Kathmandu Press

पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट!

काठमाडौं, जेठ २५ : सरकारले लकडाउन गरेको झण्डै तीन महिनाको अवधिमा विभिन्न देशमा भएका चार्टर्ड फ्लाइटमा कानुन विपर

पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट!

काठमाडौं, जेठ २५ : सरकारले लकडाउन गरेको झण्डै तीन महिनाको अवधिमा विभिन्न देशमा भएका चार्टर्ड फ्लाइटमा कानुन विपरित तीन गुणाभन्दा बढि भाडा असुलेको भेटिएको छ।

सरकारले लकडाउन गरेसँगै अन्तराष्ट्रिय उडनमा प्रतिवन्ध लगाएपछि केही ट्राभल्स एजेन्सीहरुले त्यसको फाइदा उठाउदै चार्टर्ड विमान मार्फत व्यापारीक उडानभन्दा तीन गुणा महँगोमा टिकट बिक्रि गरेका हुन् । लकडाउन यता नेपाल वायुसेवा निगमको न्यारो र वाइडवडी विमान प्यासेन्जरका लागि १४ पटक र कार्गोका लागि ९ पटक विभिन्न देशका लागि चार्टर्ड भएका छन् ।

आइतबारसम्म मात्रै निगमका जहाजहरू जापानका लागि ७, हङकङका लागि ३, अष्ट्रेलियाका लागि २, दिल्लीका लागि एउटा, ढाका एउटा र चीनको हुवानमा २ वटा चार्टर्ड भएका छन्। वुहानको दुई उडान सरकारले लकडाउन अघि आफ्नै खर्चमा चार्टर्ड गरेको हो भने बाँकी १४ वटा चार्टर्ड उडानमा विभिन्न ट्राभल्स कम्पनीहरुले बुक गरेर चर्को शुल्कमा टिकट बेचेर चार्टर्ड गरेका हुन्।

Hardik ivf

सुमेग ट्राभल्सले जापानको लागि ५ वटा चार्टर्ड उडान गरेको छ । ती सबै उडानमा यात्रुहरुले एकतर्फी भाडा १ लाख ३६ हजार रुपैयाँदेखि ढेड लाख रुपैयाँसम्म तिरेका छन्। जबकी नियमित उडानमा जापानको टोकियो र नारिताको भाडा रकम नेपाली ४० देखि ५० हजार रुपैयाँ हो। सुमेगले निगमका ५ वटा विमान चार्टर्ड गरेर यात्रुबाट तीन गुणाभन्दा बढी भाडा असुलेको छ ।

त्यस्तै हार्भेस्ट मुन ट्राभल्सले हङकङको लागि दुई वटा विमान चार्टर्ड गरेको छ । उसले हङकङको एकतर्फी भाडा एक लाख प्रतिव्यक्ति रुपैयाँ लिएको थियो। जवकी हङकङको नियमित उडानमा एकतर्फी भाडा ३० हजारको हाराहारीमा छ ।

सिरिन ट्राभल्सले पनि जापानको लागि २ वटा निगमको जहाज चार्टर्ड गरेको थियो । उसले पनि नियमितभन्दा तीन गुणाभन्दा बढी भाडा असुलेर यात्रुसँग रकम असुलेको थियो। 

कानून अनुसार एजेन्सीहरुले निर्धारित मूल्यको २० प्रतिशत भन्दा बढी मूल्यमा टिकट बेच्न पाउँदैनन्। २० प्रतिशतभन्दा बढि नाफा राखेर टिकट बेचे कालोबजारी ठहर्छ। कालोबजारी गरेमा तीन बर्षसम्म जेल सजाय हुने विद्यमान कानूनी व्यवस्था छ। तर, लकडाउनको अवधिमा गरिएका चार्टर्र्ड फ्लाइटमा तोकिएको मूल्य भन्दा तीन गुणा बढीमा टिकट बेचिएको छ। तर, पर्यटन मन्त्रीको छहारीका कारण उनीहरुमाथि अनुगमन समेत हुन सकेको छैन।

‘निगमका जहाजहरू सिधै निगमलेनै चार्टर्ड गरेर लैजान सकिन्थ्यो’ निगमका एक निर्देशकले काठमाडौं प्रेससँग भने, ‘तर मन्त्रीले सेटिङ गरेकाले एजेन्सीलाई दिइएको छ। निगम टाटपल्टने र ट्राभल एजेन्सी मोटाउने खेलमा पुरै निगमको नेतृत्व पनि लागेको छ ।’

विभिन्न देशबाट नेपाल आएका र लकडाउनका कारण कार्यथलो (विदेश) जान रोकिएका यात्रुसँग मौकाको फाइदा उठाउँदै तेब्बर भाडा लिएर विमान चार्टर्ड गरिएको हो।

तीन हप्ता अघि सुमेग ट्राभल्सबाट जापान गएका एक यात्रुले आफुले १ लाख ४६ हजार रुपैयाँ तिरेको र त्यसको बिल समेत नपाएको काठमाडौं प्रेसलाई बताए । ‘म जसरी पनि जापान आउनै पर्ने थियो, १ लाख ४६ हजार रूपैयाँ सुमेग ट्रभल्सको खातामा जम्मा गरेको हुँ’ ती यात्रुले भने, ‘बिल माग्दा अहिलेसम्म पनि दिइएको छैन ।’

