ‘यो मेरा खेलाडीबाट प्राप्त अविश्वसनीय सफलता हो र उनीहरुलाई प्रशिक्षण दिने प्रशिक्षकका हिसाबले मलाई आनन्द मिलेको छ,’ उनले भनेका छन्। 

लिभरपुलले उपाधि त जितिसकेको छ। अब उसँग अन्य रेकर्ड बनाउने अवसरसमेत छ। लिभरपुलसँग सबैभन्दा धेरै अंक जोडेर लिग विजेता बन्ने अवसर छ। 

३१ खेलमा ८६ अंक जोडिसेकेको लिभरपुलले बाँकी सबै खेल जिते १०७ अंक जोडेर सिजनको अन्त्य गर्न सक्ने छ। यसअघि म्यानचेस्टर सिटीले सबैभन्दा १०० अंक जोडेर लिग जितेको  थियो। सोही सिजनमा सबैभन्दा बढी ३२ खेल जितेर सिटीले लिग जितेको थियो। अब बाँकी सात मध्ये पाँच खेल जिते सिटीको त्यो रकेर्डसमेत लिभरपुलले तोड्नेछ।

लिभरपुलले उपाधि जितिसकेको छ, नयाँ रेकर्ड पनि सायद बनाउला। तर, सबैभन्दा ठूलो कुरा एन्फिल्डमा ३० वर्षपछि खुसी फर्किएको छ। 

आधुनिक लिगमा लिभरपुल

  • कुल खेल : १०७०
  • जित : ५५७
  • हार : २४८
  • बराबरी : २६५
  • गोल गरेको : १८४४
  • गोल खाएको : १०६७
  • क्लिनसिट : ४०८
  • रेडकार्ड : ५९
  • एल्लोकार्ड : १३२९
  • फाउल :    १३४२
  • अफसाइड : १२०९

च्याम्पियन्ससँग लिभरपुलको अंक दुरी

  • १९९०–९१ : ७
  • १९९१–९२ : १८
  • १९९२–९३ : २५
  • १९९३–९४ : ३२
  • १९९४–९५ : १५
  • १९९५–९६ : ११
  • १९९६–९७ : ७
  • १९९७–९८ : १३
  • १९९८–९९ : २५
  • १९९९–०० : २४
  • २०००–०१ : ११
  • २००१–०२ : ११
  • २००२–०३ : १९
  • २००३–०४ : ३०
  • २००४–०५ : ३७
  • २००५–०६ : ९
  • २००६–०७ : २१
  • २००७–०८ : २१
  • २००८–०९ : ४
  • २००९–१० : २३
  • २०१०–११ : २२
  • २०११–१२ : ३७
  • २०१२–१३ : २८
  • २०१३–१४ : २
  • २०१४–१५ : २५
  • २०१५–१६ : २१
  • २०१६–१७ : १७
  • २०१७–१८ : २५
  • २०१८–१९ : १
  • २०१९–२० : ०

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्