Kathmandu Press

माधव नेपालको हातमा प्रधानमन्त्रीको कुर्ची !

काठमाडौं, वैशाख १६ : पछिल्ला केही दिन यता सत्तासीन दल (नेकपा) भित्रको राजनीति एकाएक तातिएको छ। 

माधव नेपालको हातमा प्रधानमन्त्रीको कुर्ची !

काठमाडौं, वैशाख १६ : पछिल्ला केही दिन यता सत्तासीन दल (नेकपा) भित्रको राजनीति एकाएक तातिएको छ। 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत साता ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश चर्को आलोचनापछि फिर्ता भइसकेको छ। तर, त्यही विषयले नेकपाभित्रको आन्तरिक राजनीति भने एकाएक तातिएको छ। 

अध्यादेश राष्ट्रपतिबाट जारी भए लगत्तै प्रधानमन्त्री ओलीले तत्कालीन समाजवादी पार्टी फुटाउन गरेको प्रयाससँगै सत्तासीन नेकपाभित्रै फुटको आशंका जन्माएको थियो। तर, कोरोना महाव्याधिसँग जुध्नु पर्ने बेला प्रधानमन्त्री ओलीले विवादित काम गर्दै अघि बढेको भन्दै नेकपाभित्र उनको विकल्प खोज्नु पर्ने मत बलियो बनेको छ।

Hardik ivf

प्रधानमन्त्री ओलीको विकल्प खोज्नु पर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायत शीर्ष नेताहरु एक ठाउँमा उभिएपछि नेकपाभित्र शक्ति संघर्ष सुरु भएको छ। 

नेकपाभित्र दुई अध्यक्ष ओली र प्रचण्डको शक्ति संघर्षमा निर्णायक बनेका छन् वरिष्ठ नेता नेपाल। २०६४ सालमा भएको सविधान सभाको पहिलो निर्वाचनमा एमालेको सर्मनाक पराजयपछि महासचिवबाट राजीनामा गरेपछि नेपाल पछिल्लो १३ वर्ष पार्टीभित्र शक्तिमा थिएनन्। तर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली एकपछि अर्को विवादास्पद निर्णयमा फसेर सरकारकै नेतृत्व फेर्ने बहस नेकपाभित्रैबाट अघि बढेपछि फेरि नेपाल शक्तिशाली देखिएका छन्। 

नेकपाको मर्यादामा अर्का वरिष्ठ नेता झलनाथ खनालभन्दा पछाडि राखेर ओलीले पटक–पटक नेपाललाई ह्युमिलेट गरेका थिए। अहिले चक्र घुमेर फेरि ओली र अर्का अध्यक्ष प्रचण्ड दुवैले आफ्नो शक्ति बढाउन नेपालको साथ खोजिरहेका छन्।

अहिले नेकपाको आन्तरिक समिकरण हेर्दा नेपाल सर्वशक्तिमान जस्ता देखिएका छन्। नेपालको हातमा एकातिर प्रचण्डले दिएको प्रधानमन्त्रीको कुर्ची छ भने अर्काेतिर ओलीको पावर शेयरिङको सालिन अफर छ।  

के १३ वर्षपछि नेकपाको राजनीति फेरि नेता नेपालको वरिपरि घुम्ला?

नेपालसँग हातमा आएको प्रधानमन्त्री खाएर मुलुक अघि बढाउने कि ओलीलाई प्रधानमन्त्रीमा सहयोग गरेर सत्तामा पावर शेयरिङ गरेर आफ्ना मान्छे ‘सेट’ गर्ने भन्ने दुई विकल्प छन्। उनले लिने निर्णयले मुलुकको राजनीतिले नै कोल्टो फेर्ने देखिन्छ। 

प्रचण्डको अफर स्वीकार गरेर निर्णय लिए उनी केही दिनमै प्रधानमन्त्री बन्नेछन्। त्यसो हुँदा नेकपाभित्र नेपालको पुनरागमन हुनेछ। ‘अहिलेको खेलका निर्णायक पात्र माधव कमरेड नै हो। अहिलेको अवस्थामा उहाँ जसरी नाच्नुहुन्छ, मादल त्यसरी नै बज्ने अवस्था छ,’ एक स्थायी कमिटी सदस्यले काठमाडौं प्रेससँग भने। 

नेकपामा नेपालको पोजिसन के हो ?

