मृत्यु भएपछि कोरोना लागेको थाहा पाउने हाम्रो संयन्त्र..
काठमाडौं, जेठ ४ : काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना
काठमाडौं, जेठ ४ : काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसका कारण बिहीबार साँझ मृत्यु भयो। तर उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भने मृत्युपछि मात्रै थाहा भयो। यो सानो घटनाले सरकारको कोरोनाविरुद्धको लडाइ कति कमजोर छ भन्ने कुरा देखाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार कोरोना भाइरसविरुद्धको लडाइमा सफल भएको नीति तथा कार्यक्रम संसदमा पढिरहँदा ती महिला कोरोनाबाट हारेर धुलिखेल अस्पतालमा ढलिरहेकी थिइन्। तर सरकार भन्दै थियो– कोरोनाविरुद्धको लडाइमा हामी सफल छाैँ।
कोरोनाको पहिलो मृत्युको घटनाले छर्लङ्ग देखाएको छ, राज्य कोरोनाविरुद्धको लडाइमा कति कमजोर छ भनेर। सुत्केरी भएको ८ दिनपछि ज्यान गुमाएकी २९ वर्षीया महिलामा बच्चाको जन्म दिनुअघि नै कोरोना भाइरस प्रवेश गरेको हुनसक्छ। उनी गर्भवती महिलाको रुपमा नियमित चिकित्सकको परामर्शमा पक्कै थिइन्। उनले त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकाले पनि त्यहाँ उनको सबै स्वास्थ्य परीक्षण भएको हुनुपर्ने हो। तर, शिक्षण अस्पतालले उनको कोरोना परीक्षण किन गरेन?
यो घटनाले एकातिर कोरोनाको लडाइमा सरकारको कमजोर धरातल देखिएको छ भने अर्कोतिर हाम्रो स्वास्थ्य प्रणालीको लापरवाही कस्तो रहेछ भन्ने उदाङ्गो पारेको छ। विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला अस्पताल भर्ना भएका बिरामीको किन कोरोना परीक्षण गरिएन?
शिक्षण अस्पतालमै उनको कोरोना परीक्षण भएको भए सायद उनले कोरोनाविरुद्धको लडाइमा विजयी हासिल गर्थिन कि ?
अर्कोतिर मृत्यु भएको तेस्रो दिन रातिमात्रै स्वास्थ्य मन्त्रालयले उनको कोरोनाको संक्रमणबाट निधन भएको पुष्टि गर्यो। कोरोनाविरुद्धको लडाइका लागि दुई दिन निकै लामो समय हो। यो दुई दिनमा कोरोना धेरैलाई फैलिन सक्छ र उपचार गर्दा बिरामीलाई धेरै सुधार पनि हुनसक्छ।
स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्न ढिला गर्दा शिक्षण अस्पतालबाट बाह्रविसेसम्म जाने एम्बुलेन्स चालकसँगै जाने परिवारका सदस्य, बाह्रविसेमा बच्चा जन्माएकोमा बधाई दिन आउने छिमेकी र आफन्त हुँदै धुलिखेल अस्पतालसम्म आउँदा महिलालाई अरु कतिले भेटे होलान् ?
यदि सरकारले निधन सुत्केरी महिलाको मृत्युको कारण कोरोना भएको रिपोर्ट बिहीबार सार्वजनिक गरेको भए उनको सम्पर्कमा आएका व्यक्ति आइसोलेनसमा बस्न सक्थें। जसले उनीहरुबाट संक्रमण हुन सक्ने जोखिम घट्न सक्थ्यो। तर सरकारले त्यो समयको महत्व बुझ्न सकेन।
कोरोनाको पीसीआर प्रविधिबाट हुने परीक्षण विज्ञानमा आधारित परीक्षण विधि हो। पोजेटिभ वा नगेटिभ मन्त्रालयले होइन, प्रयोगशालाको विज्ञानले भन्ने हो। तर प्रयोगशालाको रिपोर्ट मन्त्रालय पुर्याएर किन लामो समयसम्म सार्वजनिक गरिएन ?
श्वास फेर्न गाह्रो भएर बाह्रविसेबाट एम्बुलेन्समा आएर धुलिखेल अस्पतालमा सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि लगत्तै उनलाई आइसीयुमा लगियो। श्वास फेर्न एकदमै गाह्रो भएपछि भेन्टिलेटरमा राख्ने क्रममै उनले संसार छोडिन्।
मन्त्रालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उनको निधन भएको मिति र समय समेत उल्लेख गरेको छैन। कोरोनाको पहिलो मृत्युमा सरकारको किन यति धेरै हेलचक्राइँ? निधन भएको समय र मिति जनतालाई भन्नु पर्छ कि पर्दैन ?
