प्रधानमन्त्रीकी निजी चिकित्सक सिंहलाई डिन बनाउन आईओएममा ‘ग्राण्डी टिम’ !
काठमाडौं, जेठ २८ : त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) महाराजगञ्जको डिन नियुक्तिका लागि बन

काठमाडौं, जेठ २८ : त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) महाराजगञ्जको डिन नियुक्तिका लागि बनाइएको सर्च कमिटीमा वरिष्ठताको १७ औं नम्बरमा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहलाई नियुक्त गर्ने गरी निजी अस्पताल ग्राण्डीका चिकित्सकहरु राखिएको छ।
प्रधानमन्त्री ओलीले यसअघि नै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई शाहलाई डिन नियुक्त गर्न निर्देशन दिएपछि उनको अनुकूलताको सर्च कमिटी गठन गरिएको हो।
त्रिवि नियमावलीमा उपकुलपतिले गठन गर्ने सर्च कमिटीले वरिष्ठताका आधारमा सिफारिस गरेका तीन जनामध्ये एक जनालाई डिन नियुक्त गर्न सकिने प्रावधान छ। बाँस्कोटाले गठन गरेको उक्त सर्च कमिटीमा डा. प्रेमराज ज्ञवाली, डा. सुवास आचार्य र डा. जीवन शेरचन छन्।
याे पनि : प्रधानमन्त्रीकी निजी चिकित्सक डा. सिंहलाई आईओएमको डिन बनाउने तयारी
.jpg)
ज्ञवाली प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सक हुन्। उनलाई ओलीले आफ्नो शल्यक्रिया सफल भए लगत्तै एक महिनाअघि डा. दिव्याकै सिफारिसमा मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेका छन्। डा. ज्ञवाली र शाह दुवै जना ग्राण्डी अस्पतालमा कार्यरत छन्। ज्ञवाली ग्राण्डीका लगानीकर्ता समेत हुन्।
सर्च कमिटीमा परेका डा. आचार्य आईओएमका कनिष्ठ प्राध्यापक हुन्। उनले पनि प्रधानन्त्री ओलीको उपचारमा आईसीयू इञ्चार्जको रुपमा सेवा गरेका थिए। डा. आचार्य पनि ग्राण्डी अस्पतालमा कार्यरत छन्। सर्च कमिटीका अर्का सदस्य शेरचन भने केही वर्षअघि शिक्षण अस्पतालबाट अवकाशप्राप्त चिकित्सक हुन्।
केही प्राध्यापकहरुले भने अवकाश लिएकालाई सर्च कमिटीमा राखिनु कानून र विगतको परम्परा विपरीत भएको पनि बताउँदै आएका छन्। आईओएमका एक प्राध्यापक डा. दिव्या सिंहले आफू जसरी पनि डिन हुने गरी सर्च कमिटी आफैँले बनाएको दाबी गर्छन्।
‘डिन नियुक्त गर्न सिफरिस गर्ने सर्च कमिटी अलि वरिष्ठ प्राध्यापकलाई राखेर बनाउनुपर्ने हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘तर दिव्या सिंहले आफूले भनेको मान्नेलाई सर्च कमिटीमा राखेर नियुक्त हुनुअघि नै आफ्नो स्वार्थ देखाएकी छिन्।’
संस्थानका डिन डा. जगदिश अग्रवालले जेठ २२ गतेबाट अनिवार्य अवकाश पाएपछि नयाँ डिन नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। भर्खरै अवकाश लिएका अग्रवालले डा. दिव्या सिंहको सेटिङमा सर्च कमिटी बनेपछि सामाजिक सञ्जालमा डिन वरिष्ठताका आधारमा नियुक्त हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। वरिष्ठताका आधारमा डा. सिंह १७ औंँ नम्बरमा छन्।
‘आईओएम डिन सिफारिस गर्ने समिति र सिफारिसमा पर्न प्रयास गरिरहेकाहरु ग्रान्डी अस्पतालसँग जोडिएका छन्। यो त आफैँ बिरामी, आफैँ झाँक्री बने जस्तै भयो,’ आईओएमका एक प्राध्यापक भन्छन्, ‘वरिष्ठता मिचेर सिंहलाई नियुक्ति भए चर्को विरोध हुनेछ, त्यसलाई हामी स्वीकार गर्दैनौं।’
संस्थानमा वरिष्ठताका आधारमा ग्यास्ट्रो सर्जन प्रा. डा प्रदीप वैैद्य, प्रा. डा वाइपी सिंह र प्रा.डा सुशीलकुमार शिल्पकारमध्ये एक जनालाई डिन नियुक्त गर्नुपर्ने हुन्छ। उनीहरु तीनै जना २०६५ असोज २९ गते प्राध्यापकमा बढुवा भएका हुन्। त्यसपछि ०६५ कात्तिक १ गतेको बढुवाबाट प्रा.डा दीपक महरा लगायत र ०६५ चैत १९ गतेको बढुवाबाट मुटु रोग विशेषज्ञ प्रा.डा.भगवान कोइराला र प्लाष्टिक सर्जन प्रा.डा. ईश्वरचन्द्र लोहनी लगायत नियुक्त भएका हुन्।
सिंह भने २०७१ असोज २ गते अर्थोपेडिक विशेषज्ञ प्रा. डा. रोहित पोखरेलसँगै प्राध्यापकमा बढुवा भएकी हुन्।











