Kathmandu Press

‘मलाई राष्ट्रपति नि हुनुछैन, सरकारी जागिर पनि खानु छैन, मात्रै नेपाली बन्नु छ’

काठमाडौं, असार १० : असार ६ गते शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठ

‘मलाई राष्ट्रपति नि हुनुछैन, सरकारी जागिर पनि खानु छैन, मात्रै नेपाली बन्नु छ’

काठमाडौं, असार १० : असार ६ गते शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नागरिकता संशोधन विधेयकमा संसदको समितिबाट अघि बढाउने निर्णय गर्‍यो। विधेयकमा नेपाली पुरुषले विदेशी महिला विवाह गरे ७ वर्षपछि अंगीकृत नागरिकता दिने तर नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरे नागरिकता नदिने व्यवस्थासहित समितिबाट पारित भयो। यो व्यवस्थाले महिला र पुरुषमा विभेद गरेको भन्दै अहिले यसको व्यापक विरोध भइरहेको छ।

शनिबारै पप गायिका प्रीति कौरले असन्तुष्टी जनाइन्। र, ट्विटरमा लेखिन ‘अझै ७ वर्ष अनागरिक भएर बस्नु पर्ने? के यो न्यायोचित हो।’

प्रीति कौर नेपालमै जन्मिन, हुर्किन र यहीँ भविष्य खोजिरहेकी छिन्। नेपाली सांगीतिक क्षेत्रमा धेरै हिट गीत दिइसकेकी ‘पप रक’ गायिका कौर ३९ वर्षसम्म पनि नागरिकताबिहीन छिन्, अर्थत् अनागरिक !

Hardik ivf

प्रीति कौरको बुबा जम्मु कश्मिरबाट १९५८ साततिर १५ वर्षको कलिलो उमेरमा नेपाल आएका थिए। ५/६ वर्षपछि विवाहका लागि जुम्मु गएका प्रीतिका बुबा विवाहपछि पुनः नेपाल फर्किए। त्यसपछि यतै छन्। उनका बुबा ट्रक ट्राइभरका रुपमा काठमाडौं आएका हुन्। तत्कालिन राजा महेन्द्रले नेपालमा ट्रक चलाउन केही सिख समुदायका व्यक्तिलाई नेपाल बोलाएका थिए, सोही सेरोफेरोमा प्रितिका बुबा पनि नेपाल आए।

कौर परिवार ललितपुरमा बसिरहेको छ। प्रीतिको जन्मपनि ललितपुरमै भयो। १९८१ मा शान्ता भवन अस्पतालमा उनी जन्मिइन्।

प्रीति १६ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छिन्। सरकारले नागरिकता नदिँदा प्रीति भारतीय राहदानी प्रयोग गर्न बाध्य छिन्, मनमस्तिष्कमा नेपाल भएपनि।

नेपाली नागरिताका लिन प्रीति र उनका बुबा दुवैले प्रयास गरे। तर, अफलतामात्र हात लाग्यो। छोराछोरी यतै जन्मिएपछि अब नेपालमै बसिन्छ भन्ने सोचले प्रीतिका बाबु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगे, नागरिकताका लागि उल्टो घुस मागेपछि उनी रित्तै फर्किए।

२० वर्षअघि प्रीति आफैं नागरिकताका लागि जिल्ला प्रशासन कार्यलय पुगिन्। उनलाई ‘जन्मदर्ता भएर मात्र हुन्न, आमाबुबाको नागरिकता छैन भने नागरिकता दिन सकिँदैन’ भन्दै फर्काइयो। त्यसपछि भने उनले नागरिताका लागि पहल गरिनन् र आफ्नो समस्या फुकाउन भारतीय पासपोर्ट लिइन्। प्रीतिले ३ दशकबढी अनागरिकका रुपमा जीवन बिताइसकेकी छिन् ।

