Kathmandu Press

सुमेघले तीन उडानमा गैरकानूनीरुपमा लियो २ करोड ७१ लाख अतिरिक्त भाडा 

काठमाडौं, असार २ : राजधानीको सुमेघ टुर्स एण्ड ट्राभल्सले जापानका लागि गरेको चार्टर्ड फ्लाइटबाट यात्र

सुमेघले तीन उडानमा गैरकानूनीरुपमा लियो २ करोड ७१ लाख अतिरिक्त भाडा 

काठमाडौं, असार २ : राजधानीको सुमेघ टुर्स एण्ड ट्राभल्सले जापानका लागि गरेको चार्टर्ड फ्लाइटबाट यात्रुसँग कानून विपरित २ करोड ७१ लाख रुपैयाँ अतिरिक्त भाडा असुलेको पुष्टि भएको छ। 

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको समयमा सुमेघले भिसा र रोजगार अनुमति पाएका नेपालीहरुलाई जापान लैजाने भन्दै काठमाडौंबाट जापानको नारिता विमानस्थलमा चार्टर्ड उडान गरेको थियो। 

लकडाउनको अवधिमा गरेको तीन वटा चार्टर्ड उडानबाट मात्रै सुमेघ ट्राभल्सले यात्रुसँग नेपाल वायु सेवा निगमसँगको सम्झौता उल्लंघन गर्दै अनाधिकृतरुपमा २ करोड ७१ लाख ९ हजार ८० रुपैयाँ भन्दा बढी भाडा असुलेको देखिएको छ। 

Hardik ivf

गत मे महिनामा जापानका लागि तीन वटा चार्टर्ड उडान गरेको सुमेघ ट्राभल्सले नेपाल वायु सेवा निगमको ए ३३०–२०० वाइडवडी विमान चार्टर्ड गरेको थियो। निगमको उक्त वाइडवडी जहाज २ सय ७० सिट क्षमताको हो। चार्टर्ड उडानमा सुमेघले इकोनोमी सिटका लागि यात्रुसँग १ लाख ४५ हजार रुपैयाँ लिएको थियो। 

(भौचार हेर्नुहोस) 

एक जना यात्रुले जापान चार्टर्ड उडानमा टिकट किन्दा एक लाख ४५ हजार रुपैँयाँमा सुमेघको खातामा जम्मा गरेको बैक भौचर र टिकट

निगमसँग सुमेघले प्रति उडान प्रति घण्टा ५ प्रतिशत एजेन्सी कमिसनसहित १७ हजार २ सय ८० अमेरिकी डलरमा सम्झौता गरेको थियो। निगमले जापानको नारिताका लागि राउण्ड ट्रिपको उडान अवधि १४ घण्टा ३० मिनेट तोकेको छ। एउटा चार्टड उडानका लागि सुमेघले निगमलाई २ लाख ५० हजार ५ सय ६० अमेरिकी डलर तिर्नेगरी उडान सम्झौता गरेको देखिन्छ। जुन त्यो बेलाका नेपाली विनिमय दर अनुसार ३ करोड ५ लाख ६८ हजार ३ सय २० रुपैयाँ हुन आउछ। तर यो रकममा सुमेघले ५ प्रतिशत अर्थात १५ लाख २८ हजार ४ सय १६ रुपैयाँ प्रति उडान कमिसन पाउछ।  

तर सुमेघले इकोनोमि क्लासका यात्रुसँग १ लाख ४५ हजार प्रति यात्रु भाडा लिएर टिकट बेचेको थियो। वाइडवडी विमानको २ सय ७० सिट पुरै बुक भएको तीनै उडानमा सुमेघले बिजनेस क्लासका हिसाब नगर्दा पनि ३ करोड ९७ लाख ३० हजार रुपैयाँको टिकट बेचेको देखिन्छ। जुन रकम निगमसँग सम्झौता गरेकोभन्दा ९१ लाख ६१ हजार ६ सय ८० रुपैयाँ बढी हो। 

निमगले १० घण्टा भन्दा कम उडानका लागि चार्टर्ड गरे १० प्रतिशत र त्यो भन्दा बढी समयका लागि विमान चार्टर्ड गर्दा पाँच प्रतिशत कमिसन एजेन्सीहरूलाई दिने गरेको छ। एजेन्सीहरूले लिन पाउने यही नाफा रकम हो। तर सुमेघले ५ प्रतिशत कमिसन आएर पनि झण्डै ३० प्रतिशत बढी (३३ हजार ४६८ रुपैयाँ) शुल्क लिएको छ। जापानका लागि गरिएका चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सीले चार्टर्ड शुल्क र कमिसनसमेत जोडेर प्रतियात्रु १ लाख ११ हजार ५ सय ६४ रुपैयाँभन्दा बढि भाडा लिन पाउँदैनन्। 

