Kathmandu Press

‘युएईबाट छुट्टी मनाउन आएको थिएँ, लकडाउनले काठमाडाै‌ंमा अलपत्र परेपछि हाेटलको छतबाट हाम फालें’

काठमाडौं, जेठ २५ : कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लामो लकडाउनका कारण उत्पन्न सकसले कतिपयला

‘युएईबाट छुट्टी मनाउन आएको थिएँ, लकडाउनले काठमाडाै‌ंमा अलपत्र परेपछि हाेटलको छतबाट हाम फालें’
सरिशा अछामी

काठमाडौं, जेठ २५ : कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लामो लकडाउनका कारण उत्पन्न सकसले कतिपयलाई मानसिक समस्या हुन थालेको छ। जसले गर्दा दैनिकी समस्यासँग जुध्न नसक्दा आत्महत्याको बाटो रोज्न थालेका छन्।

यस्तै मध्येका एक हुन्, दैलेखका २९ वर्षीय डम्बरबहादुर सुनुवार। लकडाउनले उनलाई पनि बाँच्न गाह्रो बनायो। जसले गर्दा उनले होटलको छतमा गएर हाम फाले।

उनी ६ वर्षदेखि युएईस्थित एक कम्पनी काम गरिरहेका थिए। उनलाई त्यो कम्पनी छोडेर अर्कोमा काम गर्न मन लाग्यो। ‘अर्को भिसा अप्लाई गरेँ, एक साता छुट्टी मिल्यो,’ डम्बरले भने, ‘छुट्टी मनाउन नेपाल फर्किएँ।’

Hardik ivf

गत २५ फागुन अर्थात मार्च ८ मा उनी युएईबाट एक साताका लागि स्वदेश फर्किका थिए। काठमाडौं ओर्लिएपछि नयाँ बसपार्कस्थित पोखरा गेस्ट हाउसमा बस्न थाले। ‘घर पुग्नका लागि धेरै समय लाग्ने भएकाले काठमाडौंमा नै बसेँ,’ उनले भने।

त्यहीबेला चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अन्य देशमा पनि देखिन थाल्यो। नेपालमा पनि सतर्कता अपनाउन अन्तर्राष्ट्रिय उडान बन्द गरियो।
त्यही बेला डम्बरको एक साताको छुट्टी पनि सकियो। ‘उडान बन्द भएपछि पनि होटलमै बसे। खुल्ला र जाऔंला भन्ने सोचिरहेको थिए,’ उनले भने।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि चैत ११ देखि लकडाउन सुरु भयो। त्यसपछि झन् समस्या भएको उनले बताए। ‘छुट्टी पनि सकियो, विदेश जान पाइनँ,’ डम्बरले भने, ‘यता नेपाल पनि लकडाउन भयो। घर पनि पुग्न पाइनँ। झन पीडा थपियो।’

उनी चैत महिनाभर होटलमै बसे। तर, लकडाउन थपिएपछि होटल पनि बन्द भयो। उनलाई होटल सञ्चालकले निस्किन आग्रह गरे। ‘लकडाउनका बेला होटलले निस्केर जा भनेपछि अप्ठ्यारोमा परेँ। केही सोच्नै सकिनँ,’ डम्बरले पीडा सुनाउँदै भने, ‘रोजगारी पनि गुम्यो। काठमाडौंमा चिनजानको आफन्त कोही थिएन। खल्ती पनि रित्तियो।’

होटलबाट त निस्कनु नै थियो। उनी कोठामा गएर लुगा प्याक गर्न थाले। ‘कहाँ जाने, के गर्ने सोच्नै सकिनँ। घरपरिवारको याद आउन थाल्यो,’ उनले भने।

घर जान पनि मन नलागेको उनले बताए। ‘घरपरिवार बाटो कुरिरहेका होलान, उनीहरुलाई के जवाफ दिने भन्ने मनमा खेल्न थाल्यो,’ डम्बरले भने, ‘कतै जाने ठाउँ नदेखेपछि हाेटलको दोस्रो तलामा गए। आँखा चिम्लेर हाम फालेँ।’

छाती भुइँमा बजारिएको याद छ। त्यसपछि के भयो उनलाई थाहा छैन।

होस आउँदा, स्वयम्भूस्थित भूमिखेलमा थिए। स्वयंसेवकहरुले उनलाई उठाएर उपचारका लागि ल्याएका थिए।

वैशाख २ गते बिहान काठमाडौं महानगरपालिका–१५ स्थित भूमिखेल टोल सुधार समितिकी सहसचिव सुकृति श्रेष्ठ विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई खाना खुवाउन हिँडिरहेकी थिइन्। उनले डम्बरलाई देखिन्।

डम्बर सडकमै सकिनसकि हिँड्न खोज्दै थिए। उनका पाइला मुस्लिकले चलिरहेका थिए। ‘खान, हिड्न र बोल्न सक्ने अवस्था नै थिएन। तर, कतै भोकले हो कि भनेर रेखदेख गर्‍यौं,’ सुकृति भन्छिन्।

बोल्न सक्ने भएपछि उनले युएईबाट आएको बताए। ‘उहाँले युएईबाट आएको भन्दा सुरुमा केही डर थियो। किनकि विदेशबाट आएकामा कोरोना संक्रमण देखिरहेको थियो,’ सुकृतिले भनिन्, ‘परीक्षण गरायौं। रिपोर्ट नेगेटिभ देखियो।’

रिपोर्टमा नेगेटिभ देखिएपछि वडा अन्तर्गतकै किङडोलस्थित स्वयम्भू ट्रयाडिसनल कन्फो ट्रेनिङ सेन्टरमा लगेर राखेको उनले बताइन्। उनका अनुसार अहिले डम्बरको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ।

सुकृति लगायत टोल सुधार समितिले आफ्नो ज्यान जोगाएकोमा डम्बर पनि खुशी छन्। ‘म केही सम्झिन सक्ने हुँदा भूमिखेल टोल सुधार समितिमा थिए,’ उनले भने, ‘अहिले ढाड र छात्ती दुख्छ। बस्न उठ्न केही समस्या हुन्छ। तर स्वास्थ्य अवस्थामा सुधार भएको छ।’

उनीहरुले नयाँ जिन्दगी दिएको डम्बर बताउँछन्। ‘मर्नका लागि हाम फालेको थिए। भूमिखेल टोल सुधार समितिका स्वयंसेवकले नभेटेको भए अहिले यो अवस्थामा हुँदैन थिएँ,’ डम्बर भन्छन्, ‘उहाँहरुले मलाई नयाँ जीवन दिनुभएको छ।’

अहिले उनी लकडाउन खुल्ने पर्खाइमा छन्। डम्बर भन्छन्, ‘सरकारले लकडाउन खोल्ने वितिक्कै घर जान्छु। परिवारलाई भेट्छु।’

प्रकाशित मिति: ११:४६ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्