लकडाउनले जर्मनीमा अड्किएका मूर्तिको नेपालमा झल्को
काठमाडौं, जेठ २४ : स्वदेशी तथा विदेशी पर्यटकको सधैँ चहलपहल रहने भक्तपुर दरबार स्क्वायर अचेल सुन
काठमाडौं, जेठ २४ : स्वदेशी तथा विदेशी पर्यटकको सधैँ चहलपहल रहने भक्तपुर दरबार स्क्वायर अचेल सुनसान छ। दरबारको गेटबाहिर नेवार बस्तीको पुरानो थलो खौमा चोक अनि वास्तुशास्त्रमा बनेका पुरानो घरहरु पनि उस्तै सुनसान छन्।
कयौं वर्षदेखिको इनारको पानी पनि २०७२ को भूकम्पपछि सुकेर अहिले रित्तो भएको छ। दरबार स्क्वायरबाट केही पाइला हिँड्नासाथ परम्परागत शैलीमा बनेको तर नयाँ घरमा पुग्दा जोकोहीका पनि पाइला रोकिन्छन्।
जुन वर्षौ पहिले निर्मित माटोको घर भर्खरै कुनै चित्रकारले क्यानभासमा सजायझैं देखिन्छ। त्यही बस्छन् ३६ वर्षीय इन्द्रप्रसाद शिल्पकार।
‘क्वाकी मकचा’ (ज्वलेरी बक्स)बाट काष्ठकला सिकेका इन्द्रप्रसादलाई सानैदेखि काष्ठकलाले लोभ्यायो। त्यसमै आफ्नो भविष्य खोजिरहेका उनलाई लामो समयपछि त्यो अवसर पनि मिलेको थियो। आफ्नो सपनाले साकार रुप लिन लागेकोले उनको खुशी चुलिएको थियो।
त्यही अवसर पछ्याउँदै उनी एकल काष्ठकला प्रदर्शनीका लागि गत चैतको दोस्रो साता जर्मनी उड्ने तयारीमा थिए। जर्मनीको भिसा पाइसकेका थिए। प्रदर्शनीमा राखिने ४० वटा मूर्ति जर्मनी पठाइसकेका थिए। आफ्नो कलाले अन्तर्राष्ट्रिय मञ्च पाउन लागेकोमा उनले गर्नुपर्ने तयारी सबै पूरा गरिसकेका थिए।
जर्मनीका लागि उड्न चार दिन मात्रै बाँकी थियो, चैत ११ मा देशभर लकडाउनको लागू भयो। त्यही लकडाउनले उनको विदेश यात्राको ढोका बन्द गरिदियो।
जर्मनका पाँच शहरमा झण्डै एक महिना एकल काष्ठकला प्रदर्शनी गर्ने कार्यक्रम तय गरिसकेका उनलाई लकडाउनले निराश बनायो। ‘भोलि दिनमा के होला, कस्तो होला भन्ने लाग्छ। आउने दिनमा काम पाइने हो कि हैन भन्ने चिन्ता लागेको छ,’ इन्द्रप्रसाद निराश हुँदै भन्छन्।
अध्ययन सकेर पुख्र्यौली पेशामै जीवन समर्पित गर्ने सोच बनाएर काम गरिरहेका उनलाई कोरोना भाइरसको महामारी र लकडाउनले अप्ठ्यारोमा पारेको छ। उसो त उनका बाबु पनि यसै पेशामा सक्रिय छन्। यही नैराश्यताबीच पनि उनी काममा तल्लीन छन्।
तेस्रो तलामा बसेर श्याम स्वेत रंगको तस्वीरलाई ढुंगामा उतारिरहेका ५५ वर्षीय इन्द्रकाजी शिल्पकारलाई पनि लकडाउनले पिरोलेको छ। काममा एकाग्रह भएका बेला कसैले बाँधा नपुर्याओस् भनेर छुट्टै कोठा रोजेको उनलाई कोरोना र लकडाउनले एकाग्रह हुन दिएको छैन।
मंगलबजारमा रहेको भाइदेवल (देउताको घर) बनाउन तल्लीन रहेका उनले यो काम थालेको दुई वर्ष भएको छ। वर्षौं पहिला भत्किएको मन्दिरको पूर्ण स्वरुप कस्तो थियो भन्ने जानकारी नहुँदा कसरी उस्तै बुट्टामा उतार्ने भन्ने चिन्ता पनि छ, उनलाई।