हामी कस्तो राज्य बनाउन खोज्दै छौँ? हाम्रा संयन्त्र कस्तो बन्दैछन् ? यी र यस्तै कुराले धेरै प्रश्न उब्जाएको छ, कोरोनाको पहिलो मृत्युबाट।
एउटी महिला सुत्केरी हुन त्रिवि शिक्षण अस्पताल पुग्छिन्। सुत्केरी हुनुअघि उनको रगतदेखि आवश्यक सबै परीक्षण गरिन्छ। प्रश्न यहाँनेर उब्जिन्छ, शंका लागेका व्यक्तिको कोरोना परीक्षण गरिन्छ भने अस्पताल भर्ना भएका बिरामीको किन परीक्षण गरिँदैन? त्यही बेला उनको कोरोना परीक्षण भएको भए सायद उनले ९ दिनको शिशुलाई छोडेर ज्यान गुमाउनु पर्दैन थियो कि !
धुलिखेलको घटनामात्रै होइन, बाँके नरैनापुरमा रहेको क्वारेन्टाइनमै आइतबार बिहान निधन भएका २५ वर्षीय युवकको घटनाले पनि सरकारको फितलो तयारीलाई थप उदाङ्गो बनाएको छ। भारतबाट गत वैशाख ३० मा बाँके आएर क्वारेन्टाइनमा बसेका युवकले पाँचौ दिनमा संसार छोडे।
यो पाँच दिनको अवधिमा सरकारी संयन्त्र कहाँ थियो? के गरेर बसेका थिए? क्वारेन्टाइनमा राख्ने मात्रै राज्यको दायित्व हो त? क्वारेन्टाइनको पनि छुट्टै मापदण्डहरु छन्। नियमित स्वास्थ्य परीक्षण, खानपान लगायतका मापदण्ड क्वारेन्टाइनमा पूरा गर्नुपर्ने हुन्छ। क्वारेन्टाइनमा पस्नुअघि तन्दुरुस्त देखिएका व्यक्ति कसरी मृत्युमा पुगे? कोरोना यी दुई निधनले दर्जन बढी प्रश्न राज्यसामू तेर्सिएका छन्।
सरकारको फितलो तयारीबारे त धेरै विश्लेषण भइसकेका छन्। तर, यो चार महिनाको अवधिमा सरकारले सीमा क्षेत्रमा क्वारेन्टाइन निर्माण गर्ने, सीमामा आइसकेकालाई क्वारेन्टाइनमा राख्ने र सबैको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउनु पथ्र्यो। त्यसो गर्दा लुकिछिपी नेपाल छिर्ने अवस्था सिर्जना हुँदैन थियो। तर, सरकारले यतातर्फ कुनै चासो देखाएन। बरु सरकारले लिएको नीतिका कारण कोरोना फैलन नपाएको लिडेढिपीमा व्यस्त रह्यो।
क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्ने मौका अझै सरकारसँग छ। ताकि क्वारेन्टाइनमा कसैको निधन नहोस्। निधन भइसकेपछि मात्रै कोरोना पुष्टि हुने अवस्था नआओस्।
भारतले रेल सेवा सञ्चालन गरिसकेको छ। अब रेल चढेर भारतमा रहेका हजारौं नेपाली सीमामा आइपुग्ने छन्। उनीहरुलाई थेग्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धौंधौं पर्नेछ। उनीहरु नेपाल छिरेपछि कोरोना प्रसार तीव्र हुनेछ। परीक्षणको गति कछुवा गतिमा छ। जेठ १ गतेसम्म २ लाख ७० हजारको पीसीआर प्रविधिबाट परीक्षण गर्दा १५ हजार कोरोना संक्रमित देखिने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको थियो।
तर, आइतबारसम्म २८ हजार १ सय ६० को मात्रै परीक्षण गरिएको छ। कोरोना संक्रमित भेटिएपछि र निधन भएपछि धमाधम अस्पताल सिल भइरहेका छन्। त्यसले अन्य रोग लागेकाले समेत उपचार नपाउने अवस्था आउन सक्ने खतराको घण्टी बजाएको छ।
अब कोरोना नियन्त्रणमा सरकारको रोडम्याप के हो? लकडान थप्ने र सीमामा आइपुगेका नागरिकलाई उतै रोक्ने र कछुवा गतिमा परीक्षण गरेर मात्रै त कोरोनाविरुद्धको लडाइमा विजय प्राप्त नहोला। खोक्रा गफ छाडेर साँच्चिकै कोरोनाविरुद्धको अभियानमा लाग्ने कि !