गल्लीमा मुख देखाएर हिँड्नै गाह्रो भएपछि नझोँक्किएर के गरौं ?
काठमाडौं, जेठ १८ : गत शुक्रबार साँझतिर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल जस्तै बन्यो।
<काठमाडौं, जेठ १८ : गत शुक्रबार साँझतिर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल जस्तै बन्यो।
फेसबुकमा भिडियो अपलोड भएको केही घण्टामै भिडियो हेर्नेको संख्या ह्वात्तै बढ्यो। भिडियो थियो– प्रदेश १ का एक सांसदले सदनमा राखेको धारणा। ती सांसदको बोल्ने शैली, आक्रामक भाषा र प्रयोग गरिएका ठेट पूर्वेली लवज भिडियोको कमेन्ट बक्समा खुब मन पराइयो।
उनी थिए- ताप्लेजुङका प्रदेश सांसद प्रतापप्रकाश हाङगाम।
नेपाली भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले कब्जा गरेको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बहस भइरहेको थियो।
सभामुख प्रदीपकुमार भण्डारीले विशेष समयमा कांग्रेस सांसद हाङगामलाई बोल्न समय दिए। सभामुखले समय दिएपछि पाका उमेरका हाङगाम रोस्टमतर्फ लम्किन्छन्। सेतो कपाल, आँखै छोप्ने चस्मा, भादगाउँले टोपी र टिपिक्क परेको दौरा सुरुवाल लगाएका हाङगामले लिम्बु लवजमा बोल्न सुरु गरे।
रोस्टममा पुग्ने वित्तिकै उनले भने, ‘हिजोआज सुनिएको छ, दार्चुलाको लिम्पियाधुरा, कालापानी भन्नेहरु भारतले मिचेर लगेको छ भन्छन्। कति मिच्यो त ? चार हात मिच्यो कि पाँच हात मिच्यो कि?’
उनले बोल्न सुरु गरे लगत्तै हलको ध्यान तान्न थाले। पूर्वको कुनै गाउँमा दुई छिमेकीबीच जग्गाको सीमाना मिच्दा हुने विवादझै उनले भने,‘नियम कानूनअनुसार अर्काको सीमा एक इन्च पनि मिच्न हुँदैन। राति मिचेको हो कि दिउँसो मिचेको हो? साँच्चै मिचेको हो भने त्यहाँको नेपाली के हेरिबस्यो? त्यतिखेरसम्म पत्रकारले थाहा नपाउने?
त्यतिखेर सरकार र स्थानीयले थाहा पाउनुपर्छ। उद्घाटन (भारतले बनाएको सडक) भएपछि मात्रै थाहा पाउने यो हाम्रो के कमजोरी हो?,’ उनी आक्रोशित हुँदै थप्छन्,‘हाम्रोमा मिचोस् त, ढुंगा भेटे ढुंगाले हान्छौं, बन्दुक भेटे बन्दुकले हान्छौं, खुकुरी भेटे खुकुरीले हान्छौं। कालु पाण्डेले ढुंगा र मुढाले लडेर सीमा सुरक्षा गरेको हो। तुरुन्तै फिर्ता हुनुपर्छ।’
ठेट पूर्वेली लवजमा हाङगामले आक्रोश व्यक्त गरिरहँदा संसद भवन हाँसोले गुञ्जयमान भयो। धेरैले उनको लवजलाई मनै पराए। अहिले युट्युब र फेसबुकमा उनको यही ठेट पूर्वेली लवजको भिडियो चर्चामा छ। भिडियोसँगै हाङगाम पनि।
