मिर्गौला पीडित बालक दिनदिनै सोध्छन्, ‘दिदी, म कहिले निको हुन्छु?’
काठमाडौं, वैशाख २३ : तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने ११ वर्षीय सन्दीप अधिकारी लकडाउनका कारण स

काठमाडौं, वैशाख २३ : तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने ११ वर्षीय सन्दीप अधिकारी लकडाउनका कारण समस्यामा परेका छन्। जग्गाजमिन बेचेर उपचार गर्दै आएका उनको परिवारलाई लकडाउनमा लाखौं रुपैयाँ जुटाउन सकस भएको हो।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ का सन्दीप गत वर्ष साउनमा बिरामी भएका थिए। ज्वरो र खोकी लाग्न थालेपछि उनका आमाबुवा ललिता र केदारले नजिकैको मेडिकलमा लगे ।
मेडिकलले दिएको सिटामोल र खोकी लागेको औषधि खाए । त्यो निको हुनुको सट्टा जिउनै सुन्निन थाल्यो । त्यसपछि उनीहरुले काठमाडौंको कान्ती बाल अस्पतालमा थप उपचारका लागि ल्याए।
‘कान्तिका डाक्टरले अवस्था गम्भीर छ । आईसीयूमा राख्नुपर्छ, तर यहाँ आईसीयू खाली छैन। पाटन लैजानुस भन्नुभयो’, सन्दीपकी दिदी स्मृतिले भनिन् । लगत्तै उनीहरुले सन्दीपलाई पाटन अस्पताल पुर्याए।
स्वास्थ्य परीक्षण गरेपछि डाक्टरहरुले प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए। र, त्यसका लागि सिभिल अस्पताल लैजान सल्लाह दिए। ‘आठ दिन सिभिल अस्पतालमा राखौं,’ स्मृती भन्छिन्, ‘आठ दिनमा आठ लाख रुपैयाँ सकियो।’
त्यसपछि उनीहरुले पाटन र सिभिल ओहोरदोहोर गरिरहे। ‘पाटन र सिभिल गर्दागर्दै छोटो समयमै २० लाख खर्च भयो,’ स्मृती भन्छिन्।
चार महिनासम्म ओहोरदोहोर गर्दा पनि सन्दीपको अवस्था ठीक भएन्। चिकित्सकहरुले उनलाई मिर्गौलाको डाइलासिस गर्नुपर्ने बताए।
हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने र ठीक हुने बताए। उनलाई डिस्चार्ज पनि गरे।
सिन्धुपाल्चोकबाट हप्तामा दुई दिन ओहोरदोहोर गर्न सजिलो थिएन्। डायलासिस पाटन अस्पतालमा हुन्थ्यो। उनको परिवारले अस्पताल नजिकै डेरा लिए। त्यहिबाट सन्दीपको डायलासिस गर्न थाले।
‘हप्तामा दुईपटक डायलासिस गनुपर्ने भएकाले पाटन अस्पताल नजिकै कोठा भाडामा लिएर बस्न थाल्यौं। कहिले कम भएजस्तो हुन्थ्यो, कहिले बढि हुन्थ्यो। एक्लै छोड्न मिलेन। डायलासिसबिना बाच्न नसक्ने अवस्था आयो। हामी पनि यतै बस्न थाल्यौं’, स्मृतीले भनिन्।
यो क्रम चलिरहेकै थियो। एक्कासी डाक्टरले दुवै मिर्गौला खराब भएको जानकारी दिए । ‘डाक्टरले दुवै मृगौला खराब भएका छन्। तत्काल मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्छ, नत्र अवस्था गम्भीर हुन्छ भने,’ स्मृती भन्छिन्, ‘त्यसका लागि पैसा खोज्नुस्, २५ लाख लाग्छ भनेका छन्।’
यो एक वर्षमा सन्दीको परिवारले आफूसँग भएको पैसा सकेका छन्। छरछिमेकी र आफन्तबाट ऋण लिएका छन्। जग्गा जमिन बेचेका छन्। घर पनि बैंकमा राखेर ऋण निकालेका छन्। ‘अलिहेसम्म ४० लाख रुपैयाँ जति खर्च भयो। अझै निको भएको छैन,’ सन्दीपकी दिदी स्मृती भन्छिन्।
सन्दीपका आमाबुवा खेतीपाती गर्छन्। कुनै आयआर्जनको स्रोत छैन्। ‘यो एक वर्षमा भाइको उपचारका लागि घरजग्गा बैंकमा राखेका छौं। बैंकको किस्ता नतिरे घरजग्गा जाने डर छ। गाउँघरबाट निकालेको ऋण तिर्न सकिएको छैन। यता भाइलाई पनि बचाउँन कठिन भएको छ,’ स्मृती भन्छिन्, ‘सन्दीपलाई बचाउँन सकिँदैन कि भनेर आमाबुवा नै बिरामी जस्ता भएका छन्।’
अहिले सन्दीपको डायलासिस चलिरहेको छ। हप्तामा दुई पटक डायलासिस हुने गरेको उनले बताइन्। सन्दीपको लागि हप्तामा १० हजार रुपैयाँ जति खर्च भइरहेको उनले सुनाइन्।
झन्डै डेढ महिनादेखिको लकडाउनले ऋण निकालेर लिएको पैसा पनि सकिएको छ। थप पैसाको जोहो गर्न यताउता जान पाएका छैनन्। ‘पैसा छैन, खाना खानै समस्या भएको छ,’ स्मृती भन्छिन्, ‘यो लकडाउनमा कहाँ जानु? कोसँग पैसा माग्नु? आपत भएको छ।’
गाउँघरतिर गएर ऋण निकाल्न पनि नसकिएको उनले बताइन्। ‘लकडाउनले कसैसँग सहयोग माग्न पनि सकेका छैनौं,’ उनले भनिन्।
कक्षा ६ मा भर्ना हुनुअघि सन्दीप बिरामी भएका थिए। पढाइमा पनि अब्बल उनी कक्षा ५ सम्म जहिल्यै पहिलो या दोस्रो भए। चञ्चल स्वभावका उनी जोसँग पनि हाँसखेल गर्ने, बोल्ने गरेका थिए।
एक वर्षयता भने परिवारजनसँग पनि धेरै बोल्दैनन्। आमाबुवा नजिक हुँदा पनि चुपचाप पल्टिराख्छन्। दिदी स्मृतीलाई भने सोध्ने गर्छन, ‘दिदी, म कहिले निको हुन्छु?’
स्मृतीसँग कुनै जबाफ छैन। उनी भाइ नजिक जान पनि अप्ठ्यारो मान्छिन्। स्मृती भन्छिन्, ‘बचाउँन सकिँदैन कि भन्ने डर लाग्छ। छेकिएर यताउता बस्छु। आफ्नै मान्छेसँग भागेर बस्नुपर्दा साह्रै पीडा हुँदोरहेछ।’












-(86)-1764936079.jpg)