काठमाडौं, जेठ २३ : गुणात्मकभन्दा संख्यात्मक वृद्धितर"/>काठमाडौं, जेठ २३ : गुणात्मकभन्दा संख्यात्मक वृद्धितर">काठमाडौं, जेठ २३ : गुणात्मकभन्दा संख्यात्मक वृद्धितर" />
Kathmandu Press

संकटमा टेलिभिजन : विज्ञापन घट्दै, पत्रकारको रोजगारी गुम्दै

काठमाडौं, जेठ २३ : गुणात्मकभन्दा संख्यात्मक वृद्धितर

 संकटमा टेलिभिजन : विज्ञापन घट्दै, पत्रकारको रोजगारी गुम्दै

काठमाडौं, जेठ २३ : गुणात्मकभन्दा संख्यात्मक वृद्धितर्फ लम्किएको नेपाली टेलिभिजन पत्रकारिता पछिल्लो समय कोरोना महामारीको चेपटामा परेर झन् थला परेको छ।

३५ वर्षअघि नेपाल टेलिभिजनबाट सुरु भएको टेलिभिजन पत्रकारिता अहिलेसम्म आइपुग्दा केन्द्र र प्रदेशमा गरी सूचना विभागमा दर्ता भएर सञ्चालनमा रहेका ३४ वटा च्यानलमात्रै देखिएपनि झण्डै एक सय च्यानल प्रशारणमा छन्।

तर, कोरोना महामारीले सबै क्षेत्रमा असर गर्न थालेपछि नेपालका अधिकांश टेलिभिजन च्यानल दैनिक खर्च चलाउन धौंधाैं पर्ने अवस्थामा पुगेका छन्। टेलिभिजनमा कार्यरत अधिकांश कर्मचारीले नियमित तलब नपाएको नेपाल पत्रकार महासंघले कोरोनाको अवधिमा पत्रकारको अवस्थाका विषयमा हालै गरेको एक अध्ययनले देखाएको छ।

Hardik ivf

एक-दुई वटा टेलिभिजन च्यानलबाहेक अधिकांशले नियमित तलब नखुवाएको र धेरैको अबको अवस्था झन् संकटग्रस्त हुने महासंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। तथ्यांकले अझै पनि सर्वाधिक हेरिने सञ्चारमाध्यममा टेलिभिजनलाई नै देखाएको छ। तर पनि अधिकांश टेलिभिजन च्यानलको आर्थिक अवस्था निकै कमजोर देखिएको छ।

नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीर शाह टेलिभिजन च्यानल अझै पनि संस्थागत हुन नसकेका कारण समस्याग्रस्त भएको बताउँछन्। ‘हामी कहाँ केही पूँजी जुटाएर टेलिभिजन खोल्ने तर त्यसको संस्थागत विकास गरेर कसरी व्यवसायिक बनाउने भन्ने योजना नभएकाले समस्या देखिएको हो,’ शाहले काठमाडौं प्रेससँग भने, ‘टिभी खोलिन्छ तर त्यसको चालु पूँजीबारे गृहकार्य गरिएको हुँदैन। जनशक्ति र उत्पादनमा हुने लगानीबारेमा सोचिएको हुँदैन। विज्ञापनको बजार बढाउने विषयमा पनि काम हुन सकेन। त्यसैले च्यानल थपिँदै जाँदा समस्या पनि बढ्दै गएको हो।’

शाह परिपक्व लगानी नभएकाले पनि टेलिभिजन च्यानलमा आर्थिक समस्या देखिएको टिप्पणी गर्छन्। ‘च्यानल खोल्ने तर टिआरपी कसरी बढाउने? गुणस्तर कसरी बढाउने भन्ने हामीले सोचिएन,’ उनी भन्छन्, ‘टेलिजिभन धरमरकै अवस्थामा रहे। जसका कारण गुणस्तर खस्किनुका साथै रोजगारी कटौतीसम्मको स्थिति आएको छ।’

नेपाल टेलिभिजनले प्रशारण सुरु गरेको १८ वर्षपछि २०६० सालमा कान्तिपुर र इमेज च्यानलले टेरेस्टेरियल प्रविधिबाट प्रशारण सुरु गरेका थिए। यी दुई टेलिभिजन प्रशारणको थालनी भएपछि निजी क्षेत्रबाट टेलिभिजनमा लगानी ह्वात्तै बढेको हो। 

एकातिर बजारको अध्ययन नगरी च्यालनमात्रै खोल्ने होड र अर्को मिडिया उद्योगलाई राज्यले गरेको उपेक्षाका कारण टेलिभिजनको दूरावस्था भएको पत्रकारिताका प्राध्यापक रामकृष्ण रेग्मीको भनाइ छ। ‘यहाँ सञ्चारकर्म गर्नेबारेमा न राज्यले सोच्यो न त मिडिया हाउसले नै,’ रेग्मी भन्छन्, ‘सरकारले मिडिया उद्योगका लागि जे गर्नुपथ्र्यो त्यो गरेन। किनकि मिडिया बलियो भए थप आलोचना हुन्छ भन्ने उसको बुझाइ हुनसक्छ।’

