सभामुख एकाएक एक्साइटेड !
काठमाडौं, जेठ ३१ : प्रतिनिधसभाले शनिबार ऐतिहासिक निर्णय गर्यो। भारतले अतिक्रमण गरेको लिम्पियाधु

काठमाडौं, जेठ ३१ : प्रतिनिधसभाले शनिबार ऐतिहासिक निर्णय गर्यो। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको अनुसूचीमा समावेश गर्न सरकारले पेश गरेको संविधान संशोधन सर्वसम्मतीले पारित भयो। सत्तापक्ष र प्रतिपक्षीको अभूतपूर्व एकता संशोधन विधेयकमा देखियो।
त्यसकै परिणामस्वरुप शनिबारको बैठकमा उपस्थित २५८ सांसदले संशोधनको पक्षममा मतदान गरे। देशको सीमाको विषयमा नागरिक कति संवेदनशिल हुन्छन्। त्यसको उदाहरण संविधान संशोधनको प्रस्ताव पारित गरेको घोषणा गर्दा सभामुख अग्नि सापकोटामा देखिन्थ्यो।
मत विभाजनको परिणाम घोषणा गरिरहँदा सभामुख सापकोटा आफ्नै लयमा थिए। उनी सामान्य ढंगले नै प्रस्तुत भइरहेका थिए। उनी भन्दै थिए, ‘आजको मतदानका उपस्थित माननीय सदस्यहरुको संख्या २५८ रहेको छ। नेपालको संविधान दोस्रो संशोधन विधेयक– २०७७ लाई पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २५८ मत प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा शुन्य मत र मत दिन्न भन्ने पक्षमा शुन्य मत परेको छ। नेपालको संविधान संविधान दोस्रो संशोधन विधेयक–२०७७ प्रस्तावको पक्षमा २५८ मत परेको र उक्त संख्या प्रतिनिधीसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या २७५ को दुई तिहाई बढी मत भएकाले नेपालको संविधानको दोस्रो संशोधन विधेयकलाई पारित गरियोस भन्ने प्रस्ताव दुई तिहाई बहुमत भन्दा बढी मतबाट...।’ जब मतबाट भन्दा अघिल्लो घोषणा गर्ने अवस्था आयो सभामुख सापकोटा एकाएक ‘एक्साइटेड’ भए। उनको अनुहारमा एक्कासी चमक बढ्यो । सालिन पाराले बोलिरहेका उनको व्यवहार अलि फरक देखियो। लगभग चिच्याएको शैलीमा उनले भने, ‘...पारित भएको घोषणा गर्दछु।’
संशोधन विधेयक पारित हुँदा उनमा अलग्गै हर्ष देखिन्थ्यो। त्यो उनले रोक्न सकेनन्। संशोधन विधेयकमा मतदान हुन अघि नै सत्तारुढ दल नेकपासँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका थिए। प्रतिनिधिसभाबाट विधेयक पारित हुने निश्चित नै थियो। जुन कुरा सभामुखलाई थाहा नहुने कुरै थिएन्। तर, पनि मत विभाजनको औपचरिक घोषणा गर्दा भने उनी निकै उत्साही भए।
उनले विधेयक पारित भएको घोषणा भएपछि सांसदहरुले तालीको गडगडाहट बर्साए। ताली बजिरहँदा सापकोटाको नजर एकटकले सांसदहरु तर्फ थियो। तालि बज्ने क्रम रोकिएपछि सापकोटाले प्रतिनिधीसभाको अर्को बैठक आइतबार ११ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गरे। र, बिदा भए।