‘पूरै मन्दिरको फोटो मात्र भएपनि काम गर्न धेरै सजिलो हुन्थ्यो। अब आफ्नै अड्कलमा मन्दिरको काष्ठकला बनाउने सोचेको छु,’ उनी भन्छन्। उनी बिहानदेखि घाम अस्ताउन्जेलसम्म यही कोठामा हुन्छन्।
इन्द्रकाजी बस्दै आएको चोक मल्लकालीन राजाले आफ्नी छोरीलाई दाइजोका रुपमा दिएको ठाउँले पनि परिचित छ। यही रहेको पौराणिक काष्ठकलाको एउटा नमूना आँखीझ्याल अहिले पनि उही स्वरुपमा राखिएको छ।
तर, लकडाउन भएदेखि कामको अर्डर नआएपछि इन्द्रप्रसाद चिन्तित छन्। ‘लकडाउनले त अप्ठ्यारो पारेको छ। काम पनि आएको छैन, काम गर्न पनि पहिलेको जस्तो जोश जागर लाग्दैन,’ उनी भन्छन्।
अहिले उनी आफ्नै टोल नजिकै बन्न लागेको इन्द्रयणी मन्दिरको झ्याल बनाउन व्यस्त छन्। यसको धेरै काम सकिएको छ। ‘लकडाउनले गर्दा टुडालको लागि गोलाकार काठ भेटिएको छैन। काठ नहुँदा यो पनि पूरा भएको छैन,’ उनी भन्छन्।
यतिमात्रै होइन, शिल्पकार बाबुछोराले पाटनका थुप्रै मन्दिर बनाएका छन्। उनीहरुले भूकम्पमा भत्किएका इन्द्रयणी, हरिशंकर मन्दिर, चाँगुनारायणको स्तम्भलाई पुनःजीवन दिएका छन्। उनीहरुले कतिपय टुडाल, झ्याल, जीर्ण भएर ढलेका काष्ठकलालाई नयाँ स्वरुप दिएका छन्।
सानैदेखि काष्ठकलातर्फ आर्षित भएका इन्द्रकाजीले बुवासँगै बुट्टा भर्न सिकेका थिए। कक्षा ३ मा पढ्दादेखि सुरु भएको उनको काष्टकला यात्रालाई लकडाउनले भने प्रभावित भएको छ। उनी फेरि पहिलेजस्तै काम गर्ने वातावरण बन्छ कि बन्दै भन्ने चिन्ता लाग्ने गरेको बताउँछन्।
इन्द्रकाजीबाट काष्ठकला सिकेका छोरा इन्द्रप्रसादले पनि थुप्रै काष्ठकला तयार गरेका छन्। दैनिक १० रुपैयाँ ज्यालाबाट काम सुरु गरेका उनी अहिले डिजाइन हेरेर एक हजार पाँच सयदेखि दुई हजारसम्म पाउने गरेका थिए। तर, ७४ दिनको लकडाउनमा एक दिन पनि काम नभएको उनले सुनाए। ‘लकडाउनले त जीवनयापन गर्नै गाह्रो भयो,’ उनी भन्छन्।
शिल्पकार बाबुछोराले थुप्रै मन्दिर सजाएका छन्। महिषाशुरमर्दिनी, लक्ष्मी, बुद्ध, गणेश, दुर्गा, विष्णु महेश्वरमा उनीहरुकै कला झल्किएको छ।
अब लकडाउनपछि उनीहरुको कला कसरी प्रस्फुटन हुन पाउने हो भन्ने चिन्ता दिनदिनै बढ्दै गएको छ। इन्द्रप्रसाद त पुराना मूर्ति सम्झिन्छन्। यसअघि गरेको काम सम्झिन्छन्, लकडाउन हेरेर थचक्क बस्छन्।
जर्मनी पुगेका उनका मूर्तिको झझल्को आइरहन्छ। इन्द्रप्रसाद भन्छन्, ‘लकडाउन नहुँदो हो त अहिले म पनि मेलै बनाएका मूर्तिसँगै जर्मनीमा हुन्थे। मेरो कलाले अन्तर्राष्ट्रिय इक्सपोजर पाउँथे। यो मेरा लागि नेपाली काष्ठकलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने ढोका खल्थ्यो।’
लकडाउनसँगै यो ढोका बन्द भएको छ। उनी आशावादी छन्, लकडाउन खुलेसँगै काम गर्ने बाटो पनि खुल्नेछ।