Kathmandu Press

प्रधानमन्त्री ओलीको ‘विशेष दूत’ बनेर बाँस्कोटा भारतीय राजदूत भेट्न सुटुक्क लैनचौरमा

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर पूर्वसञ्चार तथा सूचना

प्रधानमन्त्री ओलीको ‘विशेष दूत’ बनेर बाँस्कोटा भारतीय राजदूत भेट्न सुटुक्क लैनचौरमा

काठमाडौं, जेठ २२ : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन्।

गत आइतबार साँझ बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतको दाबी छ। स्रोतका अनुसार आइतबार साँझ ७ बजेर १० मिनेटमा दूतावासभित्र प्रवेश गरेका बाँस्कोटा साढे आठ बजेतिर मात्रै त्यहाँबाट बाहिरिएका थिए।

बाँस्कोटा र भातीय राजदूतबीच राजदूतको निवास ‘इन्डिया हाउस’मा छलफल भएको थियो। सुरुमा भारतीय दूतावासका केही कर्मचारीसहित सामूहिक छलफलपछि बाँस्कोटा र राजदूत क्वात्राबीच मात्रै एक घण्टा एक्लाएक्लै छलफल भएको थियो।

Hardik ivf

भेटमा के विषयमा छलफल भयो भन्ने विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन्। क्वात्रासँग भेटको बाँस्कोटा आफैँले स्वीकार गरेका छन्। ‘मिति याद भएन, सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने हाम्रो नीति नै हो। त्यसैले भेट गर्ने र छलफल गर्ने विषयलाई अस्वभाविक रुपमा लिनु हुँदैन,’ बाँस्कोटाले काठमाडौंप्रेससँग भने, ‘भेटेको विषयलाई अस्वभाविक लिने हो भने वार्ता हुँदैन, त्यसो हुँदा बन्दुक तेर्साउनु पर्छ त्यो क्षमता हामीसँग छैन।’

बाँस्कोटाले भारतीय राजदूतसँग भेट गरेको विषयमा नेपाली सेनाको जासुसी विभाग ‘डाइरेक्टोरेट अफ मेलेट्री इन्टेलिजेन्ट’ले पनि पुष्टि गरेको स्रोतको दाबी छ।
सुरुमा बाँस्कोटाले दूतावास बाहिर कुनै ठाउँमा भेट्न भारतीय राजदूतलाई आग्रह गरेका थिए। तर, भारतीय राजदूतले बाहिर नभेट्ने बताएपछि बाँस्कोटा आफैँ दूतावास पुगेका थिए। 

बाँस्कोटासँग भेट्नुअघि भारतीय राजदूत क्वात्राले एक जना प्रमुख दलका नेतासँग बाँस्कोटाबारे जानकारी लिएका थिए। ‘गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीको दूतको रुपमा भेट्न आउँछु भनेका छन्, उनको र ओलीको सम्बन्ध के हो भनेर मलाई सोधिएको थियो,’ ती नेताले काठमाडौंप्रेससँग भने, ‘मसँग कुरा भएको दोस्रो दिन उहाँहरुको भेट भएको रहेछ।’

पछिल्लो समय नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा प्रकाशन गरेपछि भारत र नेपालबीचको सम्बन्ध चिसिएको छ। नक्सा प्रकाशनका विषयमा नेपालमा भने सबै राजनीतिक दलको एउटै मत छ। प्रधानमन्त्री ओलीले संसद बैठकमै भारतको निशान छापमा रहेको ‘सत्यमेव जयते’लाई परिवर्तन गरेर ‘सिंहमेव जयते’ राख्नु पर्ने टिप्पणी गरेपछि भारत ओलीसँग थप चिढिएको छ।

स्रोतका अनुसार भारतसँग बिग्रिएको पछिल्लो सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्री ओलीले आफ्ना दूत खटाएका छन्। ओलीले भारतीय जनता पार्टीको मातृ संगठनको रुपमा रहेको राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको वातावरण बनाउन पनि पहल गरिरहेका छन्।

ओलीले आरएसएसका नेता मोहन भागवतमार्फत मोदीसँग सम्बन्ध सुधारका लागि पहल गरिरहेको स्रोतको दाबी छ। भारतसँगको सम्बन्ध सुधारका लागि ओलीले आफ्ना निकट नेताहरुमार्फत भारतीय राजदूतसँग सम्बन्ध बढाउने, भारतीय प्रधानमन्त्री मोदीलाई पनि दबाब दिने सक्ने आरएसएसका नेताहरुसँग छलफल गर्ने र दिल्लीस्थित साउथ ब्लक (भारतीय विदेश मन्त्रालय) र नर्थ ब्लक (रअको मुख्यालय) मा पनि संवादको पहल सुरु गर्न दूतमार्फत पहल गरिरहेका छन्।

स्रोतका अनुसार ओलीले भारतीय विदेश मामला जासुसी निकाय रअ (रिसर्च एण्ड एनालाईसिस विङ)का प्रमुख समान्त गोयलसँग पनि सम्पर्कको थालनी गरेका छन्।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने तयारी अघिल्लो साता भारतीय पक्षले अस्वीकार गरेपछि ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन्।

नेपाल सरकारले आफ्ना निशाना छापमा नयाँ नक्सा समावेश गर्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ। उक्त प्रस्तावमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय गरिसकेका छन्। सम्भवत केही दिनभित्रै उक्त संविधान संशोधन प्रस्ताव पारित भएर लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भू–भागमा समेटिएको नेपालको नक्सा संविधानमा पनि समावेश हुनेछ।

ऐतिहासिक दस्तावेजमा नेपाली भू–भाग रहेका ती भूमि भारतले लामो समयदेखि अतिक्रमण गर्दै आएको प्रमाण भेटिएका छन्। यसअघि पनि भारतले नेपाली भूमि कालापानीमा भारतीय सेनाको बेस राखेको थियो। उक्त सैनिक बेस अहिले पनि बस्दै आएको छ।

केही महिनाअघि भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा छापेपछि नेपाल र भारतबीच सीमा विवाद चर्किएको हो। त्यसका साथै एक महिनाअघि नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक हुँदै भारतले तिब्बतको कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपाल सरकारले आफ्नो नक्सा प्रकाशन गरेर त्यसको जवाफ दिएको छ।
 

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्