क्यानले रोक्न निर्देशन दिएपनि धमाधम चार्टर्ड उडान गर्दै ट्राभल एजेन्सी
काठमाडौं, जेठ २६ : नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निर्देशन विपरीत ट्राभल एजेन्सीहरुले नेपा

काठमाडौं, जेठ २६ : नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) को निर्देशन विपरीत ट्राभल एजेन्सीहरुले नेपाल एयरलाइन्सका विमान चार्टर्ड गरी धमाधम उडान गरिरहेको पाइएको छ।
अन्तर्राष्ट्रिय उडानका नाममा ट्राभल एजेन्सी र एयरलाइन्सहरुले मनपरी भाडा असुल्न थालेपछि आइतबार क्यानले कूटनीतिक नियोगमार्फत हुने उडानबाहेकलाई चार्टर्ड गर्न रोक लगाएको थियो।
तर, ट्राभल एजेन्सीहरुले क्यानको निर्देशन विपरीत चार्टर्ड फ्लाइट जारी राखेका छन्। सोमबार साँझमात्रै नेपाल एयरलाइन्सको वाइडबडी जहाजले जापानको नारिता उडान भरेको छ। यो उडान सिरिन ट्राभल्सले चार्टर्ड गरेको हो।
यस्तै, मंगलबार नेपाल एयरलाइन्सकै जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरा उडान गर्न लागेको छ। क्यानबेरा उडान बोन ट्राभलले निगमको वाइबडी जहाज चार्टर्ड गरेको छ। यसअघि बोन ट्राभलले अष्ट्रेलियाको सिड्नी र मेलवर्नमा पनि चार्टर्ड उडान गरेको थियो।
जुन १४ (जेठ ३२) मा सुमेग ट्राभल्सले फेरि जापानका छैटौं चार्टर्ड उडान गर्दैछ। सुमेगले जेठ ३२ गतेको नारिता उडानका लागि टिकट समेत विक्री सुरू गरिसकेको छ। क्यानले भने निर्देशनपछि जारी भएका चार्टर्ड उडान गर्नेलाई कारवाही गर्ने जनाएको छ।
यता नेपाल वायु सेवा निगमले भने आइतबार र सोमबार भएका चार्टर्ड उडान गैरकूटनीतिक भएको विज्ञप्ति नै जारी गरेर जनाएको छ। ‘जुन ४ र ७ मा ट्राभल एजेन्सीमार्फत उडान भएको हो। यसमा जापानी दूतावासको कुनै संलग्नता छैन,’ निगमले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पर्यटनमन्त्री योगेश भट्टराईको संरक्षणमा ट्राभल एजेन्सीहरुलाई खडा गरेर चर्को शुल्क लिने गरेको आरोप लाग्दै आएको छ। ती ट्राभल एजेन्सीहरुले चार्टर्ड उडानमा यात्रुसँग तोकिएको भाडाभन्दा तीन गुणा बढी रकम असुल्ने गरेका छन्।
के भन्छ क्यान?
कूटनीतिक नियोगले गर्ने चार्टर्डबाहेकका अन्य चार्टर्ड उडान नगर्न निर्देशन दिएको क्यानले भने निर्देशनपछि जारी गैरकूटनीतिक उडानहरु कारवाहीमा पर्ने जानाएको छ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले पहिले नै तय भएकाले चार्टर्ड उडानलाई अनुमति दिइएको तर क्यानको निर्देशनपछिका उडान कारवाहीको दायरामा आउने बताए। ‘मन्त्रालयको अर्को निर्देशन नआएसम्म ट्राभल एजेन्सीमार्फत चार्टर्ड उडान गराउन मिल्दैन,’ क्षेत्रीले भने, ‘निर्देशनपछि जारी उडानलाई नियम अनुसार कारवाहीको प्रक्रियामा लगिन्छ।’
उनले जापानको लागि जेठ ३२ गतेका लागि तय भएको उडान एजेन्सीमार्फत भएको भए निर्देशन विपरीत हुने बताए। ‘जेठ ३२ गतेको उडान एजेन्सीले गरेको भए क्यानको निर्देशन विपरीत हुन्छ’ क्षेत्रीले भने, ‘त्यसबारेमा मलाई विस्तृत जानकारी छैन।’