प्राध्यापक रेग्मी टेलिभिजनलाई नै व्यवसायका रुपमा सञ्चालन गर्ने भन्दा पनि अन्य व्यवसाय बचाउन टेलिभिजनमा लगानी गर्ने प्रवृत्तिका कारण थप समस्या आएको बताउँछन्। ‘टेलिभिजनमा लगानी गर्नेहरुले त्यसलाई प्रमुख व्यवसाय बनाउन सकेनन्,’ रेग्मीले भने, ‘टेलिभिजनलाई नाफामा लैजाने र त्यहाँ काम गर्नेलाई कम्तिमा ५ वर्ष जागिरको ग्यारेन्टी हुने अवस्था बनाउनुपर्ने हो। तर, यहाँ त्यस्तो छैन। भएको जनशक्ति कटौती गरिएको छ।’

खुम्चिएको बजारमा कोरोनाले झनै ‘ब्याक फायर’

अनलाइनलाई पत्रकारिताको विकाससँगै बजार हिस्सा गुमाउँदै आएका टेलिभिजन च्यानलले कोरोनाका कारण झनै समस्या भोग्दै आएका छन्। सरकारले विगत ७४ दिनदेखि जारी राखेको लकडाउनका कारण गतिविधि हुन नसक्दा अन्य क्षेत्र जस्तै टेलिभिजन पनि आर्थिक संकटको भूमरीमा परेका छन्।

एडभरटाइजिङ एसोसिएसन अफ नेपाल (एएएन) को तथ्यांक अनुसार टेलिभिजनको वार्षिक विज्ञापन कारोबार तीन अर्ब बराबरको हो। तर पछिल्लो समय इन्टरनेटवेस विज्ञापन बढ्दै गएको र कोरोनाले समग्र विज्ञापन बजारमा प्रहार गरेकाले टेलिभिजन आर्थिक रुपले थप धरासायी बन्ने अवस्था देखिएको छ।

विज्ञापन बजार बढ्न नसक्दा ‘कन्टेन्ट डेभलपमेन्ट’मा समेत असर परेको शाहको भनाइ छ। ‘सानो विज्ञापन बजार पनि धेरै तिर बाँडिएको छ। त्यसले च्यानलले आफ्नो कन्टेन्ट डेभलप्मेन्टमा ध्यान दिन सकेनन्। उत्पादन गर्ने क्षमता अभिवृद्धि  गर्न सकेन,’ उनी भन्छन्, ‘विज्ञापनमै अधारित रहँदा पनि समस्या आएको छ। केही व्यवसायिक च्यानल शुल्क तिरेर हेर्ने व्यवस्था गर्न सकिन्छ। तर, समयमै त्यस्तो व्यवस्था हुन सकेन, अब झन् गाह्रो छ।’

उनले सरकारी स्वामित्वमा चलेको टेलिभिजनले पनि यो क्षेत्रमा जनशक्ति उत्पादन र सिपको विकासमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यो हुन नसकेको बताए। 

मारमा टेलिभिजन पत्रकार

टेलिभिजन संकटमा परेका बेला कोरोना महामारीले थप यो क्षेत्रलाई थिचेको छ। टेलिभिजन कतिपयले कर्मचारी कटौती गरेका छन् भने कतिपयले तलब घटाउने रणनीति तय गर्दै खर्च कटौतीको नीति लिएका छन्।

महासंघले कोरोनाका कारण मिडियामा परेको प्रभाव र पत्रकारको अवस्थाबारे  गरेको अध्ययनले टेलिभिजनमा काम गर्ने पत्रकार जागिर खोसिने सबैभन्दा बढी जोखिममा रहेको देखिएको छ। तर महामारीको रिपोर्टिङमा सबैभन्दा बढी जोखिम भने टेलिभिजन पत्रकारले नै व्यहोर्दै आएका छन्। टेलिभिजनमा फिल्डमै पुग्नुपर्ने भएकाले स्वास्थ्य जोखिम त छँदैछ त्यसका साथै आर्थिक समस्याले रोजगारी गुम्ने खतरा पनि उनीहरुमै बढी छ।

महासंघको अध्ययन प्रतिवेदन अनुसार अधिकांश टेलिभिजनले पाँच महिना यता पत्रकारहरुलाई तलब दिएका छैनन्। कोरोनालाई देखाउँदै पत्रकार निकाल्ने क्रम समेत बढेको छ।

कुन टेलिभिजनको कस्तो छ अवस्था?

