Kathmandu Press

सरकारको विभेद : हवाई मार्गबाट आएकालाई सम्मान, सडकबाट आएकालाई अपमान !

काठमाडौं, जेठ २६ : विदेशबाट सडक र हवाई मार्गबाट स्वदेश फर्किएका नागरिकमाथि सरकारले विभेद गरेको देखिए

सरकारको विभेद : हवाई मार्गबाट आएकालाई सम्मान, सडकबाट आएकालाई अपमान !

काठमाडौं, जेठ २६ : विदेशबाट सडक र हवाई मार्गबाट स्वदेश फर्किएका नागरिकमाथि सरकारले विभेद गरेको देखिएकाे छ। लामो समयसम्म विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउँदा सरकारले हवाई मार्ग र सडक मार्गकाे आधारमा विभेद गरेको देखिएकाे हाे।  

लकडाउनको कारण भारतको विभिन्न ठाउँबाट पैदल सीमासम्म आइपुगेका नागरिकलाई सरकारले एक बोतल पानी समेत दिएको छैन। तराईको प्रचण्ड गर्मीमा सेकिएर बसेका नागरिकालाई वेवास्ता गरेको सरकारले हवाई उडानमार्फत उद्धार गरेका नागरिकलाई सुविधा सम्पन्न स्थानको व्यवस्था गरेको छ।

शनिबार मात्र म्यानमार र यूएईबाट नेपाल ल्याइएका नेपालीलाई सरकारले विमानस्थलबाटै विषेश बसमा राखेर सुविधा सम्पन्न होल्डिङ सेन्टरमा पुर्याएको छ। विमानस्थलमा ओर्लिएका नागरिकलाई फूलको गुच्छाले स्वागत गर्न सक्ने सरकारले भारतबाट सीमासम्म पैदल आएका नागरिकलाई स्वदेश प्रवेश गर्न नदिएर अपमान गरेको छ।

Hardik ivf

सरकारले नागरिकमाथि गरेकाे यस्तो व्यवहार धनी र गरिब भएकै कारण देखिएको वैदेशिक रोजगार तथा अप्रवाशन विज्ञ डा. गणेश गुरुङ बताउँछन्। नागरिकबीच सरकारले देखाएको असमान व्यवहारले गरिब र धनी वर्गलाई प्रस्ट छुट्याइदिएको उनी बताउँछन्। 

‘कोरोनाले धनीलाई भन्दा गरिबलाई झन बढी असर गरेको देखिएको छ’ गुरुङले काठमाडौंप्रेससँग भने, ‘तर सरकारले धनी मानिस आउँदा फुलको गुच्छाले स्वागत गरेको छ, तर भारतीय सीमाबाट नेपाल आएका गरिब नागरिकलाई एक बोटल पानी पनि नदिएर अपमान गरेको छ।’

गरिबीकै कारण अन्य मुलुक जान नसकेका सीमा आसपास क्षेत्रका मानिस रोजगारीको लागि भारत जाने गरेका छन्। भारतमा कोरोना भाइरसको संत्रास बढ्न थालेपछि ठूलो संख्यामा रहेका नेपाली पैदल नै स्वदेश फकिन थाले, तर रातदिन हिँडेर सीमासम्म आइपुगेको नेपालीलाई सरकारले नेपाल प्रवेश गर्न दिएन्। लामो समयसम्म सीमा क्षेत्रमा अलपत्र परेको नेपालीको उद्दार गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सरकारले बाध्य भएर नेपालीलाई स्वादेश प्रवेश गराएको छ।

स्वदेश फर्किएका लाखौं नारिकलाई सरकारले क्वारेन्टाइनकोे व्यवस्था गरेको छ। तर क्वारेन्टाइनमा राम्रो व्यवस्था गरेको छैन। भवनको क्षमता भन्दा बढी मान्छेलाई एकै स्थानमा कोचेर क्वारेन्टाइनलाई जनावरको लागि बनाइएको गोठ/खोर जस्तो बनाइएको छ। 

तर हवाई उडानमार्फत उद्धार गरिएका नागरिकमध्ये प्रदेश १ र २ का नागरिकलाई भने सरकारले भक्तपुरमा, वागमती, गण्डकी र ५ का नागरिकलाई काठमाडौंमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका सुविधासम्पन्न होटत तथा पार्टी प्यालेसमा राखेको छ ।

कडा रोगको निम्छरो परीक्षण

प्रधानमन्त्री केपी ओलीले संसद्मा बजेटको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा भारतमा फैलिएको कोरोना भाइरस अन्य देशको तुलनामा कडा प्रकारको रहेको बताएका थिए। प्रधानमन्त्री आफैले भनेको यस विषयमा उनी आफै विमुख देखिन्छन्। 

