Kathmandu Press

महामारीमा रंगमञ्चको विकल्प खोज्दै रंगकर्मी

काठमाडौ, असार ७ : कोरोना भाइरसको महामारी फैलिएसँगै लागू गरिएको लकडाउनले कला क्षेत्र अस्तव्यस्त छ। अझ

महामारीमा रंगमञ्चको विकल्प खोज्दै रंगकर्मी

काठमाडौ, असार ७ : कोरोना भाइरसको महामारी फैलिएसँगै लागू गरिएको लकडाउनले कला क्षेत्र अस्तव्यस्त छ। अझ त्यसमा पनि रंगमञ्च त ठप्प छ। पुनः रंगमञ्च कहिले रंगिन होला? वा यसको विकल्प मिल्ला?

नेपाली रंगकर्मी यस्तैयस्तै प्रश्न आफैलाई गर्न थालेका छन्। उनीहरुको मनमा फेरि रंगमञ्च पुरानै लयमा कहिले फर्किएला, पहिलेजस्तै काम गर्न सकिएला र भन्ने प्रश्न उठ्ने गरेका छन्।

हुन पनि रंगमञ्ज यस्तो क्षेत्र हो, जहाँ प्रत्यक्ष मानिसको जमघट नभई निन्तरता दिन सकिँदैन।  थिएटर मल कीर्तिपुरका संस्थापक, निर्देशक तथा रंगकर्मी केदार क्षेष्ठ अहिलेको अवस्थामा कसरी काम गर्ने भन्ने निक्र्यौल गर्न नसकेको बताउँछन्। ‘थिएटर मल वरिपरी घाँस र झारले भरिन थालेको छ,’ श्रेष्ठ भन्छन्, ‘रंगमञ्च भनेकै कलाकार र दर्शकको जमघटले पूर्णता पाउने काम हो । दर्शक आउने स्थिति नबन्दासम्म त कसरी रंगमञ्चले पूर्णता पाउला र!’

Hardik ivf

उनको ठम्याईमा यो वर्ष रंगमञ्च शून्य प्रायः हुन्छ। रंगकर्मीले काम गरेपनि दर्शक नआउँदासम्म नाटकले सार्थकतका पाउँदैन। कला साहित्यका क्षेत्रका रंगमञ्च सिंधै दर्शकसँग जोडिएर मात्र अघि बढ्ने भएकाले मर्कामा परेको बताउँदै उनी थप्छन्, ‘अहिलेको स्थिति हाम्रो नियन्त्रणमा छैन। त्यसैले जबसम्म दर्शकको मनबाट कोरोना चिन्ता घट्दैन, तबसम्म लकडाउन खुलेपनि केहि गर्न सकिने स्थिति छैन।’

लामो समय यस्तै अवस्था रहँदा रंगकर्मी पलायन हुनसक्ने उनको चिन्ता छ। उनी रंगमञ्चको विकल्पको रुपमा सोच्न थालेका छन्, भर्चुअल। उनी भन्छन्, ‘अरु विधाका लागि त भर्चुअल माध्यम पनि विकल्प छ, तर नाटकका लागि त गाह्रो छ किनकि नाटक प्रत्यक्ष हेरिन्छ।’

वरिष्ठ कलाकार निशा शर्माको दैनिकी पनि आाजभोलि नाटकसँग खासै जोडिन सकेको छैन। उनी पनि तत्काल रंगमञ्च सञ्चालनमा आउन गाह्रो हुने बताउँछिन्। नेपालम कोरोना संक्रमण झनझन बढिरहेकाले स्वास्थ्यलाई नै सबैभन्दा महत्व दिनुपर्ने उनको भनाइ छ।

यद्यपि उनका बाहिरका साथीहरुले भने घरमै बसेर भएपनि नाटक बनाउन सुझाव दिने गरेका छन्। कतिपयले नाटक बनाएर पठाऊ पनि भनेका छन्।

यस्तो वेला रंगमञ्चको विकल्पबारे सोच्न थालेकी छन् उनी। लामो समयदेखि रंगमञ्चमै रमाउँदै आएकी शर्मा भन्छिन्, ‘अहिलेको अवस्थामा रंगमञ्जलाई अर्को विकल्पका रुपमा कसरी लैजान सकिन्छ भनेर साथीहरुसँग छलफल त हुन्छ, तर यसरी नै लैजान सकिन्छ भन्ने यकीन हुनसकेको छैन।’