कोरोना महामारीका कारण टेलिभिजनले जनशक्ति कटौती त गरेकै छन्। काम गरिरहेकालाई नियमित तलब भत्ता समेत दिएका छैनन्। पत्रकार महासंघको प्रतिवेदन अनुसार टेलिभिजिनले पत्रकारलाई महिनौदेखि विना तलब काममा खटाएका छन्।

कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिजिभनले भने पत्रकारलाई समयमै तलब दिएको छ। यस्तै, कार्यालयमै बसेर काम गर्ने सुविधा समेत दिएको छ। व्यवस्थापनबाटै खान बस्नको प्रबन्ध गरिएको छ। कसैलाई बिदामा बस्न वा जागिर छाड्न दबाब दिइएको छैन।

इमेज टेलिभिजन

पत्रकारले चैत र वैशाख महिनाको पारिश्रमिक पाएका छैनन्। आलोपालो प्रणालीमा काम लगाइएको छ। नियमित काममा आउने पत्रकारलाई खाना र खाजाको प्रबन्ध गरिएको छ। दुई महिनाको अवधिमा कसैको रोजगारी खोसिएको छैन। तर, फिल्डमा खटिने पत्रकारले पारिश्रमिकको तनाव र कोरोना संक्रमणको त्रासकाबीच काम गरिरहेका छन्।

हिमालय टेलिभिजन

अप्ठ्यारो परिस्थिति उत्पन्न भएको भन्दै पत्रकारलाई आलोपालो बिदामा राखेर कार्यालय गएको दिनको मात्र हिसाब गरेर पारिश्रमिक दिने गरिएको छ। व्यवस्थापन पक्षबाट एकतर्फी निर्णय गरी दिनगन्तीका हिसाबले पारिश्रमिक दिँदा पत्रकार मारमा परेका छन्। बिहानको ड्युटीमा कार्यालय आउने पत्रकारलाई खाना र दिउँसो आउनेलाई खाजाको सुविधा दिलाइएको छ।

एभिन्यूज टेलिभिजन

पत्रकारको माघदेखि तलब पाउन सकेका छैनन्। लकडाउन अवधिमा क्यामरा पर्सन र रिपोर्टर गरी आठ जना पत्रकारलाई बेतलबी बिदामा राखिएको छ। व्यवस्थापनले चैत १७ गतेदेखि नै बेतलबी बिदामा बस्न दबाब दिएको छ। सीमित जनशक्तिको भरमा टिभी चलेको छ। तोकेको तलबसमेत चार महिनादेखि नपाएका कारण पत्रकार मारमा परेका छन्। बेतलबी भनेर घर बस्न भनिएका पत्रकारलाई बोलाउने कुराको समेत टुंगो छैन। लकडाउनको अवधिमा स्थायीलाई पनि करारमा परिणत गरिएको छ।

न्यूज २४ 

पत्रकारलाई चैत यताको पारिश्रमिक दिइएको छैन। पत्रकारका लागि कार्यालयमै खाने बस्ने प्रबन्ध मिलाइएको छ। चैत १६ गतेबाट दुई सिफ्ट गरेर काम गर्ने वातावरण मिलाइएको छ।

जनता टेलिभिजन

पत्रकारले पाँच महिनायताको तलब पाएका छैनन्। यस्तै, लकडाउन सुरु भएपछि एक दर्जनभन्दा बढी पत्रकारले रोजगारी गुमाएका छन्। घर पठाइएका पत्रकारले समेत पारिश्रमिक पाएका छैनन्। व्यवस्थापनले २० हजारभन्दा बढी पारिश्रमिक हुनेको अवस्था हेरेर २० प्रतिशतभन्दा धेरै तलब काटिने सूचना दिएको छ। उनीहरुले दैनिक गुजारा चलाउन समेत समस्या भएको बताएका छन्।

माउण्टेन टेलिभिजन

केही पत्रकारले माघदेखि तलब पाउन सकेका छैनन्। टिभीमा काम नभएको भन्दै केहीलाई अनलाइनमा सरुवा गरिएको छ। केहीलाई तलब खुवाउन नसकिने भन्दै व्यवस्थापनले आवश्यक परेको खण्डमा बोलाउने भन्दै घरमा बस्न भनेको छ। कम जनशक्तिका कारण कार्यालयमा जाने पत्रकार १०–१२ घण्टा काम गर्नुपर्ने अवस्था छ।

एबीसी टेलिभिजन

पत्रकारले वैशाख महिनाको तलब पाउन सकेका छैनन्। अनलाइन, इमेलमार्फत घरबाटै पत्रकारलाई काम गर्ने सुविधा दिइएको छ। जनशक्ति कम भएकाले मौजुदा जनशक्तिले बढी समय दिनुपरेको अवस्था छ।

योहो टेलिभजन

वैशाखको पारिश्रमिक पाउन बाँकी देखिएको छ। सीमित जनशक्तिले काम गर्नु परेको अवस्था छ। सीमित जनशक्तिका कारण ओभरलोडको अवस्था छ।
 

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्