हाङगामको भाषणको भिडियो क्लिप टिकटकमा हाल्नेहरुको संख्या पनि उत्तिकै छ। उनको आक्रोशपूर्ण भनाइलाई मानिसहरुले आ–आफ्नो रुपमा टिप्पणी गरेका छन्। कसैले उनको बोलीमा रमाइलो मानेका छन् भने कसैले उनलाई ‘अबुझ’को संज्ञा पनि दिएका छन्।
उनको भनाइ चर्चित बनेपछि नेपालभित्रबाट मात्रै होइन, विदेशमा रहेका नेपालीहरुले समेत फोन गरेर प्रतिक्रिया दिइरहेका छन्। ‘संसदमा बोलेपछि नेपालबाट मात्रै होइन युकेतिरबाट पनि फोन आएको छ,’ उनी भन्छन्, ‘कोहीले अबुझ भनेका छन्। कसैले राम्रो बोल्नुभयो भनेका छन्।’
देशको सीमा मिचेको कुराले आफूलाई आक्रोशित बनाएको र सोही आक्रोश रोस्टममा पोखिएको उनले काठमाडौं प्रेससँगको कुराकानीमा सुनाए। तपाईंलाई अहिले कस्तो अनुभव भएको छ त? भन्ने प्रश्नमा उनले भने,‘स्वभाव र लवजका कारण भिडियोले चर्चा पाएको होला, मलाई त खुशी नै लागेको छ।’
उनले संसदमा पोखेका आक्रोश स्वस्फुर्त आएको बताए। सुदूरपूर्व ताप्लेजुङका उनलाई सुदूरपश्चिम दार्चुलाको भूमि मिच्दा कति पोलेको रहेछ भन्ने भिडियोमा अनुभव गर्न सकिन्छ। ‘सीमा मिचेर लगेको छ। त्यो रिस उठ्ने नै कुरा हो। बोल्दा बोल्दै रिस उठ्यो। अहिले पनि आक्रोशित नै छु। भूमि फिर्ता नभएसम्म आक्रोश मर्दैन होला हौ,’ उले आफ्नै लवजमा भने, ‘कहिलेदेखि मिच्न थालेको थियो हो, थाहा छैन भन्छन्। सडक उद्घाटन गरेपछि मात्रै थाहा पायौं भन्छन्, अनि रिस उठ्छ।’
जनप्रतिनिधिको रुपमा जनताको नेतालाई सोधिने प्रश्नले उनी हैरान रहेछन्। कहिले टनकपुर बेचेको प्रश्न, कहिले कोशी र गण्डकी बेचेको प्रश्न, जवाफै नभएको प्रश्नले हैरान भएका हाङगामको उक्त भनाइ अलिकति राजनीतिक निराशा पनि पोखिएको रहेछ।
‘नेताहरुले कोशी, टनकपुर, गण्डक बेच्यौ भनेर गाँउमा त साह्रो पो छ। कसैले केही थाहा नपाउँदा कोही नेताले बेचेर खायो कि ! बालुवाटारको जग्गा त आफ्नो नाममा ल्यायो भन्नेहरु छन्,’ आफूलाई आएको प्रश्नतर्फ संकेत गर्दै उनी भन्छन्,‘ यस्तै प्रश्नले राजनीतिक कार्यकर्ता र सांसदहरु त गल्लीमा हिँड्नै नहुने भएको छ। यस्तै आक्रोशहरु मैले बोल्ने थलो सदनमा पोखेको हुँ।’
उनी बोलिरहँदा संसद् हासोले गुञ्जायमान भयो, तर त्यसले उनलाई कुनै प्रभाव पारेन। उनी एउटै रफ्तारमा आफ्ना कुरा राखिरहे। उनी बोलिसकेपछि पनि धेरै सांसदको हासो रोकिएन।
‘कोही माननीयज्यूहरु हास्नु भयो। कसैले तपाईंको कुरा ठीक छ भन्नुभयो। मैले बोलेकै हो। जसले जे भनेपनि हुन्छ,’ उनले भने, ‘गाउँघरमा एउटा सानो घोचो वरपर भयो भने काटाकाट हुन्छ, यो त देश र राष्ट्रियताको कुरा हो। अर्काले सीमा मिच्दा कसरी ठाडो शीर पारेर हिँड्नू।’