संसदमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन भयो : प्रधानमन्त्री ओली
काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएको र संविधान अनुसूचीमा राख्

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएको र संविधान अनुसूचीमा राख्न संविधान संशोधन भएको विषयमा कसैले जस पाउला भनेर चिन्ता गर्नु नपर्ने बताएका छन्। बुधबारको प्रतिनिधीसभा बैठकमा बोल्दै ओलीले संविधान संशोधन सर्वसम्वत निर्णय भएकाले जस कसैले लिन्छ की भनेर चिन्ता गर्न नपर्ने बताएका हुन्।
‘यो कसले जस लिने, कसको देवत्वकरण गर्ने भन्ने विषय होइन। लामो समयदेखि सबैले उठाएको विषय हो। कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन। सबैले सर्वसम्वत गरेपछि सबैका विचार र भावना समाहित छन्,’ उनले भने, ‘फराकिलो भावनाका साथ अघि बढिरहेका छन्। त्यसका लागि सर्वपक्षिय बैठकका परामर्श, जनस्तरमा देखिएका भावना अनुसार नै अघि बढाइएको हो।’
मंगलबारको बैठकमा संविधान संशोधन प्रस्ताव पारित भएको भन्दै ओलीले अभूतपूर्व राष्ट्रिय एकता देखिएको बताए। ‘हिजोको सभामा जुन दृश्य देखियो। त्यो अभूतपूर्व छ। दलिय व्यवस्थामा, संसदीय व्यवस्थामा राष्ट्रिय एकताका परिस्थितीहरु कहिले–कहिले मात्रै देख्न पाइन्छ। तर, हाम्रो संसद यस मामलामा अत्यान्तै गम्भीर छ,’ उनले भने, ‘राष्ट्रिय समस्याहरुसँग जुध्न, राष्ट्रका सामु आएका साझा चुनौतीहरुको सामना गर्न हाम्रो संसद जिम्मेवार छ। एकतावद्ध ढंगले अघि बढ्न सक्छ। सिंगो देशलाई एकताबद्धरुपमा हाक्न तयार छ भनेर देखाएको छ। सबै संसदमा उपस्थित राजनीतिक दलहरु, सम्पूर्ण माननिय ज्यूहरु प्रति धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु। संसद बाहिर पनि एकता प्रकट भएको छ। खुसी व्यक्त गर्न चाहान्छु।’











