Kathmandu Press

कथा : ‘मृत प्रेम’

केही थान किताब धुलाम्य छन्, लत्ताहरू यत्रतत्र छरिएका छन् । भाँडा नमाझेको  तीन दिन पो भएछ क्यारे । काठमाडौंको एक्

कथा : ‘मृत प्रेम’

केही थान किताब धुलाम्य छन्, लत्ताहरू यत्रतत्र छरिएका छन् । भाँडा नमाझेको  तीन दिन पो भएछ क्यारे । काठमाडौंको एक्लो बसाइ, प्रायः कोठामा खाना पकाउँदिनँ । एकोहोरो स्वभाव हुन पुगेको छ, आफैँसँग बात मार्न रुचाउँछु, घरको काममा अलमलिन मन लाग्दैन । प्रायः किताबसँग समय बिताउँछु, आफूलाई उपन्यास–कथाको मुख्य पात्र बनाएर किताबी संसार डुल्छु । 

साथीहरू कम छन्, त्यसमा घनिष्ठ झनै कम  । कोही साथी आउने भयो भने कोठा सिनित्त पारिहाल्छु, आधा–एक घन्टामै । नत्र केही थान जुठा थाल, कचौरा, प्लेट लगायत निकै दिन बाटामा रहन्छन् । 

कोठाको यही लथालिंगे अवस्थामै ल्यापटप खोलेँ । फेसबुक त हेरिसाध्य थिएन । नवजोडीका फोटो हेर्छु, दंगदास पर्छु । कति धेरै माया प्रकट हो बाबै, ती फोटोहरूमा । एउटा परिचित अनुहार देख्छु, ‘लौ, यो तोर्पे त अस्तिसम्म तपाईंलाई माया गर्छु, हजुर त मेरो मार्गदर्शन हो, हामी विवाह गरौं भन्दै पछि लाग्थ्यो, आज त आफ्नी नवदुलहीसित अँगालो हाँल्दै नजर जुधाएको, खुट्टामा पायल लगाइदिएको फोटो राखेको छ, क्याप्सन छ– माई वाइफ, माई लाइफ ।

Hardik ivf

एक्लै मुर्छा परेर हाँसें । दैव, संसारमा माया कति सस्तो भाको ! मान्छेहरू कति सजिलै जो कसैलाई माया गर्न सक्छन्, अनि बिर्सन पनि... ।

स्टाटस नलेखेको धेरै भयो । किबोर्डमा औँला डुलाउँछु, केही फुर्दैन । आफैँसँग गुनासो गर्छु– छ्या, के भएकी म ! नहेरिएका नोटिफिकेसन, फ्रेन्ड रिक्वेस्ट, म्यासेजमा क्लिक गर्छु । 

खासै महत्त्वपूर्ण सन्देश होइनन् । उही हेलो, कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ ? जसमा जवाफ दिन आवश्यक ठान्दिनँ । एउटा म्यासेज रिक्वेस्टमा आँखा पुग्छ, नाम छ– आर्जन । यो नाम विशेष लाग्यो, कहिलेकाहीँ मान्छेको नामप्रति मात्रै पनि आकर्षित भइँदोरहेछ, भलै त्यो गुमनाम नाम होस् । 

‘हेलो, काव्याजी नमस्ते, म हजुरकै पाठक है, नियमित पढ्छु,’ सँगै स्माइल टाँसेको रहेछ । 

अर्को लाइन थियो– ‘ह्याप्पी बड्डे, आजको आर्टिकल राम्रो लाग्यो, तर यो थप्नु भएको भए अझ दमदार हुने थियो, कम भने छैन है ।’ 

ऊ  मैलाई नियमित फलो गर्दो रहेछ । उसको म्यासेजको शृंखला लामै रहेछ, तर मैले हेर्न भ्याएकी रहिनछु । 