ट्राभल एजेन्सीहरूले चार्टर्ड उडानमा महँगो शुल्क लिएको भन्दै छानबिन समिति गठन गरेको पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जेठ २९ गते जापानका लागि प्रतियात्रु ९ सय ३५ अमेरिकी डलर भाडा तोकेको छ। मन्त्रालयको यो निर्णयले पनि सुमेघले बढी भाडा असुलेको पुष्टि हुन्छ। 

यसमा बिजनेस क्लासको हिसाब जोडिएको छैन। सुमेघले बिजनेस क्लासको भाडा १८ सय ५० अमेरिकी डलर लिएको थियो। जुन त्यतिबेलाको डलर सटही रेट अनुसार २ लाख २५ हजार ७ सय रुपैयाँ हो।  यस्तै कार्गोको हिसाबसमेत यसमा जोडिएको छैन। 

२० प्रतिशत भन्दा बढि नाफा लिए १ वर्ष जेल 

कुनै पनि वस्तु बिक्री वितरण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए कालोबजारी तथा केही अन्य सामाजिक अपराध सजाय ऐन, २०३२ अनुसार कारवाही हुने प्रावधान छ। 

यो ऐनले लागतको २० प्रतिशतभन्दा बढि नाफा राखेर वस्तु तथा सेवाको बिक्री वितरण गरे एक वर्ष जेल र जरिवानाको व्यवस्था गरेको छ।  जबकी सुमेघले यात्रुसँग तोकिएको मूल्य भन्दा ३० प्रतिशत बढी भाडा असुलेको छ भने ५ प्रतिशत एजेन्सी कमिसन पनि लिएको छ।

उक्त ऐनको दफा ३ अनुसार नेपाल सरकारले तोकेको कुनै पनि माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन भन्दा बढी लिए त्यो ‘नाफाखोरी’ ठहर्ने उल्लेख गरेको छ। 

‘नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ,’ ऐनको दफा ३ (१) मा भनिएको छ। 

सुमेघ ट्राभल्र्सले कमिसनसहित ३५ प्रतिशत नाफा र कोरोनाको महामारीको लाभसमेत उठाएर यात्रुलाई भाडा तिर्न बाध्या पारेको देखिन्छ। 

जापानमा अलपत्र यात्रु भन्छन्– विमान रित्तै फर्कियो, हामीलाई हेरिएन

नेपालबाट यात्रु बोकेर जापान पुगेका निगमका जहाज फर्कँदा भने रित्तै फर्कियो। नेपालबाट महँगो शुल्कमा यात्रु ल्याउने र नेपाल फर्कँदा रित्तै फर्किँदा जापानमा अलपत्र परेका नेपालीको मन भने कुँडिएको छ। 

चार महिनादेखि जापानमा रोकिएका गुल्मीका विमल खरेल आफुहरुले चार्टर्ड फ्लाइटमार्फत नै नेपाल आउन चाहेको भएपनि दुतावासले सहयोग नगरेको गुनासो गरे। ‘उताबाट महँगो भाडा लिएर आएको चार्टर्ड फ्लाइट रित्तै फर्कियो। यताबाट पनि यात्रु लिएर जाँदा भाडा अलि कम पथ्र्यो,’ उनले भने, ‘हामी चार्डर्ट फ्लाइटमार्फत नै फर्कन चाहान्थ्यौं। तर, न दुताबासले सहयोग गर्‍यो, न ट्राभल्स एजेन्सीले नै वास्ता गरे।’

उनी चार महिना अघि एक महिनाका लागि भिजिट भिसामा जापान पुगेका थिए। तर, कोरोनाका कारण गरिएको लकडाउन र अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण जापानमै रोकिएका छन्। ‘लामो समय यहाँ बस्दा समस्या भएको छ। तर, हामीले पहल गर्दा पनि सरकारले आफ्नो नागरिक जस्तो व्यवहार नै गरेन,’ उनी भन्छन्, ‘खाली विमान फर्काउनुभन्दा हामीलाई लगिदिएको भए कसको के जान्थ्यो?’ 

उनका अनुसार विभिन्न काम र घुम्नका लागि जापान गएका र अलपत्र परेका ९ सय ५० जना नेपाली विभिन्न सहरमा छन्। 

‘सरकारले तोकेको १ लाख १३ हजार, फुकईदेखि टोकियोसम्म जान ३० हजार, पीसीआर टेस्टको करिब १२ हजार र होटलमा बस्नुपरे थप पैसा लाग्छ, कसरी म्यानेज गर्ने?,’ उनले भने, ‘एकजनाको कम्तीमा २ लाख खर्च हुने देखियो। सरकारले ढाड सेक्यो, कसलाई सुनाउने, के भन्ने!’
 

प्रकाशित मिति: २०:२४ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्