नेकपाभित्रको आन्तरिक समिकरण हेर्दा नेपाल यस्तो पोजिसनमा छन्, जुन ओली र प्रचण्ड दुवैलाई आवश्यक पर्छ। ओली र प्रचण्ड दुवैले आफ्नो शक्ति आर्जन गर्न माधवकै क्वाइन लिनुपर्ने हुन्छ। 

केही दिनअघि उपाध्यक्ष गौतमको निवास भैँसेपाटीमा बसेको प्रचण्डसहित ६ जना सचिवालय सदस्यको अनौपचारिक बैठकमा नेपाललाई प्रधानमन्त्रीमा अघि सार्ने सहमति भएको थियो। आफूलाई  हटाउन गोप्य सहमति भएको चाल पाएपछि प्रधानमन्त्री ओलीले तत्कालै विवादास्पद दुई अध्यादेश फिर्ता लिए तर प्रधानमन्त्रीको कुर्ची कसरी बचाउँछन्, त्यसका लागि केही दिन पर्खिनै पर्ने देखिन्छ। 

नेकपाको आन्तरिक समिकरणमा नेपाल सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा समेत निर्णायक पोजिसनमा छन्। नेपाल जता ढल्किन्छन् उतै पल्लाभारी हुने अवस्था छ।

९ सदस्यीय सचिवालयमा ओलीका पक्षमा तीन जना छन्।  बाँकी ६ सदस्य उनको विपक्षमा छन्। नेकपाको ४५ सदस्यीय स्थायी कमिटीको समिकरण हेर्ने हो भने ओलीको विपक्षमा ३२ जना सदस्य छन्। स्थायी कमिटीमा ओलीसँग १२, प्रचण्डसँग १८, नेपालसँग १३ सदस्य छन् भने दुई जना तटस्थ सदस्य देखिएका छन्। यसअघि नै २० स्थायी समिति सदस्यहरुले ओलीविरुद्ध बैठकको माग गरिसकेका छन्। 

तर, अध्यक्ष ओली स्थायी कमिटी टार्ने रणनीतिमा देखिएका छन्। स्थायी कमिटीमा आफू अल्पमतमा पर्ने देखेपछि ओली तत्काल बैठकभन्दा पनि आन्तरिक भेटघाट बढाएर शक्ति सन्तुलन आफ्नो पक्षमा ल्याउने रणनीतिमा छन्।

नेकपाको पोलिटब्यूरो अहिलेसम्म बनिसकेको छैन। केन्द्रीय कमिटी  समेत प्रचण्ड–नेपाल गठजोडले ओली कमजोर बन्ने स्थिति छ। ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओलीसँग १२७ जना छन्। प्रचण्डसँग २००, नेपालसँग १०४, वामदेवसँग ६ र तटस्थ एक सदस्य छन्। केन्द्रीय कमिटीमा तीन सदस्य रिक्त छ। यो तथ्यांक हेर्दा केन्द्रीय कमिटीमा ओलीको विपक्षमा दुई तिहाईभन्दा बढी ३१० सदस्य छन्। 

संसदीय दलमा समेत अवस्था उहीँ छ। हाल प्रतिनिधिसभामा नेकपाका १७४ जना सांसद छन्। यसमा पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ सांसद छन्। अहिले ओलीपक्षका ७८ सांसद छन् भने नेपालका पक्षमा ४३ सांसद छन्। पूर्वमाओवादीका ५३ जनै प्रचण्डको साथमा छन्। सरकार बनाउन आवश्यक संख्या पर्ने संख्या १३८ हो। यसरी हेर्दा प्रचण्ड र नेपाल मिल्दा उनीहरुसँग ९६ सांसद साथमा हुन्छन्।  यसरी हेर्दा ओली संसदीय दलमा पनि अल्पमतमा पार्ने देखिन्छ।

ओली–नेपाल सम्बन्धका उतारचढाव

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध उतारचढावपूर्ण छ। मनोमहन अधिकारीको निधनपछि नेपालले करिब १५ वर्ष पार्टीमा एकछत्र राज गरेका थिए। त्यो राज विगत पाँच वर्षदेखि अध्यक्ष ओलीले गर्दै आएका छन्। 

नेपालको नेतृत्वमा पार्टी रहँदा ओली पार्टीभित्रका प्रतिपक्षी जस्तो थिए। २०६२÷०६३ को जनआन्दोलनमा पार्टीको उद्र्दी अस्वीकार गर्दै ओली एक दिन पनि आन्दोलनमा सहभागी भएका थिएनन्। यसले पनि नेपाल शक्तिमा हुँदा ओलीले कुन तहको असहयोग गरेका थिए भन्ने स्पष्ट हुन्छ।