एकपटक उसको प्रोफाइलमा हेर्न मन लाग्यो, म उसै पनि अरुको प्रोफाइल हेर्दिनँ तर उसको नहेरी सकिनँ, नाम नै खास लागेको थियो ।

प्रोफाइलमा खास केही थिएन, दुई–चारवटा प्रकृतिका फोटा, केही साना केटाकेटीका फोटा र मुस्किलले दुई–तीन वटा साइडबाट खिचिएको तन्नेरीको फोटो । सायद ऊ नैै हो आर्जन । मेरा आर्टिकल र स्टोरीहरू भने सेयर गर्दो रहेछ, मख्ख परें, फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरें । तुरुन्तै हरियो बत्तीसँगै ‘आर्जन’ देखियो । ‘धन्यवाद एक वर्ष कुराउनुभएकामा,’ उसको म्यासेज बज्यो, रिप्लाईमा स्माइल टाँसिदिएँ ।

म्यासेज, फोन पिटिक्कै मनपर्दैन, यसै अल्छी म । कसैसँग कुरा नगर्ने भएर अधिकांश फसबुके फ्रेन्ड्सले मलाई ‘घमन्डी’ विशेषण दिएका छन् । ‘स्माइल मात्र,’ उसको म्यासेज । स्माइल टासिदिएँ, फेरि । 

उसको म्यासेज, ‘तपाईंलाई थाह छ ?’ 

मेरो जवाफ, ‘छैन त ।’ 

‘तपाईंको स्माइलको पारखी हँु है म ।’ 

‘ओके ।’ 

‘कस्तो अल्छी गरेर म्यासेज ग¥या,’ कड्कियो ऊ । 

मेरो जवाफ, ‘म्यासेज गर्नु भन्या छु ?’ 

‘हा हा हा... धन्य भएँ,’ स्माइलसँगै म्यासेज आयो, ‘तपाईंको बारेमा सप्पै थाहा छ । म को हँु, चिन्न जरुरी ठान्नुहुन्न भन्ने पनि थाहा छ । तैपनि भेटेर ब्ल्याक कफी पिउनु मन छ, समय मिल्छ ?’

‘भेटौंला न के छ र ? जिन्दगी लामो छ,’ मेरो उत्तर । 

भित्तामा झुन्डिएको घडीको आवाजले कोठामा सन्नाटा छाएको जानकारी दिँदै थियो । सुईले १२ बजेको संकेत गरेको थियो । समय यसरी नै बितिरहेछ । यता उमेरले ३५ टेक्यो । अविवाहित ठिटी हुँ, अझ भनूँ बूढीकन्या । बोइफ्रेन्ड च्यापेर हिँड्न कहिल्यै मन लागेन, न साथीको जमातमा गफ लाएर बस्न नै । छ्या, कस्तो उराठलाग्दो ! आफ्नै जिन्दगी सम्झेर उदेक लाग्यो । जीवनमा साथ दिन्छु भन्ने कोही नआएका पनि होइनन् । आए, प्रेमी होइन, लोग्ने हुन आएका थिए । म पे्रमीको खोजीमा छु, लोग्नेको होइन । तर यहाँ स्वास्नी बनाउनेको लर्को छ र त तालमेल मिलेन । 

पुरानो कुरा याद आयो, ‘म तपाईंको लायक छु भने मसँग बिहे गर्नुहुन्छ ? घाँटीसम्म आएको कुरा धेरैपटक भन्न खोजेँ, तर सकिनँ । बरु भोलि नै पेपर म्यारिज गरौं, म तयार छु ।’ 

हा हा हा... !  मीठा र चिप्ला कुरा गर्ने ती हुन नसकेका प्रेमीले मलाई यसो भनेको १५ दिन नबित्दै नवदुलहीसँगका रमाइला पल फेसबुकमा पोस्टिएका थिए । 

