Kathmandu Press

लकडाउनमा अनलाइन कक्षामा रमाउँदै विद्यार्थी

काठमाडौं, वैशाख १८ : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न देश लकडाउनमा छ। लामो लकडाउनका कारण शैक्षिक

लकडाउनमा अनलाइन कक्षामा रमाउँदै विद्यार्थी
काठमाडाै‌ं प्रेस

काठमाडौं, वैशाख १८ : कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न देश लकडाउनमा छ। लामो लकडाउनका कारण शैक्षिक संस्थाहरुले नियमित कक्षा सञ्चालन गर्न नसकेपछि भर्चुअल कक्षामार्फत पठनपाठन सुरु गरेका छन्।

स्कुल तथा कलेजहरुले सुरु गरेका अनलाइन कक्षामा विद्यार्थीसँगै अभिभावक पनि रमाइरहेका छन्। काठमाडौंको बासबारीस्थित मिल्सबेरी स्कुलमा कक्षा २ मा अध्ययरत देवयान्स जङ्ग शाही केहि दिनदेखि घरबाट अनलाइन कक्षामार्फत पढिरहेका छन्।

विद्यालय जान नपाएको लामो समयमा घरमै बसेर अनलाइनमार्फत शिक्षकशिक्षिका र साथीहरुसँग कुराकानी गर्न पाउँदा देवयान्स खुशी छन्। उनकी आमा परीक्षा राणा पनि दंग छिन्। विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपछि छोराले घरमै बसेर गृहकार्य गर्दा खुशी लागेको उनी बताउँछिन्।

Hardik ivf

लामा समय पढाइ नहुँदा उनी चिन्तित थिइन्। घरबाटै भएपनि छोरा विद्यालयको पढाइसँग जोडिएकाले खुशी लागेको उनको भनाइ छ।

वैशाख १५ गतेदेखि भने उनको पनि कार्यालय सुरु भएको छ। छोराले कक्षा लिने समयमा आफू घरमा बस्न नपाएकाले भने उनको मनमा केही चिन्ता पनि छ। एक्लै छोड्दा पढाइ नहुने बताउँदै उनी भन्छिन्, ‘अनलाइनमार्फत पढाइ हुने वेला बाबुलाई एक्लै छोड्यो भने कहिले निदाइदिन्छ, कहिले ल्यापटप छोडेर उठेर हिडिदिन्छ।’

उनी छोरोको अनलाइनमार्फत भइरहेको पढाइ नियालिरहन्छिन्। शिक्षकले पावर प्वाइन्टबाट दिएको प्रस्तुति छोराले बुझिरहेको उनी बताउँछिन्। ‘शिक्षकले अन्य विद्यार्थीलाई सोधिरहँदा भने मलाई सोधेको छैन भनेर अल्छि मान्ने गरेको छ,’ उनी भन्छिन्, ‘प्रत्यक्ष कक्षाकोठाको जस्तो बच्चाहरुको ध्यान अनलाइनको पढाइमा नजादो रहेछ।’

काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–११ स्थित दिक्षालय नेपाल फाउन्डेसनले पनि लकडाउन भएको तेस्रो दिनदेखि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ। अनलाइन कक्षा सुरु गरेको भएपनि कतिपय विद्यार्थी लकडाउन अगावै काठमाडौं बाहिर आ–आफ्नो घर गएकाले सबैलाई समेट्न नसकिएको दिक्षालयका सह-प्रधानाध्यापक दुर्गाप्रसाद दाहालले बताए।

उनका अनुसार काठमाडौंमा भएका विद्यार्थीले भर्चुल कक्षामा जोडिने प्रयास गरेका छन्। कतिपय विद्यार्थी र शिक्षकशिक्षिकाको घरमा पनि इन्टरनेट समस्या रहेको उनी बताउँछन्।

अनलाइन पढाइमा प्राविधिक विषयले समस्या हुने गरेको उनको भनाइ छ। ‘प्रविधिको माध्यमबाट अध्यापन गराउन शिक्षक र विद्यार्थी दुवै पक्ष प्रविधिमा घुलमिल हुनुपर्छ,’ दाहाल भन्छन्, ‘कतिपय अभिभावक पनि प्रविधिबारे जानकार नहुँदा अनलाइन कक्षामा समस्या भएको छ।’

दिक्षालयले नर्सरीदेखि कक्षा १० सम्म अनलाइनबाट पठनपाठन गरिरहेको छ। उनी लकडाउनले अवसर पनि दिएको बताउँछन्। सबैलाई प्रविधिसँग जोडिने अवसर मिलेको बताउँदै सह-प्रधानाध्यापक दाहाल भन्छन्, ‘अबको समय भनेको अनलाइनको नै हो। अबका दिनमा प्रविधिसँग जोडिएर काम गर्नुपर्छ भन्नेबारे लकडाउनले सिकाएको छ।’

लकडाउनमा स्कुल मात्रै होइन, कलेजहरुले पनि अनलाइनमार्फत पठनपाठन गरिरहेका छन्। त्यस्तैमा एक हो, जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज। यो कलेजले लकडाउनमा नियमित भर्चुअल कक्षा सञ्चालन गरिरहेको छ।

इन्टरनेट र बत्तीको समस्याले भने विद्यार्थीलाई सहज हुनसकेको छैन। दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले घरमा इन्टरनेटको समस्या हुँदा कक्षा लिन अप्ठ्यारो भएको बताइन्। ‘वेला वेलामा बत्ती जान्छ। हाम्रो घरमा इन्टरनेट नभएकाले छिमेकीको घरमा जानुपर्छ,’ उनले भनिन्।

बिहान ११ बजे कक्षा सुरु हुने भएकाले एक घन्टा अघि नै तयारी थाल्ने गरेको उनले सुनाइन् । पावर प्वाइन्टमा शिक्षकले पढाउँछन भने जुम एप्सबाट कक्षाका विद्यार्थी जाेडिन्छन्।

धेरैजसो विद्यार्थीलाई इन्टरनेटकै समस्या छ। डाटा लिएर नेट चलाउँदा महंगो पर्छ। दैनिक एक सयभन्दा बढीको रिचार्ज गर्न गाह्रो भएको विद्यार्थीको गुनासो गर्छन्।

कतिपय शिक्षक-शिक्षिकालाई पनि कठिनाइ भएको छ। इन्टरनेट, बत्ती गइरहँदा पढाइ अवरुद्ध हुने गरेको छ।

तथापि, लामो लकडाउनले घरमै बसिरहेका विद्यार्थीलाई भने केहीवेर भएपनि शिक्षक-शिक्षिका र साथीहरुसँग कुराकानी गर्दा सजिलो महसुस भएको छ। मानसिक रुपमा पनि उनीहरुलाई फाइदा पुगिरहेको छ।

प्रकाशित मिति: ०९:३७ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्