Kathmandu Press

लकडाउनले बिरामीलाई नियमित फलोअप र अत्यावश्यक औषधि पाउनै मुस्किल

काठमाडौं, वैशाख १९ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै

लकडाउनले बिरामीलाई नियमित फलोअप र अत्यावश्यक औषधि पाउनै मुस्किल
एजेन्सी

काठमाडौं, वैशाख १९ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले देशभर लकडाउन गरेको पाँच हप्ता पूरा भएको छ। यो अवधिमा नियमित औषधि सेवन गर्ने दीर्घ रोगीले औषधि पाउन सकिराखेका छैनन् भने चिकित्सकसँग नियमित परामर्श गर्नबाट बञ्चित भएका छन्।

बूढानीलकण्ठ नगरपालिका-५ की सुष्मा खड्काले थाइराइडको नियमित औषधि खान थालेको तीन वर्ष भयो। महारागञ्जस्थित हेल्पिङ्ग ह्यान्ड सामुदायिक अस्पतालमा नियमित परीक्षण गराउँदै आएकी थिइन्। उनलाई चैत १५ गते डाक्टरले फलोअपका लागि बोलाएका थिए। प्रत्येक तीन महिनाको अन्तरमा जाँच गराउँदै आएकी खड्का सवारीसाधन नचलेकाले फलोअपमा जान पाइनन्।

साथै, नियमित सेवन गर्ने औषधि नजिकैको मेडिकलमा नपाएपछि उनी अझ समस्यामा परेकी छिन्। ‘गाडी नचलेको कारण फलोअप परीक्षण गर्न पाइएको छैन,’ उनले भनिन्, ‘नियमित खाने औषधिसमेत नजिकैको मेडिकलमा पाइएन, अब कताबाट ल्याउने समस्यामा परेको छु।’

Hardik ivf

नियमित खानुपर्ने औषधि छुटेपछि शरीरमा थाइराइड बढ्यो कि घट्यो भन्ने चिन्ताले सताएको उनी बताउँछिन्।

बूढानीलकण्ठ नगरपालिका-४ की शान्ति तामाङ लामो समयदेखि युरिक एसिडकी बिरामी हुन्। उनी पनि लकडाउनको कारण आफ्नो रोग के भइरहेको छ भन्नेबारे अनभिज्ञ छिन्।

गत साउनमा क्षेत्रपाटीस्थित नरदेवी आयुर्वेदिक अस्पालमा उपचार गराएपछि नियमित औषधि सेवन गरिरहेकी छन्। तर लकडाउन यता उनले औषधि किन्न जान सकेकी छैनन्।

‘क्षेत्रपाटीका सबै फार्मेसी पसलहरु बन्द छन्,’ उनले भनिन्, ‘यति धेरै बन्द होला भन्ने थाहा भएन। दु:खाइले भित्र बाहिर गर्न समस्या भएको छ।’

लकडाउन लम्बिएसँगै औषधि पसलमा पनि सामान्य औषधिको अभाव हुँदै गएको लाजिम्पाटस्थित केस्ट्रोन फार्मेसीका सञ्चालक दिनेश ढकाल बताउँछन्।

‘पसलमा दैनिक ब्लड पेसर, सुगर, थाइराइडका बिरामीहरु औषधि लिन आउँछन्,’ उनी भन्छन्, ‘नियमित औषधि ल्याउने ठाउँमा औषधि पाएका छैनौं। कहाँ पाइन्छ भन्दै खोज्दै हिड्नुपर्छ। औषधिका लागि लामो लाइन बस्नुपर्छ, लाइन बस्दा पनि आफूले खोजेको औषधि पाउनै गाह्रो छ।’

नियमित औषधि सेवन गरिरहेका ग्राहक औषधि नहुँदा रित्तो फर्कउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्।  लकडाउनका कारण औषधि उत्पादन पनि घटेकाे छ। मजदुर नहुँदा कयाै‌ं औषधि उत्पादक कम्पनीले उत्पादन घटाएका छन्।

काठमाडाैंकाे ठूला औषधि कम्पनीमध्ये एक देउराली जनता फर्मासेट्यकल प्रालिले लकडाउनले उत्पादनको मात्रा घटेको जनाएकाे छ। देउराली जनताको औषधि स्टोर तथा वितरण विभाग हेर्दै आएका पुष्पराज ढुङ्गाना अन्य समयमा भन्दा लकडाउनमा औषधि आधा मात्र बन्ने गरेको बताउँछन्।

‘लकडाउन सुरु हुनुअघि नै कम्पनीमा काम गर्ने धेरै कर्मचारी उपत्यका बाहिर गइसकेका छन्,’ उनी भन्छन्, ‘जनशक्ति नै कम भएकाले उत्पादन पनि कम भएको छ।’

उपलब्ध जनशक्तिलाई अफिसभित्रै बस्ने व्यवस्था गरी औषधि उत्पादन जारी राखेको उनी बताउँछन्। ‘औषधि सकेसम्म काठमाडौं बाहिरका जिल्लामा पठाइरहेका छौं, तर अहिले डेलिभरीकै समस्या भएकाले औषधि सहज तरिकाले वितरण गर्न सकिएको छैन,’ उनी भन्छन्।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारी भने बजारमा औषधिको अभाव नरहेको दाबी गर्छन्। ‘बिरामीले सामान्य औषधि नै नपाएको समस्या हामी कहाँ आएको छैन,’ उनी भन्छन्, ‘जनतालाई औषधिको अभाव हुन दिँदैनाैं।’

दीर्घ रोगीले खाने कतिपय औषधि नेपालमै उत्पादन हुने भएकाले पनि औषधिको समस्या हुनु नपर्ने उनको तर्क छ। ‘विदेशबाट ल्याउनुपर्ने  विशेष औषधि भने अन्तर्राष्ट्रिय उडान बन्द भएको कारण ल्याउन समस्या भइरहेको छ,’ उनले भने, ‘त्यस्ता औषधि पनि ल्याउन हामी पहल गरिरहेका छौं। नेपालमै बन्ने औषधिमा त अहिले समस्या छैन।’

तर यतिबेला सबैकाे ध्यान काेराेना भाइरसकाे संक्रमण राेकथाम र नियन्त्रणमा केन्द्रित भएकाे छ। त्यसैसँग सम्बन्धित औषधि र उपचारमा ध्यान दिँदा नियमित औषधि खाइराख्नुपर्ने र उपचार गर्नुपर्ने बिरामी भनेका मर्कामा परेका छन्।

प्रकाशित मिति: १०:१४ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्