म्यासेजको घन्टी बज्यो, ‘हजुरको शब्दमा आफूलाई पढ्न चाहन्छु, लेखिदिएबापत मेरो हैसियतअनुसार पे पनि गर्छु ।’ वाक्क लाग्यो । त्यही शुभचिन्तकको म्यासेज रहेछ, मोबाइल कुनातिर मिल्काएँ । 

०००

‘बाहिर, फोहोर लिन आको छ है,’ घरबेटी आमाको आवाजले ब्युँझिएँ । सोच्दासोच्दै कतिबेला निदाएकी रहेछु पत्तै पाइनँ । एक महिना अघिदेखि थुप्रिएको फोहोरको पोको फाल्नु थियो, फालेँ । त्यसपछि एकाएक जाँगर चल्यो र कोठा सिनित्तै पारेँ, किताबहरू मिलाएँ ।

‘कोठा सफा भएको दिन मनै फुरुंग हुने क्या,’ ऐना अगाडि आफँैसँग खिस्स हाँसें । कफीको अम्मल छ । एक कप पिएपछि जाँगर चल्छ । 

‘मेरो कथा सुनाउनु छ, भेटौं न,’ आर्जनको म्यासेज । बिदाको दिन थियो, फुर्सद फुर्सदमै थिएँ । लाग्यो, ‘यो आर्जन भन्नेलाई भेटौँ कि क्या हो ? कस्तो रहेछ, हेरौँ न ।’ एकाएक, टिनऐजवाला फिलिङ््स आयो र उत्तर दिए, ‘हुन्छ, ४ बजे संकटा आउनू ।’  

‘हुन्छ,’ लेखेर बिलायोे ऊ । 

मन्दिरनजिकैको चिया पसलमा बिहानदेखि रातिसम्मै घुइँचो लाग्छ । घडी हेरेँ, ४ बजिसकेछ । ‘म पुगेँ है,’ म्यासेज छोडेँ । ‘म दुई मिनेटमा पुग्छु है,’ म्यासेज आयो । चियाको चुस्की लिँदै मनमन सरापँे, ‘पातै रैछ, समयको हेक्का नि नराख्ने ।’

‘आइएम सो सरी, भक्तपुरबाट आउँदा लेट भएँ । नमस्ते है, म आर्जन,’ एक्कासि आवाज कानमा गुन्जियो । फर्केर हेरँे । ‘आर्जन,’ मनमनै उसको नाम लिएँछु । 

‘शान्त ठाउँमा जाऔं न, हुन्छ ?’ उसको प्रस्ताव स्विकारेँ ।  मलाईजस्तै उसलाई पनि कोलाहल मननपर्दो रहेछ । हामी एउटा क्याफेमा पुग्यौँ र कफीसँगै एकछिनको गफगाफ पछि छुट्टियौँ । 

म अनेक प्रश्न लिएर फर्किएँ, यो कस्तो आकर्षण हो आर्जनप्रति ? हिजो मात्र बोलेको, उसलाई चिन्दिनँ, पहिलो भेटमै यो कस्तो हलचल ? आफंैलाई देखेर अचम्मित भएँ । खै, कस्तो टिनएजर जस्तो बिहेभ गर्दै छु । प्रश्न गर्दा गर्दै घरमा पुगेछु, पुग्नासाथ अनलाइन भएँ । 

ऊ अनलाइन नै रहेछ, ‘पर्खिराथेँ, घर पुग्नुभयो ? कस्तो रह्यो भेट ?’ उसको म्यासेज बर्सियो । 