‘मेरो जन्मभूमि र कर्मभूमि यही हो, तर नागरिकता नपाउने? मैले जन्मकै आधारमा पनि नागरिकता पाउनु पर्ने हो ? किन यस्तो अन्याय ?’, नागरिकताबिहीन रहेकी प्रीतिले काठमाडौं प्रेससँग भनिन्, ‘आफ्नो परिचय त हुनु प¥यो नि, नेपालमै जन्र्मे हुर्के पनि भारतीय पासपोर्ट लिन बाध्य भएँ ।’ त्यही पासपोर्टले उनी विदेश कार्यक्रममा जानुपर्ने उनको बाध्यता छ।

‘यहीँ जन्मेर लगभग दुई दशक नेपाली सांगीतिक क्षेत्रमा बिताइसक्दा पनि नेपाली हुन सकिनँ,’ प्रीतिले निराशा हुँदै भनिन्, ‘नागरिकता नभएकै कारण स–साना काममा पनि झन्झट खेल्नु परिरहेको छ। कुनै व्यवसाय गर्न पनि नपाइने अवस्था छ। तर, कर चाहिँ तिर्नुपर्छ। यो कस्तो नियम हो?

जन्मका अधारमा नागरिकता पाउन नसकेकी प्रीति अहिले नेपालकै बुहारी बनेकी छिन्। उनले गत जनवरीमा कमल भट्टसँग विवाह गरेकी छिन्। अब ७ वर्षपछि प्रीतिले अंगीकृत नागरिकता पाउने नयाँ कानुन बन्दै छ।  

पति कमल भट्टसँग गायिका प्रीति कौर

विवाह गर्दा पनि उनले समस्य झेल्नु पर्‍यो। सुरुमा कोर्ट म्यारिज गर्न खोजेकी थिइन्, तर काननुले नदिएपछि प्रीति र कमल परम्परा अनुसारकै विवाहमा फर्किए। ‘सुरुमा उहाँ (कमल)सँग कोर्ट म्यारिज गर्न खोजेको थिएँ, तर कोर्ट म्यारिज गर्न पनि दुवै नेपाली नागरिक हुनुपर्ने रहेछ, मसँग नागरिकता थिएन्,’ उनले भनिन्, ‘सरकारको नियम पालना गर्ने पर्‍यो, त्यसैले परम्पराअनुसार विवाह गर्‍र्यौं। रीतिरिवाज अनुसार चाहिँ जोसँग पनि विवाह गर्न हुने, यो पनि विरोधाभास छ।’

जन्मकै आधारमा पनि नागरिकता पाउनुपर्ने हो, तर प्रीतिले त्यो पाइनन्। नागरिकतासम्बन्धि अहिले जुन कानुन बनाउन लागिएको छ त्यसले झन अन्याय हुने उनको तर्क छ। सरकारको ‘नेपाली केटाले विदेशी महिला विवाह गरे ७ वर्ष पछि नागरिकता दिने, नेपाली महिलाले विदेशी पुरुषसँग विवाह नदिने’ नीतिले महिलालाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको प्रीति बताउँछिन् ।

‘म न राजनीति गर्ने, न सरकारी जागिर गर्ने हो । एउटा साधारण नागरिक भएर बाच्न खोज्दा पनि यस्तो हुन्छ’, उनले अनागरिक बन्नुको पीडा पोखिन्।

नेपाल र नेपालीलाई उनी निकै माया गर्छिन्, त्यही भएर अन्य देशका राम्रो अवसरलाई छाडेर यहीँ संघर्ष गरिरहेकी छिन्। ‘नेपाल एकदमै प्यारो लाग्छ, त्यसैले अमेरिका सेटल हुने अवस्था हुँदाहुँदै पनि यहीँ छु,’ प्रीतिले भनिन्, ‘जहाँ गए पनि यहीँ फर्कन मन लाग्छ। यहाँको प्रकृती र नेपालीको मायाले तानिरहन्छ।’

प्रीतिलाई अहिलेसम्म जति सिकेकी छिन् यहीँ सिकेकी छिन्। उनले प्रशस्तै माया पनि पाएकी छिन्। प्रीति नेपालीसँग नेपाली भएरै माया साट्न चाहन्छिन्। सायद, अब ७ वर्षपछि प्रीतिको त्यो इच्छा पुरा होला।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्