‘काठमाडौंमा धेरै अघिनै कोरोनाभाइरस संक्रमण भएको हुन सक्छ’
काठमाडौंभित्र रहेका मानिस जो एकअर्कासँग सम्पर्कमा छैनन्। त्यस्ता मानिसमा पनि कोरोनाको संक्रमण देखिएको छ। उनीहरु कोही
काठमाडौंभित्र रहेका मानिस जो एकअर्कासँग सम्पर्कमा छैनन्। त्यस्ता मानिसमा पनि कोरोनाको संक्रमण देखिएको छ। उनीहरु कोही बाहिरबाट आएका व्यक्तिसँग सम्पर्कमा आएको पनि देखिएको छैन।
काठमाडौंमै संक्रमण पुष्टि हुनुअघि नै एक व्यक्तिको मृत्यु भएको छ। विश्वको ट्रेन्ड हेर्दा कोही व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुन्छ भने त्यसलाई १६ दिन अगाडि नै कोरोना संक्रमण भइसकेको हुनुपर्छ। साथै एक जना संक्रमितको मृत्यु हुँदासम्म एक सय मानिसलाई सरिसकेको हुनुपर्छ।
यहाँ त्यस्ता धेरै केसहरु देखिएका छन्। तर पनि सरकारले परीक्षणमा भने निकै ढिलासुस्ती गरेको देखिन्छ। किनभने फ्रन्टलाइनमा काम गर्नेको नै हालसम्म पर्याप्त कोरोना परीक्षण भएको छैन।
महानगरमा कार्यरत फोहोर व्यवस्थापनका कर्मचारीमा गरिएको परीक्षणको रिपोर्ट समेत सार्वजनिक गरिसकेको अवस्था छैन। उनीहरुले पनि धेरैलाई सार्नसक्ने सम्भावना रहन्छ। तसर्थ बाहिरबाट आएका मानिसको सम्पर्कमा नआएपनि कोरोना संक्रमण पुष्टि भएका केसहरु देखिन थालेको हुँदा उपत्यकामा पहिलेदेखि नै कोरोना भाइरस आएको हुनसक्ने बलियो संकेतहरु देखा परेका छन्।
कमजोर परीक्षण र कन्ट्याक्ट ट्रेसिङ
विश्वभर कोरोनाको त्रास फैलिन थालेपछि केही नेपाली नागरिक विभिन्न देशबाट फर्किएका थिए। तर उनीहरु नेपाल फर्किँदा कोरोना परीक्षण गरी संक्रमित मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेपनि संक्रमण नदेखिएका मानिसको ट्रेसिङ भएन, जुन एकदमै गलत भयो।
कोही व्यक्ति विदेशबाट आएमा सरकारले अनिवार्य रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने थियो। किनकि लक्षण बिना धेरै मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने सुरुको रिपोर्टमा नेगेटिभ देखिए पनि दोस्रो वा तेस्रो रिपोर्टमा पोजिटिभ देखिएका केसहरु धेरै छन्।
यो बाहेक कत्ति मानिसको त कोरोना परीक्षण समेत नगरी क्वारेन्टाइनमा मात्र राखेर पनि घर पठाएको पाइएको छ। यो सरासर सरकारको लापरवाही हो। तसर्थ त्यसमध्यकै केही मानिसले पनि कोरोना सारेको हुनसक्ने अनुमान छ। आरडीटी परीक्षणले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमताको मात्र परीक्षण गर्ने हो। लक्षण बिना पनि धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएकाले अञ्जानमै रोग निको भएको समेत हुनसक्छ।
तसर्थ आरडीटीले संक्रमण भएको १४ देखि १६ दिनसम्ममा देखाउने भएकाले कोरोना परीक्षणका लागि यो त्यति भरपर्दो उपकरण भने होइन। यो बीचमा संक्रमित निको भइसक्ने धेरै सम्भावना रहन्छ। अहिले सरकारले केही मानिसको परीक्षणको रिपोर्ट सार्वजनिक र कन्ट्याक्ट ट्रेसिङमा तीव्रता दिएपनि धेरैको केसमा ढिलाइ भएको छ। यो एकदमै संवेदनशील अवस्था हो। यसमा सरकारले ढिलासुस्ती गर्नै हुँदैन। किनभने एक दिनमात्र ढिला हुने वित्तिकै धेरै मानिसमा सर्न सक्ने सम्भावना अत्यधिक रहन्छ।
काठमाडौंमा अप्रत्याशित ठाउँमा समेत कोरोना संक्रमितको पुष्टि हुन थालेको छ। सुरुमा यसलाई ध्यानमा राखेर सरकारले परीक्षणको दायरा बढाउन जरुरी छ। योबाहेक फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, नगरपालिकामा कार्यरत कर्मचारी, प्रहरी लगायत सबैलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण हुन जरुरी छ।
साथै अस्पतालभित्रै पनि एमर्जेन्सीका चिकित्सक, नाक, कान, घाँटीका चिकित्सक, सरुवा रोगका चिकित्सक लगायतले अझ बढी सतर्कता अपनाउन जरुरी छ। सरकारले फ्रन्टलाइनमा कार्यरत सबैको कोरोना परीक्षण गर्ने भनिए पनि हालसम्म गरेको छैन। अर्को कुरा सरकारले कोरोना परीक्षणलाई तीव्रता दिँदै तल्लो स्तरसम्म पुर्याउन आवश्यक छ।
सबै अस्पतालमा चिकित्सकदेखि सर्वसाधारणसम्म जो गएपनि सबैले अनिवार्य रुपमा मास्क, पन्जा लगायतका सुरक्षाका उपाय अपनाउन जरुरी छ। अस्पतालले पनि स्यानिटाइजर, साबुनपानी लगायतका सुविधा दिनुका साथै अस्पताललाई डिसइन्फेक्ट गर्नुपर्छ। यसबाहेक रुघाखोकीका बिरामीलाई अलग्गै राख्न अस्पतालले नै व्यवस्था मिलाउनु पर्छ। सरकारले कोरोना नियन्त्रणका लागि सबैभन्दा पहिले परीक्षणकै दायरा बढाउनु पर्छ। यतिमात्र होइन, शंका लागेका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्नुका साथै समयमै कन्ट्याक्ट ट्रेसिङलाई ध्यान दिएर परीक्षण अघि बढाउनु पर्छ।
सरकारले मात्र नभएर सर्वसाधारणले पनि सतर्कता अपनाउन जरुरी छ। किनभने सरकारले मात्र नेपालभरका सबै मानिसको परीक्षण गर्न सम्भव छैन। यसका लागि सर्वसाधारणले सामाजिक दूरी कायम राख्ने, मास्क अनिवार्य रुपमा लगाउने, साबुनपानीले राम्ररी हात धुने लगायतका काम गरे कोरोना नियन्त्रणमा सहयोग पुग्छ।
(संक्रामक रोग विज्ञ सुवेदीसँग सोनी शाहीले गरेको वार्तामा आधारित)