जवाफ दिएँ, ‘रमाइलो ।’ स्माइल पनि पठाएँ । 

‘सरी म लेट भएँ है,’ उत्तर आयो । 

यसरी म आर्जनसँग गफिन थालें । एक्कासि कसैको माया र साथको आभास गरेँ । एकअर्काबारे  चासो लिन थाल्यौँ । मनपर्ने–नपर्ने कुरा बाँडचुँड गथ्र्यौं । देशको अवस्था, राजनीतिक बहस, युवापुस्ताको आवश्यकताबारे निकै गफगाफ हुन थाल्यो । सधैँजसो उसको एउटै डाइलग हुन्थ्यो, ‘विकास भनेको भन्नलाई होइन, गर्नलाई हो ।’ उसको कुरा सुन्दा दंग पर्थें । लोभ लालच, पैसा, मायाप्रेमका कुरा केही छैन । कसैलाई आफ्ना लागि प्रयोग गरौं भन्ने भावना पनि भेटिनँ । केटाकेटीबीच हुने संवादमा मायाप्रेम र यौवनभन्दा पर हुन सक्छ भन्ने उदाहरण थियो ऊ ।

भेट बाक्लिन थाल्यो । हालखबरबाहेक किताबका कुरा, समसामयिक बहससँगै साझँको समय कफी बहसमा बित्न थाल्यो । केही त थियो आर्जनमा, उसलाई भेट्दा केही फरकपन महसुस गर्थें ।  आर्जनको साथले केही आस पलाएको थियो । उसले देखाएको मप्रतिको व्यवहारले खुसी थिएँ । उसका कुरामा म लिप्त भइसकेकी थिएँ । भनौँ, उसको कुरा रातदिन सुन्न सक्ने भइसकेकी रहेछु । आर्जन एउटा अआर्जन आदत बनिसकेको रहेछ, पत्तै नपाई । भेटमा उसका कुरा सुन्नभन्दा पनि उसका आँखामा लुकेको कथा नियाल्न थालेँ, एकटकले हेर्दा ऊ लाजले भुतुक्कै हुन्थ्यो । मुस्कुराउँदै टाउको कन्याउनु उसको खासियत थियो, ऊ लजाएको हेर्नु मेरो आदत ।

बिहानको समय विद्यार्थीसँग र दिउँसो  लेखनमा व्यस्त हुने म अचेल भने आर्जनसँग समय बिताउने भएकी छु । आर्जनलाई भेटेर गफिनु दैनिकी नै भएछ, यो कस्तो आत्मीयता ? के छ उसमा ? भेट भएको छोटो समयमै मीठो र सुमधुर सम्बन्ध महसुस गराउने कस्तो जादु छ उसमा ? के म ऊसँग प्रेममा छु ? यो कस्तो प्रश्न, जसको उत्तर छैन । उसका हरेक कुरा र ऊसँगका पलहरूसँग प्रेम छ मलाई । उसको मनमा के छ, थाहा छैन । ऊ के गर्छ ?  कहाँ बस्छ ? कहिल्यै सोधिनँ । 

ऊसँग भेट नभएको हप्ता दिन भइसकेछ । ऊ अनलाइन नदेखिएको पनि धेरै भयो । प्रत्येक क्षण म्यासेज गथ्र्यो, किन गरेन ? मनमा चिसो पस्यो । ऊप्रतिको मायाको कोपिला नफक्रिँदै मर्ने सुर्ताले सतायो । यो कस्तो पागलपन ? ऊसँग गफिएका पुराना म्यासेज हेरेर मुस्कुराउन थालेँ,  उसले पठाएका फोटो हेरेर कल्पनामा डुबेँ । कतै अनलाइन आएर म्यासेज छोड्यो कि भनेर घरीघरी उसकै प्रतीक्षामा टोलाउँदै दिन बिताउन थालेँ ।

सधैं भेट्ने क्याफेमा प्रतीक्षा गरें, ऊ आएन । कस्तो व्यस्त भएको ? एउटा म्यासेज त हुन्छ नि ?कस्तो लापरवाही ? उफ् ! यो के भएको मलाई ? ऊप्रति म अलि बढी नै अपेक्षा गर्ने भएकी रहेछु ? उसको म्यासेज कुर्दाकुर्दै १२ दिन पो बितिसकेछ । कति म्यासेज पठाएँ,  कुनै रेस्पोन्स आएन, फोन पनि लागेन । 

