Kathmandu Press

‘एक्लै हिड्न सकिँदैन, अरुले छुनै डराउँछन्’

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको ३७ दिनदेखिको लकडाउनले सबैलाई सकस भएको छ।

‘एक्लै हिड्न सकिँदैन, अरुले छुनै डराउँछन्’
काठमाडाै‌ं प्रेस

काठमाडौं, वैशाख १७ : कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको ३७ दिनदेखिको लकडाउनले सबैलाई सकस भएको छ। लकडाउनले अपांगता भएका व्यक्तिलाई झन पीडा थपेको छ।

दैनिक प्रयोगमा आउने स्वास्थ्य सामग्री र औषधि सकिँदा समस्या भएको ललितपुर–३ कुपनडोलमा बस्दै आएकी २१ वर्षीया सर्मिला तामाङले बताइन्। ढाडमा देखिएको फोका बढ्दै गएपछि आठ वर्षको उमेरमा शल्यक्रिया गरिएको थियो। ‘अप्रेशन भएपछि हिड्न सक्नुहुन्छ भनिएको थियो, तर अप्रेशन बिग्रिएकाले कम्मरभन्दा तलको भाग नै नचल्ने भयो। त्यसपछि ह्यिल चियरको भरमा बाँचिरहेकी छु,’ सर्मिलाले भनिन्।

अहिले लकडाउनले भने झन पीडा थपेको छ। ‘दैनिक प्रयोग गनुपर्ने सिआइसी पाइप, डाइपर, औषधिको सकिँएको छ,’ सर्मिलाले काठमाडौं प्रेससँग भनिन्, ‘अस्पताल बन्द हुँदा आवश्यक परेको औषधि खरिद गर्न सकिएको छैन । औषधि लिन एक्लै जान सकिँदैन। अन्य व्यक्ति कोरोनाको डरले छुनै डराउँछन्।’

Hardik ivf

डाइपर, सिआइसी पाइपहरु लामो समयदेखि एउटै प्रयोग गर्नुपरिरहेको उनले दुखेसो गरिन्। त्यहि प्रयोग गर्दा शरीरमा असर गर्ने र ज्वरो आउने तथा अन्य समस्या निम्तिने उनलाई थाहा छ।

सबै मेडिकलमा अपांगता भएका व्यक्तिलाई चाहिने सामान पाइँदैन्। धेरै औषधि पसल डुल्न उनलाई पनि कोरोनाको डर छ। ‘ह्विल चियरमा एक्लै जान कठिन हुन्छ। सामान्य मेडिकलमा सिआइसी पाइपहरु, अपांगता भएको व्यक्तिले प्रयोग गर्ने सामग्री पाइँदैन्,’ सर्मिला भनिन्, ‘शारीरिक रुपमा पहिला नै कमजोर भएकाले बाहिर निस्किँदा कोरोनाको संक्रमण हुने जोखिम पनि बढी हुन्छ।’

लकडाउनपछि १९ वर्षीया बबिता फुयाँल पनि उस्तै पीडा झेलिरहेकी छन्। दोलखा घर भई अहिले ललितपुरको धोविघाटमा बस्दै आएकी उनले अत्यावश्यक स्वास्थ्य सामग्री नपाएर समस्या भएको बताइन्।

ढाडमा भएको ट्युमरको शल्यक्रिया गरेपनि उनी ह्वीलचियरकै भरमा दैनिकी चलाइरहेकी छन्। ‘शौचालयसम्म जान सकिँदैन। पिसाब फेर्नको लागि सिआइसी पाइप लगाउनुपर्छ,’ बबिताले भनिन्, ‘स्वास्थ्य साम्रगीकै भरमा ज्यान चलेको छ। अहिले त्यहि सामान नपाउँदा साह्रै अप्ठ्यारो भएको छ।’

महिनावारी भएको वेला झन समस्या हुने गरेको उनले बताइन्। ‘महिनावारी हुँदा आवश्यक पर्ने प्याडसमेत किन्न जान सकेएको छैन,’ बबिताले काठमाडौं प्रेससँग भनिन्, ‘लकडाउनले त मजस्तै अपांगता भएका व्यक्तिको टाउको मै प्रहार भएको छ।’

अपांगता भएका व्यक्तिलाई खाद्य सामग्रीभन्दा पनि स्वास्थ्य साम्रगीको आवश्यकता परिरहेको छ। सर्मिला र बबिताजस्तै हजारौं व्यक्तिहरु यो समस्याबाट पीडित भएका छन्।

स्वालम्बन जीवन पद्धति केन्द्र, ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले पनि लकडाउनको समयमा अपांगता भएका व्यक्ति मर्कामा परेको बताए। ‘अपांगता भएको व्यक्तिलाई खाद्यन्नभन्दा पनि स्वास्थ्य साम्रगीहरुको बढि समस्या परेको छ,’ श्रेष्ठले भने।

साधारण अपांगता भएका व्यक्तिलाई त्यति समस्या नपरेर पनि पूर्ण अपांगता भएका व्यक्तिलाई सकस भएको उनको भनाइ छ। ‘औषधिको भरमा बाच्नेहरु औषधि नपाएपछि अझ समस्यामा रहेका छन्। अपांगता भएका व्यक्तिको रेखदेख गर्ने सम्बन्धित संस्थाहरुलाई सहयोगको लागि पत्र पठाएपनि चासो दिएका छैनन्,’ अध्यक्ष श्रेष्ठले भने।

एकातिर औषधि र स्वास्थ्य सामग्रीको समस्या, अर्कातिर कोरोनाको जोखिमले गर्दा दैनिक चलाउन मुस्लिक भएको अपांगता भएका व्यक्ति बताउँछन्। ‘अपांगताको आधार हेरेर विभिन्न साधन प्रयोग गनुपर्ने हुन्छ। लकडाउनका कारणले औषधि किन्न जान अवरोध भइरहेको छ,’ श्रेष्ठले काठमाडौं प्रेससँग भने, ‘मस्तिष्कघात, पक्षघात भएका, युरिन ब्याग, सिआइसी पाइप प्रयोग गर्नुपर्नेहरुलाई अप्ठ्यारो भएको छ।’

अपागता भएका व्यक्तिहरु बेरोजार पनि छन्। परिवारको सहयोगमा हुनेलाई समस्या नभएपनि केही अपांगता भएका व्यक्तिहरु मिलेर भाडामा बसिरहेका छन्। उनीहरुलाई समस्या भएको अध्यक्षले श्रेष्ठले बताए।

उनीहरुले यसका लागि राष्ट्रिय मानवअधिकार आयोग र अपांगता भएका व्यक्तिहरुलाई हेर्ने सम्बन्धित निकायलाई सहयोगको लागि पत्र पठाएका छन्। तर, यतिका दिनसम्म कहिँ कतैबाट पनि सहयोग मिलेको छैन। स्थानीय सरकारले पनि वास्ता नगरेको उनीहरुको गुनासो छ।

प्रकाशित मिति: ०९:३४ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्