वीरगञ्ज कोरोनाको ‘इपिसेन्टर’ बन्ने खतरामा !
काठमाडौं, जेठ १ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि विस्तारै बढ्दै
काठमाडौं, जेठ १ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि विस्तारै बढ्दै गएका छन्। नेपालमा बिहीबार बिहानसम्म २४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी नेपालको ठूलो व्यापारिक केन्द्र पर्साको वीरगञ्जका रहेका छन्। संक्रमित २४५ मध्ये वीरगञ्जका मात्रै ८५ जना रहेका छन्। यही हिसावले कोरोनाका संक्रमित बढे वीरगञ्ज कोरोनाको इपिसेन्टर बन्ने खतरा देखिएको छ।
एक महिनाअघि चैत ३० गते पहिलो कोरोनाका संक्रमित भेटिएको वीरगञ्जमा अहिले त्यसको दर ह्वात्तै बढेर कोरोनाको उपचार हुने नारायणी उपक्षेत्रीय अस्पताल बिरामीले भरिएको छ।
कोरोना राकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरालाई बढाएर सुरक्षामा कडाइ नगर्ने हो भने वीरगञ्ज ‘कोरोनाको इपिसेन्टर’को बन्ने चिकित्सकहरुको भनाइ छ।
नारायणी अस्पतालका चिकित्सक डा. उदय सिंह पर्सामा कोरोना तेस्रो चरणमा प्रवेश गरिसकेको बताउँछन्। ‘वीरगञ्जमा कोरोना तेस्रो चरणमा प्रवेश गरेको छ,’ डा. उदय सिंहले काठमाडौंप्रेससँग भने, ‘सरकारले तत्कालै स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी बढाएर हजाराैंको परीक्षण गर्नुपर्ने देखिन्छ। नत्र अवस्था भयावह हुनसक्छ।’
नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि सुरुमा पाँच वटा मात्रै शैया छुट्याइएको थियो। संक्रमित बढेसँगै त्यसपछि क्रमशः २५ र ५० हुँदै अहिले एक सय शैया पुर्याइएको छ। ‘संक्रमितको संख्या बढेसँगै अब ठाउँ अभावका कारण उपचार गर्न नसकिने अवस्था सिर्जना भएको छ,’ डा. सिंहले भने।
वीरगञ्जमा अहिले संक्रमितको कन्ट्याक ट्रेसिङमात्रै भएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण हुन बाँकी नैछ। त्यसैले चिकित्सकहरुले अब कोरोनाको परीक्षण समुदाय स्तरमा व्यापक मात्रामा गर्नुपर्ने बताउँछन्।
‘अहिले कन्ट्याट ट्रेसिङको काम भइरहेको छ,’ सिंहले भने, ‘तत्काल दुई हजारदेखि पाँच हजारको संख्यामा जोखिमा देखिन्छ उनीहरुको परीक्षण गरिहाल्नु पर्छ।’
कोरोना संक्रमितको उपचारका लागि पर्याप्त संरचना र साधन नहुँदा समस्या परेको उनको भनाइ छ। डा. सिंहका अनुसार कुल ८५ संक्रमितमध्ये १६ जना अझै अस्पताल भर्ना भएका छैनन्।
उपचार खएिका डा. सिंहले कोरोना संक्रमितका लागि उपचार गर्ने भौतिक संरचनाको अभावदेखि परीक्षणका लागि आवश्यक भिटिएमको समेत अभाव रहेको बताए।
‘तत्काल वैकल्पिक अस्पतालको स्थापना गर्नुपर्ने आवश्यकता छ। परीक्षणका लागि आवश्यक भिटिएमको समेत अभाव छ,’ उनले भने, ‘हामी कहाँ भेन्टिलेटरको समेत अभाव छ। अहिलेसम्म धन्न कोरानाका गम्भीर संक्रमित छैनन्। भोलिका दिनमा गम्भीर बिरामी देखिए अवस्था भयावह हुनसक्छ। आवश्यक तयारी गर्ने समय भइरहेको छ।’
वीरगञ्जमा फ्रन्टलाइनमा खटिएर जनतासामू सूचना संप्रेषण गर्ने पत्रकारसँगै जेलमा रहेका कैदीबन्दीमा पनि कोरोनाको संक्रमण पुष्टि भएकाले अझै भयावह रुप लिने यसले संकेत गरेको छ। त्यसैले कोरोना परीक्षणको दायर समुदायस्तरसम्म पुर्याउनु पर्ने चिकित्सकहरुले बताएका छन्।