लामो लकडाउनले ठप्प रंगमञ्च फेरि लयमा आउन समय लाग्नेछ। लकडाउन खुलेपनि दर्शक निर्धक्क भएर नाटक हेर्न आउन मुस्किल हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘अहिलेका अवस्थामा विकल्पको रुपमा युट्युब तथा अन्य सञ्चारका माध्यम प्रयोग गर्न सकिन्छ कि । अब  सोच्नुपर्छ।’

शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीलाई कोरोना संक्रमण र लकडाउनको अवधि थपिएसँगै चिन्ता पनि बढ्न थालेको छ। शैली थिएर सञ्चालन गर्दा डेढ लाख खर्च भएकाे छ। त्यसकाे कसरी जोहो गर्ने भन्ने चिन्ता बढिरहेको उनी बताउँछन् ।

तैपनि उनी रंगमञ्चको विकल्पबारे सोच्न थालेका छन्। ‘अहिलेको अवस्थामा रंगमञ्च र कोरोना ठ्याकै विपरित भएको छ। कोरोना मानिसको नजिक भइरहेको छ। रंगमञ्चले दूरी पालन गर्नुपर्ने स्थिति छ,’ बुढाथोकी भन्छन्, ‘यस्तो बेला विकल्पमा पनि सोच्नुपर्छ।’

उनी भर्चुअल माध्यम प्रयोग गर्न सकिने बताउँछन्। यसका लागि उनले लकडाउको समयमा पनि दर्शकसँग जोडिने कोसिस गरेका छन्। ‘विश्व बाल कविता महोत्सव’ आयोजना गरेर हौसला पाएका उनी अहिले निबनध प्रतियोगिता आयोजनामा तल्लिन छन्।

युवा पुस्ताले मिडियालाई कसरी बुझिरहेका छन् भनेर अनलाइनमार्फत निबन्ध प्रतियोगितामा भाग लिन आह्वान गरिरहेका उनी रंगमञ्चबारे पनि सोच्नुपर्ने बताउँछन्। ‘अहिलेको अवस्थामा रंगमञ्चको विकल्पका रुपमा भर्चुअल माध्यमलाई प्रयोग गर्न सकिन्छ कि। प्रयास गर्नुपर्छ,’ रंगकर्मी बुढाथोकी भन्छन्।

यस्तै लेखक तथा निर्देशक प्रदीपकुमार चौधरी भने अहिले स्थितीमा लेखक कार्य गर्न सकिन्छ कि भन्ने लागेका छन्। उनी भन्छन्, ‘सरकारले लकडाउनलाई किस्ताबन्दिमा खोलेपनि यसको प्रभाव भने लामो समयसम्म परिहन्छ। अहिलेको अवस्थामा सबैलाई प्रभाव परेकाले मानसिक तनावलाई कसरी हटाउन सकिन्छ भनी भर्चुल छलफलमा गरिरहेकाछौं।’ सबैमा सामाजिक, शारिरिक तथा मानसिक अप्ठ्यारो परिरहेको उनको बुझाइ छ।

मण्डला थिएटरमा दुई महिने प्रशिक्षण कक्षा सञ्चालन गरिरहेका थिए। तर, एक महिनाको कक्षा सकिँनै लाग्दा लकडाउन भयो। त्यसपछि विद्यार्थी तितरवितर भएको बताउँदै उनी अहिले अनलाइनमार्फत अबका दिनमा के कसरी काम गर्न सकिन्छ भनी सम्झाउने गरेका छन्। यस्तोवेला रंगमञ्चका लागि पनि भर्चुअल माध्यम प्रयोग गर्नसकिन्छ भन्ने उनलाई लाग्दै छ।

यतिवेला कोरोना र लकडाउनले सबै रंगकर्मी मर्कामा परेका छन्। दर्शकलाई तान्न सफल भइरहेको रंगमञ्च अब कहिले पुरानै लयमा फर्किएला एकीन भन्न सकिने अवस्था छैन। त्यसैले महामारीको समयमा विकल्प खोज्नुपर्ने रंगकर्मीहरु बताउँछन्।

प्रकाशित मिति: १०:१० बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्