अहिले कोरोना संक्रमण सातै प्रदेशका प्रायः सबै जिल्ला पुगेर फैलिसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट आएका करिब एक लाख ६२ हजार नागरिक क्वारेन्टाइनमा छन्। प्रधानमन्त्री आफैले भारतमा फैलिएको कोरोना अन्य देशको तुलनामा कडा भनेर स्वीकारे पनि भारतबाट आएका नागरिकलाई कोरोना परीक्षणमा समेत विभेद गरिएको छ। 

महामारी बच्न घर फर्किएपनि सीमाबाट प्रवेश नपाएपछि दशगजा क्षेत्रमा अलपत्र परेका नागरिक ज्यानको बाजी थापेर महाकाली नदी पौडिएर पनि धमाधम आए। कोही रातसाँझ लुकेर नेपाल प्रवेश गरे।

ऋणको बोझले किच्न थालेपछि भारतको हरियाणा रोजगारीका लागि पुगेका जनकपुरका वीरेन्द्र यादवको १४ जेठमा निधन भयो। कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि उनी १७ दिनसम्म भोकै हिडेर दशगजा आइपुगेका थिए। सीमामा आइपुगेका यादवले नेपाल प्रवेश नपाउँदा त्यही ज्यान गयो।

त्यस्तै, शनिबार मात्रै कैलालीकी ५५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भयो। मृर्गौलाको रोगी रहेकी महिलाको आरडिटी परीक्षण गर्दा नेगेटिभ नतिजा देखाएको थियो। मृत्युपछि परिवारले महिलाको परम्परागत विधिबाट शवको दहासंस्कार पनि गरे। तर अस्पतालले मृतकको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको थियो। उनको परीक्षणको रिपोर्ट पोजेटिभ देखियो। अर्थात उनको मृत्यु कोरोना भाइरसको कारणले भएको पुष्टि भयो।

यी प्रतिनिधिमुलक घटना मात्रै हुन्। भारतबाट आएका यस्ता थुप्रै नागरिक लामो समयसम्म भारतको धार्चुलामा बसेर नेपालको दार्चुलामा रहेको घर टुलुटुलु हेर्न बाध्य भएका थिए। केहीले त घरमा बा आमाको मृत्यु खबर पाउँदासमेत किरिया गर्न जान पाएनन्। सीमामा भइरहेको यस्ता घटना सरकारी रवैया र विभेदकारी नीतिकै कारण भइरहेको वैदेशिक रोजगारका ज्ञाता गुरुङ बताउँछन्।

उनी सरकारले धनको आधारमा मानिसलाई वर्गिकरण गरेर असमान व्यवहार गरेको बताउँछन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार विभेदरहित राज्यको परिकल्पना गरेपनि धनीलाई माया गरेको र गरिबलाई वेवास्ता गरेको उनले बताए। ’नेपालको सन्दर्भमा रोजगारीका लागि धनी मान्छे बढी र कमजोर मान्छे कम तलब पाउनेमा देशमा गएको देखिन्छ। भारत जाने भनेको सबैभन्दा कम आय आर्जन गर्ने मान्छेहरु नै हुन्। धन कमाउन ’ङ’ ग्रुपका भारत जान्छ भने ’क’ ग्रुपका अमेरिका युरोपका देश जान्छन्,’ उनले भने,’चीनबाट समयमै सम्पूर्ण व्यवस्था सरकारले बेहोरेर नागरिकलाई ल्यायो, त्यहाँ धनी बर्गका नेपालीहरु पढ्न गएका थिए। खाडी मुलुकबाट आउनेहरुलाई पनि राम्रै सुविधा दिएको देखिएको छ। तर भारतमा नागरिकहरु मजदुरी गर्न गएका थिए, उनीहरुलाई महाकाली पारी नै राखियो।’ उनले गरिबहरुमा रोगमात्रै नभइ भोकले पनि सताएको अवस्थामा सरकारले देखाएको विभेद हेपाहपन भएको बताए।

महामारीको शिकार गरिब मात्र बन्दै गएको गुरुङ बताउँछन्। कोरोना मात्र गरिब केन्द्रीत नभई सरकारी हेपाहपन पनि गरिब केन्द्रीत नै देखिएको उनको बुझाई छ। यद्यपी भारतबाट आएका अधिकांश नागरिकमा संक्रमण पनि देखिएको छ। 

गरिब र निमुखाको पक्षमा हुनुपर्ने सरकार उल्टो दिशामा हिँडेको उनी बताउँछन्। सरकारी तहबाटै विभेदकारी नीति अपनाएर गरिब जनतालाई हेपेको उनको आरोप छ। 

सरकारले महामारीबाट बच्न गरेको व्यवस्थापन प्रति सत्तापक्षबाटै बिरोध भइरहेको छ। आइतबार राष्ट्रियसभाको बैठकमा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै क्वारेन्टाइनस्थल गोठ र जेल जस्तो भएको टिप्पणी गरेका थिए।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्