सुमेग ट्राभल्सका प्रवन्ध निर्देशक मेघ केसीले भने जापानका लागि प्रति यात्रु १ लाख ३६ हजार रुपैयाँ लिने गरेको स्विकार गर्दै बिल दिएको दावी गरे । ‘तीन वटा जापानको नारिताका लागि विमान चार्टर्ड गरेका हौं । प्रति यात्रु ११ सय अमेरिकी डलर लियाैं’ केसीले भने, ‘रसिद सबैलाई दिएका छौं, नलिएको प्रमाण ल्याए ट्राभल एजेन्सी नै बन्द गर्न तयार छु।’

चार्टर्ड उडानमा मन्त्रीको सिण्डिकेट

निगमका जहाज चार्टर्ड गर्न पर्यटनमन्त्री योगेश भट्टराईले तीन वटा ट्राभल्स एजेन्सीलाई मात्रै दिन निगम व्यवस्थापनलाई उर्दी गरेका छन्।

निगम स्रोतका अनुसार भट्टराईले जापानका लागि उडान गरेको सुमेग र सरिन र हङकङ उडान गरेको हार्भेस्ट मुनलाई मात्रै चार्टर्ड उडानको अनुमति दिन निर्देशन दिएका छन्।

निगमका विमान चार्टर्डमा बिचौलिया खडा गरेर कमिसनको खेल भइरहेको निगम स्रोत बताउँछ। जुन खेलमा पर्यटनमन्त्री भट्टराई नै सक्रिय छन्। मन्त्री भट्टराईले तीन ट्राभल्स एजेन्सीलाई बिचौलियाकारुपमा खडा गरेका छन्। भट्टराईले राम श्रेष्ठको हार्भेस्ट मुन, मेघ केसीको सुमेग र बिष्णु बस्नेतको सिसिन ट्राभल्स एजेन्सी बाहेकलाई चार्टरको अनुमति नदिन निर्देशन दिएको स्रोतको दावी छ।

हार्भेस्ट मुनका मालिक श्रेष्ठ यसअघि मलेसिया जाने कामदारसँग बढि शुल्क असुलेको आरोपमा पक्राउ परेर ३२ दिन हिरासतमा बसेका व्यक्ति हुन् । यद्यपी पछि उनले जिल्ला अदालत ललितपुरबाट सफाई पाएका थिए। 

विमान चार्टर्ड गर्दा विदेशस्थित नेपाली दूतावासँगको समन्वयमा निगम आफैंले गर्न सक्छ। तर, बीचमा कमिसन एजेन्ट खडा गरेर तीन गुणा बढी भाडा असुल्ने काम भइरहेको निगम स्रोत बताउँछ। स्रोतका अनुसार चार्टर्ड फ्लाइटमा मन्त्री भट्टराई र सचिव केदारबहादुर अधिकारी, सहसचिव तथा निगमका बोर्ड सदस्य बुद्धिसागर लामिछाने, निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे, कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल, अपरेशन डाइरेक्टर दिपु ज्वारचन लगायत संलग्न छन्।

निगमको चार्टर्ड उडानको भाडा कति हो ?

निगमले चार्टर्ड उडानका लागि वाइडवडीको १८ हजार १ सय प्रति घण्टा  र न्यारोवडीको ११ हजार ६ सय २० अमेरिकन डलर प्रतिघण्टा लिने गर्छ। कोटेशनमा पेश गर्ने यो रेटमा मन्त्रीले सिफारिस गरेको सुमेग, सिरिन र हार्भेस्ट मुनलाई भने विशेष छुट दिने गरेको निगम स्रोत बताउँछ।

निगमले जापानका लागि चार्टर्ड गर्दा १६ घण्टा ३० मिनेटको भाडा लिने गरेको छ । त्यस्तै हङकङको ९ घण्टा १० मिनेटको भाडा लिने गरेको छ ।   

वुहानका विद्यार्थी सित्तैमा, अन्यलाई चर्को शुल्क   

गत फागुन ४ गते चीनको वुहानबाट निगमको वाइडवडी जहाज चार्टर्ड गरी सरकारले १७५ जनालाई उद्धार गरी ल्याएको थियो। उनीहरुलाई सरकारले चीनबाट नेपालसम्म ल्याएको शुल्क लिइएको थिएन। चीनबाट ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाएको थियो। 

तर, एकै देशका नागरिकलाई सरकारले दुईथरी व्यवहार गरेको छ। भारतबाट घर फर्कने नेपालीलाई सिमा नाकामै दुव्र्यवहार भइरहेको घटना सार्वजनिक भइरहेका छन्। यस्तै अष्ट्रेलिया, मध्यपूर्व र गल्फमा काम गर्ने नेपालीका हकमा समेत सरकार अनुदार देखिएको छ। विदेशमा अध्ययन गरिरहेका र नेपाल आएर रोकिएका विद्यार्थीहरुलाई विचौलिया मार्फत महँगो शुल्क उठाइएको छ।  

 

प्रकाशित मिति: २१:३९ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्