‘मोदीसँगको टेलिफोन वार्तामा सुशील’दाले लिपुलेक हाम्रो भनेपछि नाकाबन्दी लाग्यो’
काठमाडौं, वैशाख २८ : भारतले शुक्रबार नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा क्षेत्रहुँदै निर्माण गरेको कै
काठमाडौं, वैशाख २८ : भारतले शुक्रबार नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा क्षेत्रहुँदै निर्माण गरेको कैलाश मानसरोवर सडक उद्घाटन गरेपछि नेपालमा व्यापक विरोध भइरहेको छ।
२०७२ मा भुकम्पको महाविपत खेपिरहेका बेला छिमेकी देश भारत र चीनले बेइजिङमा उक्त सडक बनाउने सहमती गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नेपाली भूमि लिपुलेकलाई द्विदेशीय व्यापारिक नाका बनाउने सहमति भएको थियो।
त्यो बेला सरकारको नेतृत्वमा थिए, कांग्रेसका तत्कालिन सभापति सुशिल कोइराला। दुई देशबीच नेपालको भूमी अतिक्रमण गर्दै व्यापारिक नाका बनाउने सहमति गरेपछि कोइरालाले त्यसमा नेपाल सरकारको रिजर्भसेशन राख्दै तुरुन्तै कुटनीतिक नोट पठाएका थिए। कोइरालाले सन् २०१५ मेमा नेपालले दुवै देशलाई व्यापारीक नाका बनाउने सहमतीको प्रोटेस्ट नोट पठाएको थियो।
तत्कालिन प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार कुटनीतिक नोटको भाषासमेत कोइरालाकै निर्देशनमा लेखिएको थियो। ‘सुशिल दाले जे भन्नुभयो, हामीले अक्षरस कुटनीतिक नोटमा त्यही भाषा राखेका थियौं,’ भट्टराईले काठमाडौं प्रेससँग भने।
उक्त प्रेस नोटमा भनिएको थियो, ‘लिपुलेक नेपालको जमिन हो। नेपालको सिमा भित्र पर्छ। हाम्रो जानकारी विना, हाम्रो विना स्विकृती र हामी संलग्न नभइ दुई देशले कसरी व्यापारीक नाका बनाउने सहमति गर्न सक्छन्। यो हामीलाई मान्य छैन। लिपुलेक नेपालको हो, तत्काल सहमती सच्चाइयोस्।’
भारत–चीन सम्झौतापछि कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्तासमेत गरेका थिए। मोदीसँगको टेलिफोन वार्तामा कोइरालाले भारत–चीन सम्झौताको विरोध गरेका थिए। ‘लिपुलेकको कुरा के हो ? हाम्रो भूभागबारे हामीलाई जानकारी नदिइ बेइजिङमा कसरी सहमती गर्नुभयो,’ कोइरालाको भनाई उदृत गर्दै भट्टराईले भने।
टेलिफोन वार्ताकै क्रममा कोइराला मोदीसँग कड्किएको भट्टराई सम्झन्छन्। ‘नेपालको कुरा, नेपाली भूमीको कुरा मैले नउठाए कसले उठाउँछ ? भनेर सुशिल दाले मोदीसँग भन्नुभएको थियो,’ भट्टराई भन्छन्।
बेइजिङ सम्झौताको विरुद्दमा जारी गरिएको कुटनीति नोटसँगै मोदीसँगको टेलिफोन वार्ताका कारण कोइरालाको तय भइसकेको भारत भ्रमण रोकिन पुगेको थियो। कोइरालाले २०१५ जुन १२–१४ मा भारतको राजकीय भ्रमण गर्ने तय भइसकेको थियो। तर, अन्तिम समयमा ‘उपर्युक्त समयमा मिलाएर पछि गरिने’ भन्दै उक्त भ्रमण रद्द भएको थियो। त्यसको मुख्य कारण कोइरालाले लिपुलेकका विषयमा राखेको रिजर्भसेन थियो।
‘उहाँको भारत भ्रमण मात्रै रोकिएन, लिपुलेक हाम्रो हो भनेर आवाज उठाएकै कारण भारतले संविधान जारी गरेपछि नेपालमा नाकाबन्दी गरेको हो,’ भट्टराई भन्छन्, ‘सुशिल’दा हुँदा लगाएको नाकाबन्दी त्यतीबेला राष्ट्रवादी भनिएका केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक महिनापछि खुलेको थियो।’
कोइराला नेतृत्वको सरकारले चालेको कदमको ओली सरकारले फलोअप गर्न नसक्दा आज भारतले नेपाली भूमी मिचेर सडक निर्माण गरी उद्घाटन गर्ने अवस्था आएको भट्टराई बताउँछन्। ‘पूर्वधिकारीले उठाएका कुरालाई गम्भीररुपमा लिएका छौं, लिपुलेक हाम्रो भनेर ओलीले त्यो बेला बोलेको भए दुवै देशले गम्भीररुपमा लिन्थे,’ भट्टराई भन्छन्, ‘तर, कांग्रेसले उठाएको कुरा उठाउँदिन भन्ने पर्यो होला। यो बीचमा नेपाली प्रधानमन्त्रीको दुवै देश र भारतका प्रधानमन्त्रीसँगै चिनियाँ राष्ट्रपतिको समेत नेपाल भ्रमण भइसक्यो। यो कुरा उठ्न सकेन। त्यसैले यो कोइरालाको मात्रै कुरा रहेछ भनेर दुवै देशलाई परेको हुन सक्छ।’
कोइरालाले त्यो बेला ‘हाइ लेभल’मा कुरा उठाएपनि फलोअप हुन नसक्नु नै दुर्भाग्यर्पूण रहेको भट्टराईको भनाइ छ।