महामारीमा समाचारकक्ष : धेरै चुनौती, थोरै अवसर
काठमाडौं, वैशाख ३० : कोरोना भाइरसकाे महामारी फैलिन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेयता अधिकां
काठमाडौं, वैशाख ३० : कोरोना भाइरसकाे महामारी फैलिन नदिन सरकारले देशव्यापी लकडाउन घोषणा गरेयता अधिकांश पत्रकारहरू घरबाटै काम गर्न बाध्य छन् । तर समाचार संकलन यस्तो कर्म हो, जसका लागि फिल्डमा जानु, घटना–दृश्यहरूको प्रत्यक्ष अवलोकन गर्नु र धेरैभन्दा धेरै स्रोतहरूसँग अन्तक्रिया गर्नु जरूरी हुन्छ । नत्र समाचार रङविहीन हुन्छ । समाचारमा सत्यताको अंश पनि कम हुने जोखिम हुन्छ।
तर, यस्तो दुरुह परिस्थितिमा पनि सूक्ष्म विवरणहरू खोज्न, सत्य पर्गेल्न र जनतालाई सही सूचना दिन नेपाली मिडिया सफल भएको छ । पत्रकारहरूले लकडाउनलाई चुनौतीका रुपमा मात्र नभई अवसरका रुपमा समेत लिएका छन्।
‘लकडाउनले असहज त भएको छ, तर हामीलाई यसले प्रविधिमैत्री बन्ने अवसर समेत दिएको छ,’ नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान भन्छन्, ‘नयाँ सफ्टवेयर प्रयोग गर्दा सहज भएको छ। लकडाउनले चुनौतीका बीच नयाँ सिकाई पनि थपेको छ।’
अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापा घरमै बसेर काम गर्न नयाँ सिस्टमको विकास गर्नुपरेकाले केही असहजता भएको बताउँछन्। ‘नयाँ सिस्टम बनाउनु परेको छ। कोअर्डिनेसनमा समस्या भएको छ। तर, पनि घरबाटै काम गरिरहेका छौं,’ उनले भने।
कोरोना संकट कसैले सोचेको विषय थिएन। न त यसबारे कसैलाई कुनै अनुभव नै थियो । हरेक क्षेत्रमा यसले मानिसलाई नयाँ तरिकाले सोच्न बाध्य बनाइदिएको छ।
याे पनि : महामारी मिडिया : नेपालका ५० प्रतिशत पत्रकारको रोजगारी संकटमा
पत्रकारहरुका हकमा समेत यस्ता महामारीको अनुमान गरेर भविष्यको योजना बनाएर काम गर्नुपर्ने अवस्था देखिएको नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलको भनाई छ। ‘नेपाली पत्रकारिताले विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा चुनौती मोलेको थियो। तर, अहिलेको चुनौती नितान्त फरक हो,’ उनी भन्छन्, ‘मिडिया सञ्चालकदेखि पत्रकारसम्मले भविष्यमा आइपर्ने संकटका बारेमा योजना बनाएर काम गर्नुपर्ने अवस्था अब देखिन्छ।’
तर, सम्पादकहरू कोरोना संकटले पत्रकारिता क्षेत्रमा थुप्रै समस्या समेत सिर्जना गरेको बताउँछन्। बेरोजगारी बढ्ने देखि फेक न्यूजका भाइरल कन्टेन्ट पत्रकारिता क्षेत्रका लागि चुनौती बन्न पुगेका छन्।
अहिलेको संकटमा मिडिया हाउस टिकाउने समस्या त छँदैछ, अर्को तर्फ पत्रकारिताको विश्वसनीयता टिकाउनुपर्ने चुनौती पनि उत्तिकै छ।