टाउको बेसरी दुखेको छ  । आँखा भारी लाग्न थालेको छ,  धेरै नै सोचमग्न भएकी छु । आर्जनको फरक व्यवहार र एक्कासि बेखबर भएकाले उसकै कुरा मात्र मस्तिष्कमा दौडिरहन्थ्यो । केही दिनको बिछोडले मात्र पनि मलाई आर्जनप्रति अश्रित गराएको छ भने सम्बन्धमै भएको भए म कति टुट्थें ? उफ् ! आफैंलाई देखेर वाक्क लाग्यो । आर्जन को हो ? किन यति महत्व दिँदै छु, यो सब एउटा सपना हो, जुन बिर्सनुपर्छ, कसैको कारणले यसरी अलमलिनुहुँदैन भन्ने थाहा छ । तर, किन कमजोर हुँदै छु, यो कस्तो लतमा फसँे !

आर्जनको म्यासेज आयो, ‘सरी, म निकै बिजी भएँ, म्यासेज नि गर्न पाइनँ ।’  म्यासेज हेरेँ, थाहै नपाई आँसु झरेछ । कति सजिलै सरी भनेर टार्छन्, डिजिटल संसारमा आत्मीयता हराएछ । हामीसँग हजाराैँ साथीको सञ्जाल त छ, तर आत्मीयता ? अहँ, शून्य ।

आर्जन पनि यही संसारमा भेटिएको न हो, कस्तो निकटता अपेक्षा गरेर बसेकी म ? उसलाई मैले प्रेम गर्न थालेको कुरा जब आफैंले थाहा पाएँ, दिक्क लाग्यो । आर्जनलाई चिनेर प्रेम गर्ने भएकी थिएँ । मोबाइलमा घन्टी बज्यो, अपरिचित नम्बर रहेछ, उठाइनँ । बारम्बार कल आएपछि उठाएँ, ‘सरी काव्या, म बाहिर जानुपरेकाले खबर गर्न पाइनँ । नेट उपलब्ध नहुने ठाउँमा थिएँ म्यासेज पनि गर्न सकिनँ,’ आर्जनको आवाज थियो । ‘नम्बर रहेछ त कल गर्न सक्थ्यौ, एसएमएस छाड्न सक्थ्यौ,’ म बोलें । 

‘त्यस्तै पर्‍यो बुझ न...’ 

ऊ बोलेर नसक्दै म बोलेँ, ‘त्यस्तै प¥यो कि आवश्यक सोचेनौ, जे हो, त्यही भन न आर्जन । किन नाटक गर्छौ, तिम्रो यथार्थ बुझेँ । अब केही भन्नुपर्दैन ।’ 

ऊ चुपचाप थियो । 

‘ल ठीकै छ, यति छिटै मेरो यथार्थ कसैले बुझ्न सक्छ । मेरा लागि खुसीको कुरा हो, जति गाली गर्नु छ भेटेर गर ल । प्लिज, त्यसपछि नभेटौली बरु,’ उसले यति भनेपछि म केही बोलिनँ । आर्जन नै बोलिरह्यो, ‘आउँदो शनिरबार साँझ ६ बजे कृष्ण मन्दिरमा भेटौं है ।’ यति सुनेपछि केही नबोली फोन राखेँ । यो कस्तो अन्योल ? के भइरहेको छ मलाई ? किन ऊमाथि हैकम चलाउन थालेँ, ऊ मेरो को हो ?

