Kathmandu Press

भक्तपुरमा कोरोना, सुनसरीको झुम्कामा त्रास

काठमाडौं, वैशाख ३१ : मंगलबार भक्तपुरकी युवतीमा कोरोना संक्रमण देखिएपछि सुनसरीको झुम्कामा त्रास बढेको

भक्तपुरमा कोरोना, सुनसरीको झुम्कामा त्रास
Hardik ivf

काठमाडौं, वैशाख ३१ : मंगलबार भक्तपुरकी युवतीमा कोरोना संक्रमण देखिएपछि सुनसरीको झुम्कामा त्रास बढेको छ।

मंगलबार राति भक्तपुरकी २५ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भयो। पेशाले नर्स रहेकी युवतीको दुई महिने ट्राभल हिस्ट्री हेर्दा सनसरीको झुम्का कोरोनाको रेड जोनमा पर्न सक्ने देखिन्छ।

लकडाउन हुनु अघिदेखि नै रामधुनी नगरपालिका वडा नं.४ स्थित आफ्नो घरमा बसेर ती युवती वैशाख २९ गते भक्तपुर फर्किएकी थिइन्।

उनी दुई महिनादेखि रामधुनीमै बसेको पाइएपछि त्यसक्षेत्रमा अहिले त्रास बढेको हो। ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत उनी झुम्काबाट फर्किएर भक्तपुरस्थित आफ्नो साथीको कोठामा बसेकी थिइन्।

रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले वडा नं. ४ को सिन्धुली टोलमा बसेकी युवतीमा कोरोना संक्रमण देखिएपछि झुम्का क्षेत्रमा त्रासको वातावरण देखिएको बताए।

‘२९ गते झुम्काबाट काठमाडौं गएकी उनको कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि यहाँका मानिसहरु केही डराएका छन्,’ मेयर चौधरीले काठमाडौं प्रेससँग भने, ‘सिन्धुली टोलका सबैलाई घरमै बस्न, बाहिर हिँडडुल नगर्न भनेका छौं । लामो समय उनी यहीँ बसेर थुप्रै ठाउँमा हिँडडुल गरेको पाइएकाले रामधुनीलाई रेडजोनमा राखेर सतर्कता अपनाएका छौं।’

बुधबार बिहानै ती युवतीसँग सम्पर्कमा रहेका परिवारसहित १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा पठाइएको मेयर चौधरीले बताए।

‘उनीहरुको रिपोर्ट आएपछि यहाँको अवस्था जटिल हुने हो होइन भन्ने थाहा हुन्छ,’ उनले भने। अहिले सिन्धुली टोलका बासिन्दालाई सुरक्षित रहन भनिएपनि गाउँलाई सिल भने नगरिएको उनले बताए।

परीक्षणको रिपोर्ट पोजेटिभ आए गाउँ सिल गर्ने तयारी नगरपालिकाले गरेको छ ।

यस्तै रामधुनी वडा नंं.४ का वडाअध्यक्ष मनिष चौधरीले ती युवती चैत १० गते भक्तपुरबाट झुम्का आएर लडाउन सुरु भएदेखिनै यतै रहेको बताए। ‘उनी अफिस बिदा लिएर १० गते घर आएकी थिइन्, लगत्तै लकडाउन सुरु भएपछि सिन्धुली टोलमै बसिरहेकी थिइन्,’ वडाध्यक्ष चौधरीले भने, ‘केही दिनअघि अस्पतालले काममा फर्किन भनेपछि उनी काठमाडौं गएकी हुन् ।’

उनलाई काठमाडौंसम्म जानका लागि उनी कार्यरत अस्पतालले नै सवारी पास बनाएर पठाएको वडाध्यक्ष चौधरीले बताए। उनका अनुसार ती युवती गाउँकै एक जना युवकको गाडीमा २९ गते काठमाडौं फर्किएकी हुन्।

ती युवती वडा कार्यलयकै एक कर्मचारीको परिवारको सदस्य रहेकाले आफूहरु पनि जोखिममा रहेको वडाध्यक्ष चौधरीले बताए। ‘उहाँ हाम्रै कार्यालयमा कार्यतर एक जना कर्मचारीको परिवारको सदस्य हुनुहुँदो रहेछ, त्यसले गाउँलेसँगै हामीहरूमा पनि त्रास सिर्जना भएको छ। परिवारको रिपोर्ट आएपछि वडा कार्यालयका सम्पूर्ण कर्मचारीको परीक्षण गराउँछौं, अहिले पनि सबैलाई बाहिर नहिँड्न भनेका छौं।’

 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, वैशाख ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्