‘लकडाउनका बेला भएका घटना र कोरोनासँग जुध्न सरकारको फितलो तयारीले यो बेला झन बढि सरकारले सूचना लुकाउन सक्ने अवस्था समेत सिर्जना हुन्छ। कतिपय अवस्थामा टेलिफोनबाट सूचना लिँदा र फिल्डमा नजाँदा सूचना लुक्ने अवस्था रहन्छ,’ अन्नपूर्ण पोस्टका प्रधानसम्पादक थापा भन्छन्, ‘पाएका सूचना भेरिफाइड गर्न समेत चुनौती छ। फिल्डमा जाँदा जसरी डकुमेन्ट ल्याइन्थ्यो, घरमा बसेर त्यो सम्भव हुँदैन। कोटको भरमा समाचार लेख्दा, छाप्दा जुन कन्फिडेन्स लेभल हुन्थ्यो, त्यो हुँदैन।’
थापाको तर्कसँग नयाँपत्रिकाका सम्पादक चौहानको मत पनि मिल्छ। खासगरी सरकारी तहमा उपलब्ध गराउनुपर्ने सूचना उपलब्ध नगराउँदा जनताको अधिकार कुण्ठित हुने अवस्था रहेको सम्पादक चौहानको भनाई छ।
‘हाम्रो राज्य प्रणाली आमरुपमा सूचना दिने कुरामा मितव्ययी नै हो। तर, अहिले जनताले थाहा पाउनुपर्ने र उनीहरुको अधिकारक्षेत्रभित्र पर्ने सूचना दिन पनि कर्मचारीहरु त्रसित बनेका छन्,’ चौहान भन्छन्, ‘त्यसैले पत्रकारले सूचना ल्याउन बढी नै मेहनत गर्नुपर्ने अवस्था कोरोनाले झनै थपेको छ।’
लकडाउनको बेला अन्य क्षेत्रका कर्मचारी, मजदुर लगायतले खेप्नु परे जस्तो सास्ती पत्रकारहरुले खेप्नु परेको छैन। तर, सुरक्षाका हिसाबले भने पत्रकारहरु पनि जोखिममा छन्। ‘तुलनात्मकरुपमा हामीले पाएको दुःख कम हो। किनभन्दा हाम्रो काम सूचना संकलन र सम्प्रेषण गर्ने हो। सूचना संकलन गर्न आवतजावत गर्न, मान्छे भेट्न, अन्तरवार्ता गर्न र समाचार लेख्न हामीलाई अवरोध छैन,’ चौहान भन्छन्, ‘तर, फिल्डमा जाँदा, अस्पताल, कर्मचारी, मजदुर, नेता भेट्न जाँदा पत्रकाहरुले आफुलाई सुरक्षित राख्नु ठूलो चुनौतीको विषय हो।’
बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधान लकडाउनका कारण मानिसहरु घरमै बसिरहेको अवस्थामा उनीहरुले धेरै र सत्य समाचार चाहेको बताउँछन्। तर, त्यसका लागि सूचना संकलन गर्न पत्रकारहरुलाई गाह्रो अवस्था सिर्जना भएको उनको भनाइ छ।
‘बन्दाबन्दीमा मानिसहरु घरमै बस्न बाध्य छन्। जसका कारण उनीहरुलाई सत्य सूचना चाहिएको छ। त्यसैले पत्रकारको जिम्मेवारी बढेको छ,’ उनी भन्छन्, ‘तर धेरै पत्रकार सार्वजनिक यातायात प्रयोग गर्छन्। अहिले त्यो सम्भव छैन। सरकारी कार्यालय समेत बन्द रहेको अवस्थामा त्यहाँको सूचना स्रोत गुमेको छ भने मिडिया हाउसको आर्थिक अवस्था कमजोर बनेका कारण उनीहरु जागिर जाने त्रासमा समेत बस्नु परेको छ।’
