लकडाउनलाई पनि सिर्जनशिल बनाउँदै शीतल
काठमाडौं, जेठ २१ : लामो लकडाउनमा घरभित्रै बस्नुपर्दा सबै मानिस उकुसमुकसमा छन्। तर, केहि सर्जकलाई भने
काठमाडौं, जेठ २१ : लामो लकडाउनमा घरभित्रै बस्नुपर्दा सबै मानिस उकुसमुकसमा छन्। तर, केहि सर्जकलाई भने लामो लकडाउनले खासै फरक पारेको छैन, आफ्नै दैनिकीमा मस्त छन्। त्यस्तैमा एक हुन् गजलकार तथा गीतकार शीतल कादम्बिनी।
लकडाउनको रंगमञ्चमा पनि उनका सिर्जना फूल मुस्कुराइरहेका छन्। ति सिर्जना उनको चर्चित गजल ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, समयले जवानी यो लुटेपछि आयौ’ जस्तै पाठक, दर्शक र स्रोताको मन जित्न सफल हुन्छन् कि हुँदैनन्, हेर्न बाँकी छ।
उसो त यो गजलको पछाडि पनि लामो कथा नै छ। २०६५ तिर हो, एक कविले उनलाई कविता लेखेर पठाउने गर्थे। हरेक पटक कविता लेखेर पठाउँदा सोध्ने गर्थे, ‘तिमी कहाँ मेरो कविता आइपुग्यो कि पुगेन?’
एक दिन उनले कविताका पंक्ति पढिसकेपछि त्यहि परिवेशलाई कवितात्क भावमा उतार्दै गजल लेखिन्। त्यहि गजल थियो, ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, समयले यो जवानी लुटेपछि आयौ।’
उनको यो सिर्जना दर्शकले धेरै रुचाइएकोमा पर्छ। जसले उनलाई दर्शक र स्रोतामाझ पनि चर्चित बनायो।
चितवनको भरतपुरमा हुर्केकी साहित्यकार शीतल कादम्बिनी सानैदेखि लेखनमा रमाउँथिन्। विद्यालयमा हुने कार्यक्रममा आफै गीत लेखेर गाउने गर्थिन्। आफैंले लेखेको गीत उत्कृष्ट हुँदा उनको खुशीको सीमा रहन्थ्यो।
शान्त स्वभावकी उनी पढाइमा पनि प्रखर थिइन्। गणितबाहेक सबै विषयमा राम्रो अंक ल्याँउदा उनको प्रफुल्ल मनले आकाशै चुम्न पुग्थ्यो।
त्यहि खुशी अहिले उनी लकडाउनमा पनि खोज्दैछिन्। ७० दिन लामो लकडाउनले घरभित्र बस्दा पनि उनको दैनिकीमा खासै परिर्वतन आएको छैन।
बरु सांगीतिक कार्यक्रमका लागि समय छुट्याउन नपरेकाले आफ्नो इच्छा बमोजिक काम गरिरहेकीछिन्। आजकल उनलाई बाहिर निस्किन कुनै हतारो छैन।
बिहान ६ बजे उठेर तातो पानी पिउँछिन्। आधा घन्टा शारीरिक अभ्यासमा जुट्छिन्। धपक्क बत्ती बालेर नित्य भगवान्को पूजाआज गर्न उनको मन रमाउने गर्छ।
अहिले बाहिर हिडडुल गर्न नपर्ने भएकाले शरिर मोटाउन नदिन कम खाना र धेरै मात्रा सागतरकारी खाने गरेको बताउँछिन्। बिहानी खाना खाएपछि किताब पढ्नु, गीत सुन्नु, फिल्म हेर्नु र केहि साहित्यिक रचना कोर्दा उनलाई दिन बितेको पत्तै हुँदैन। ‘लेखपढ र लेखनमै दिन वित्छन्,’ कादम्बिनी भन्छिन्, ‘यो समय त झन शान्त छ। मन बसमा राख्न सक्ने हो भने परिस्थितीले फरक नपार्ने रहेछ।’
