सरकारको लापरवाहीले कोरोना परीक्षण लक्ष्यभन्दा ११ गुणा कम
काठमाडौं, जेठ २ : कोरोनाभाइरसको पहिलो केस देखिएको झण्डै चार महिनाको अवधिमाा लक्ष्यभन्दा ११ गुणा
काठमाडौं, जेठ २ : कोरोनाभाइरसको पहिलो केस देखिएको झण्डै चार महिनाको अवधिमाा लक्ष्यभन्दा ११ गुणा कम कोरोना परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार अहिलेसम्म नेपालमा करिब २ लाख ७० हजारको कोरोना परीक्षण गरिसक्नु पर्ने थियो। तर हिजो (बिहीबार)सम्ममा जम्मा २२ हजार ६ सय ६४ जनाको मात्रै पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ। मन्त्रालयको एक सर्वोक्षण अनुसार पीसीआर प्रविधीबाट अहिलेसम्म ११ गुणा कम परीक्षण हुँदा संक्रमितको पहिचान हुन नसकेको हो।
सरकारले आरडिटी प्रविधीबाट भने बिहीबारसम्म ६२ हजार ३ सय २७ जनाको एन्टिबडी परीक्षण गरेको छ। आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपनि पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएपछि सरकारले पीसीआर परीक्षणलाई मात्रै आधिकारीकता दिएको छ।
मन्त्रालय स्रोतका अनुसार हाल १ लाख भन्दा बढी पीसीआर परीक्षणको लागि किट मौज्दात रहेको छ। तर परीक्षणको दायरा भने अझै पनि ठूलो समुहमा जान सकेको छैन।
अहिले विश्वभर कुल जनसंख्याको ०.०५ प्रतिशत मानिसमा कोरोना संक्रमण देखिएको छ। विश्वस्वास्थ्य संगठनले समेत कोरोनाको प्रसारलाई यही तथ्याङ्कको आधारमा विश्लेषण गरेको छ। स्वास्थ्यमन्त्रालय समेत यही तथ्याङ्कलाई आधार मानेर एक प्रक्षेपण रिपोर्ट तयार गरेको छ।
उक्त प्रक्षेपण अनुसार जेठ १ (बिहीबार)सम्म नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ९८ हुने उल्लेख थियो। तर परीक्षण नै लक्ष्यभन्दा निकै कम गरेपछि यो संख्या २ सय ५८ मात्रै भएको छ।
मन्त्रालयले नेपालको कुल जनसंख्याको ०.०५ प्रतिशत अर्थात १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो।
विश्वको अनुपातमा नेपालमा कोरोना संक्रमित नभेटिएको रिपोर्ट मन्त्रालयले तयार गरेको छ। स्रोतका अनुसार उक्त रिपोर्ट मन्त्रालयका अधिकारीहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बुझाइसकेका छन्।
तर, नेपालमा विश्वभरको ट्रेन्ड अनुसार कोरोना संक्रमित नभेटिनुमा परीक्षण माथि प्रश्न उठाइएको छ। नेपालमा पीसीआर प्रविधीमार्फत धेरै भन्दा धेरै कोरोना परीक्षण गर्नुपर्ने आवाज उठिरहेको छ।
तर, परीक्षण भने धिमा गतिमा भइरहेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले विश्वभर अवस्था हेरेर वर्कआउट मात्रै गरिएको बताए। ‘हामीले विश्वभर देखिएको ट्रेन्डलाई हेरेर वर्कआउट गरेका हौं,’ उनले भने, ‘वर्कआउट अनुसार नै नतिजा देखिनुपर्छ भन्ने छैन।’
उनका अनुसार नेपालमा प्रक्षेपित तथ्याङ्क अनुसारका संक्रमित हुन सक्ने र परीक्षणको दायरा बढाइदै लगिने बताए।
मन्त्रालयले परीक्षणको दायरा बढाउँदै लगेकोले अहिले संक्रमितको संख्या पनि थपिँदै गएको जनाएको छ। शंका लागेका व्यक्ति, क्वारेन्टाइन बसेका, नाकाबाट भागेर आएका व्यक्ति, फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, संक्रमितको सम्पर्कमा वा संक्रमितले शंका गरेका व्यक्ति, फ्रन्ट लाइनमा खटेका सुरक्षाकर्मी र फ्रन्ट लाइनमा रहेका पत्रकारहरुको पनि कोरोना परीक्षण अनिवार्य गरिने मन्त्रालयको भनाइ छ। जिल्ला र स्थानीय तहले जोखिम मुल्याङ्कन गरेर कम्तीमा जिल्लाको कुल जनसंख्याको १ प्रतिशत परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक उच्च अधिकारीले ०.०५ प्रतिशत संक्रमित हुने अनुमानसहित अनिवार्य परीक्षण बढाउनुपर्ने बताए।