नेपालमा स्वास्थ्य बिटमा मिडिया हाउसले लगानी नगरिरहेको र सिमित जनशक्ति रहेको अवस्थामा महामारीको रिपोर्टिङमा समस्या आएको प्रधानको भनाइ छ। ‘अहिले महामारी छ। स्वास्थ्य सम्बन्धि विषय मिडियाको कम प्राथमिकतामा पर्दै आएको छ। यससम्बन्धी कसरी समाचार डेभलप गर्न सकिन्छ, त्यो सिकाइएन,’ उनी भन्छन्, ‘सँगै समाचार संलकनमा जाँदा पत्रकारहरुका लागि पीपीई छैन, राम्रो मास्क छैन, ग्लोब्स छैन। यसले जोखिम बढाएको छ।’
फेक न्यूज मुख्य चुनौती, राज्य सूचना लुकाउन उद्यत
कोरोना संक्रमण मानिसमा फैलिए जस्तै फेक न्यूजको संक्रमण सामाजिक सञ्जालमा बेलाबखत फैलिन्छन्, फैलाइन्छ। यस्ता फेक न्यूजलाई चिरेर सत्य, तथ्य सूचना पाठक माझ लैजानु पत्रकारिताका लागि मुख्य चुनौतीको विषय हो।
‘अहिले पत्रकारका लागि सही सूचना दिनुपर्ने चुनौती छ। किनभन्दा सामाजिक सञ्जालबाट कोरोनाबारे होस् वा घर हिँडेका मानिसहरुका बारेमा होस्। कुनैपनि बेला गलत समाचार भाइरल हुन सक्छ। हामीले त्यस्ता गलत समाचारलाई चिर्न, भेरिफिकेसन गर्नुपर्ने र सत्य समाचार जनता माझ पुर्याउनुपर्ने हुन्छ,’ चौहान भन्छन्, ‘सही समाचार दिने कुरामा हामी चुक्नु हुँदैन।’
गलत सूचना सम्प्रेषण भए पत्रकारिता क्षेत्रको विश्वसनीयता माथि नै प्रश्न उठ्ने भएकाले संकटको बेला थप चनाखो हुनुपर्ने अवस्था आएको नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेलको भनाई छ।
‘यस्तो बेला गलत सूचना आउन सक्छ। थप सजग हुनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘सानो गल्ती भयो भने आलोचना हुन्छ। र मिडिया हाउससँगै पत्रकारको विश्वसनीयतामा प्रश्न उब्जन्छ।’
चुनौती र समस्याका बीच पनि प्रेसकै माध्यमबाट जनतामा कोरोना सम्बन्धि सचेतना जागेको लुइँटेलको भनाइ छ। ‘चीनको वुहानबाट संक्रमण सुरु भएसँगै प्रेसले वैज्ञानिक तथ्यमा टेकेर जसरी समाचार सम्प्रेषण गरे। त्यसले जनतालाई सजग र सचेत बनाउन सहयोग गरेको छ,’ लुइँटेल भन्छन्, ‘त्यसैले अबका दिनमा पनि फेक न्यूजलाई चिर्ने र जनतालाई आवश्यक समाचार सम्प्रेषण गर्ने चुनौती हामी माँझ छ।’
प्रधानमन्त्रीलेनै पत्रकारलाई सुचना दिनु अपराध हो भन्ने किसिमको मानसिकता खडा गरिएकाले सूचना संकलनसँग त्यसको भेरिफिकेसनमा समस्या भएको प्रधान बताउँछन्।
‘राज्यको आधिकारीक व्यक्ति प्रेससँग कम बोल्ने, प्रेसमा आएको विषयले अवगाल पर्छ की भन्ठान्ने प्रवृत्ति छ। नेतृत्व तहमा बसेकाहरुले नै पत्रकारलाई सूचना दिने काम गलत हो भन्ने मानसिकता तयार गरिदिएका छन्,’ उनले भने, ‘सम्बन्धित ठाँउ र व्यक्तिले फोन उठाउँदैनन्। त्यसैले सूचना भेरिफिकेसनमा समस्या छ। अहिले त थाहा नभएको नयाँ विषयमा समेत कमन सेन्सले काम गर्नुपर्ने अवस्था छ।’