इष्टमित्र, साथीभाइले भिडियो च्याटमार्फत कुराकानी गर्छन्। केही साथीभाइ न्यास्रो मेट्न भेटभाट नै गर्न खोज्छन्। उनी पनि कहिलेकाँही बानेश्वरबाट सिर्जना कुञ्ज थिएटर पुग्छिन्। केहिवेर भेटघाटपछि फेरि उही घर फर्किन्छन्।
कोरोना भाइरसको त्रास र झन् त्यसमा लामो लकडाउनले धेरै मानिसलाई सकस बनाएको छ। कतिले ज्यान गुमाएका छन्। कति ज्यान जान्छ कि भन्ने त्रासमा छन्। ‘धेरै चोटी मरें म त धेरै चोटी बाँचें’ गीतकी सर्जक कादम्बिनीलाई भने त्यस्तो गाह्रो लाग्दैन्। ‘महामारीले गाह्रो त पार्छ नै, तैपनि जीवनलाई सहज बनाउने हो,’ उनी भन्छिन्।
लकडाउनको समयमा पनि धेरैले गीत, कविता र गजल लेखिदिन आग्रह गरेका छन्। तर, उनलाई भने अन्तरमनबाट प्रस्फुटन भएका रचनामा मात्रै चित्त बुझ्छन्। त्यसैले हृदयबाटै ननिस्केसम्म बलजफ्ती लेख्दिँनन्।
‘कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौं, समयले यो जवानी लुटेपछि आयौं’ गलज होस कि ‘ओइ झुमा झुम्काली’ या ‘धेरै चोटि मरे म त, धेरै चोटि बाँचे’ गीत। गीत संगीतका पारखीलाई मीठो स्वाद पस्किरहेकी उनी लकडाउनमा भने फरक सिर्जनमा व्यस्त छिन्।
उनी भन्छिन्, ‘उपन्यास तयार पारेकी छु।’ हुन पनि यतिवेला उनको हातमा उपन्यासको पाण्डुलिपी छ। सात वर्ष अघि लेख्न सुरु गरेको गुरुङ जाति र संस्कृतमा आधारित पुस्तक लगभग तयारी अवस्थामा पुगेको छ।
यहि वर्ष विमोचन गर्ने तयारीमा थिइन्। तर, लकडाउनले उनीसँगै यो कृति घरभित्रै क्वारेनटाइनमा रहेको छ।
उसो त उनका गीत र गजल पनि लकडाउनमा परेका छन् । कतिपय गीत लकडाउनले गर्दा रेकर्डिङ हुन नसकेको उनी बताउँछिन् । उनी मात्रै होइन, उनको गीत गाउने गायक र रेकर्डिङ गर्ने स्टुडियो सञ्चालक पनि लकडाउनले घरमै बाँधिएका छन्।
घरमा सिर्जना त गर्छिन, तर घर बाहिरका काम भने उनका पनि अड्किएका छन्। केही आधाउधी भएका थिए भने केही सकिन लागेका थिए। ‘यो महामारी नआउनु आइसक्यो। यसमा अब डराएर, हत्तारिएर हुँदैन,’ कादम्बिनी भन्छिन्, ‘विचलित हुनुभन्दा यो परिस्थितिलाई स्वीकार्नु नै उचित हुन्छ।’
कोरोनाको विश्वव्यापी महामारीले संसारनै अठ्याएको छ। दुःख र पीडाको समय भएपनि मनलाई दुःखी बनाउनु नहुने उनको भनाइ छ। उनी भन्छिन्, ‘संसार जसरी चलेको छ त्यसरी चल्नु परिहाल्यो। यो मनलाई जसो ग¥यो, त्यस्तै हुन्छ। दुःखी मन जति पुगेर पनि दुःखी हुन्छ। दुःखी नहुने मन, नपुगेर पनि सुखी हुन्छ ।’
गाह्रोसाह्रोमा पनि खुशी रहनुसक्न पर्ने उनी बताउँछिन्। ‘धेरै चोटि मरे म त, धेरै चोटि बाँचे’ गीतकी सजर्क कादम्बिनी कोरोनाबाट पनि बाँचिनेमा ढुक्क हुदै भन्छिन्, ‘यो पनि ठिक हुनेछ। राम्रो समय आउनेछ। र हामी फेरि पहिले जस्तै रमाउने छौं। आशा गरौं, निराश नहोऔं।’