जब ओली शक्तिमा आए नेपाल कर्नरमा परेका थिए। तर, प्रकारान्तरले पार्टीको नेतृत्वमा नरहँदा पनि नेपाल फेरि शक्तिमा पुर्नउदयको बाटोमा देखिएका छन्। 
तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनका बेला ओली र नेपाल एउटै लाइनमा उभिएका थिए। मदन भण्डारी पार्टीको महासचिव हुँदा एमालेले ‘जनताको बहुदलीय जनवाद’ लाई कार्यनीति बनायो। जुन कार्यनीति ०७३ सम्म कायम थियो। 

२०५४ सालमा पार्टीको छैटौं महाधिवेशन भयो। नेपालगञ्जमा सम्पन्न उक्त महाधिवेशनमा पनि नेपाल–ओली एउटै समूहमा थिए। २०५९ सालको सातौं महाधिवेशनमा ओली–नेपाल आमनेसामने भए। जनकपुरमा सम्पन्न उक्त महाधिवेशनमा ओलीले अध्यक्षात्मक प्रणाली ल्याउने प्रस्ताव ल्याए। जसलाई नेपाललगायत नेताले अस्वीकार गरे। 
२०५६ सालमा नेपाल पार्टी महासचिव भएकै बेला ओलीले संसदीय दलको नेता दाबी गरेका थिए। नेपालले दिएनन्। आफैँ संसदीय दलको नेता भए। त्यहीँबाट ओली नेपालसँग चिढिएका हुन्।

त्यसपछि ओली पार्टीमा प्रतिपक्षी जस्तो बन्न पुगेका थिए। बहुचर्चित महाकाली सन्धिका बेला ओली र नेपाल सँगसँगै थिए। संसदमा सांसदलाई महाकाली सन्धिको पक्षमा वकालत गर्न दुवै नेताले ह्वीप जारी गरेका थिए।

महाकाली सन्धिकै कारण एमाले फुट्यो। २०५४ सालमा सम्पन्न छैटौं महाधिवेशनपछि सन्धिलाई कारण देखाउँदै सीपी मैनाली र वामदेव गौतम मिलेर पार्टी फुटाए। नेकपा माले गठन गरे। पछि वामदेव एमालेमै फर्किए।

ओली र नेपालका व्यक्तिगत स्वभाव फरक–फरक छन्। आफूले उठाएका मुद्दा जबर्जस्त लाद्न ओली माहिर छन्। कडा स्वभावका ओलीमा वाककटुता छ। नेपालको स्वभाव अन्तर्मुखी छ। उनी प्राविधिक र सांगठनिक हिसाबमा अब्बल मानिन्छन्। पहिलो संविधानसभाको निर्वाचनपछि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन ओलीले सहयोग गरेका थिए। 

नवौं महाधिवेशनमा ओली–नेपाल फेरि आमनेसामने भए। १५ वर्ष पार्टी हाँकेका नेपाल नवौं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आइपुगे। त्यसपछि नेपाल–ओलीबीचको द्वन्द्व बढिरहेकै छ। कुनै कालखण्डमा मिले पनि मूलभूत रूपमा दुई नेताबीचको दूरी बढिरहेको छ। दुई नेताबीच भागबण्डा र मन मिल्न नसक्दा पछिल्लो परिस्थितिको सिर्जना भएको हो। 

पछिल्लो समय ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा प्रचण्ड–नेपालसमूह एक छ। तर, अध्यक्ष ओलीले नेपाललाई फकाउने प्रयास गरिरहेका छन्। 
नेपालले अध्यक्ष ओलीसँग उधारो सहमति गर्छन् या अर्का अध्यक्ष प्रचण्डसँग मिलेर नगदमै कारोबार गर्छन्, त्यो भने हेर्न बाँकी छ। प्रचण्ड–नेपाल समूहले जेठ १५ अघि नै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीतिमा छ। अब प्रधानमन्त्री ओली आफ्नो कुर्ची बचाउन र उनलाई हटाउन चाहने प्रचण्ड–नेपाल समूह कसरी अघि बढ्छन् त्यसका लागि केही दिन कुर्नु पर्ने देखिन्छ। सत्ताको यो खेलमा नेता नेपालले स्ट्राइकरको भूमिका निभाउलान् वा अर्का स्ट्राइकरलाई गोल गर्न बल पास मिलाइदेलान् ? त्यो हेर्न बाँकी नै छ।
 

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्