दिनहरु बिते र भेट्ने दिन आयो । आर्जनलाई नभेटी बस्न कहाँ सक्थे र ? उसलाई भेटेपछि मनका सप्पै कुरा भन्छु । ऊसँगका सुखद अनुभव, उसको सामीप्यमा पाएको न्यानोपनको आभास सोच्दै कृष्ण मन्दिरतिर लागें । 

६ बजिसकेको थियो । आर्जन आउने बाटो हेरिरहेकी थिएँ । मनजिकै केही जोडी अँगालोमा बाँधिएका थिए । केही आँखा जुधाउँदै गफिएका थिए । कोही सेल्फी लिँदै थिए । मेरो अगाडि केटी रुँदै थिई, केटा फकाउँदै थियो ।

बिस्तारै अँध्यारो छाउँदै थियो । एक्कासि हावाले वेग बढायो । सबै ओत खोज्दै दौडिए । बेलुन र चटपटे बेच्नेहरू मछेऊ आएर बसे । ओहो ! कस्तो वेगमा चलेको हावा ? मेरो मनमा कुण्ठित भएर बसेको पीडा जस्तै । आर्जन कहाँ पुग्यो होला ? किन यति ढिला ? आर्जनलाई भेट्न पाउँदा फुरुंग भएको मनमा एक्कासि त्रास पैदा भयो । पछाडिबाट आवाज आयो, ‘काव्या ।’ के यो आवाज आर्जनको हो ? केही आस लिएर पछाडि फर्किएँ, तर कोही देखिनँ । उसको आवाजले कानमै डेरा जमाएको रहेछ । उसैको बाटो हेरिरहेँ । एकतमासले चलेको बतासले आफ्नो वेग रोक्यो, सबै आ–आफ्नो बाटो लागे ।

‘ठूलो पानी पर्छ जस्तो छ,’ यति भन्दै चटपटे बेच्ने दिदीले आफ्ना पोकापन्तुरा थन्कोमन्को लगाउन थालिन् । उनको हातबाट उडेर पत्रिका छरपस्ट भयो । पत्रिकाको एक टुक्रा उड्दै आएर मेरै आँखामा टाँसियो । ‘थुक्क ! यो राक्षेसको सास नि कति चल्या होला ?’ रिसले मुर्मुरिँदै बतासलाई सराप्न थालिन् । आँखै छोप्ने गरी आएको टुक्रा समातेर ती दिदीलाई दिँदै थिए, पत्रिकाको टुक्रामा एउटा अनुहार देखेँ । उही मीठो मुस्कान, नसालु नजर, अनुहार परिचित लाग्यो । मन्दिरमा बालिएको मधुर लाइटभन्दा पर पुगेर पत्रिकाको टुक्रालाई नजिकबाट नियालेँ ।

लेखिएको थियो, ‘हार्दिक श्रद्धाञ्जली, जन्म : २०२८/९/२८, स्वर्गारोहण : २०६६/४/१८, स्व. आर्जन शर्मा ।’

मुस्कानसहितको फोटा दियो र फूलका थुंगाले सजाइएकोे थियो । 

चम्किला आँखा, जहाँ मेरा सपना हुर्कदै थिए, मन्द मुस्कान जसले मेरो सपना पूरा गर्ने वाचा गरेको थियोे । उही हेराइ जुन मेरो संसार थियो । हो, यो अरू कोही नभएर आर्जनको तस्बिर थियो । उही आर्जन, जसलाई म माया गर्थें, जसले मेरा निम्ति सपना देखेको थियो, जसको अँगालोमा बाधिँएर कति हो कति वेदना पोख्न आएकी थिएँ । माहोल एकाएक शान्त भयोे, बतासले आफ्नो रवाफ रोक्यो । बतासलाई साथ दिन झरी पनि बर्सियो । म चिच्याउन खोजेँ, सकिनँ । रुन खोजेँ, आवाज बन्द भयो । साच्चै पिडा के हो त्यो दिन महसुस गरे, आँखामा छल्किएको आशुलाई पिउनुको पिडा । जीवनमा केहि पात्र यस्ता भेटिदा रहेछन्, बाच्ने अभास गराएर सदाका लागि आफु बिलिन हुने रहेछन् । मेरो लागि आर्जन त्यहि पात्र हो...

प्रकाशित मिति: १५:२१ बजे, शनिबार, वैशाख २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्