Kathmandu Press

पूर्वआईजीपी खनाल कांग्रेस, माओवादी हुँदै कसरी पुगे ओली निवास?

काठमाडौं, वैशाख १२ : अपहरण शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादवलाई ल्याउन भू

पूर्वआईजीपी खनाल कांग्रेस, माओवादी हुँदै कसरी पुगे ओली निवास?

काठमाडौं, वैशाख १२ : अपहरण शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादवलाई ल्याउन भूमिका खेलेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा परे १७ वर्ष जेल सजाय हुने देखिएको छ।

अपहरणमा परेका भनिएका डा. यादवको अभिव्यक्तिले उनलाई पूर्वआइजीपी खनालसहित सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जबरजस्ती ल्याएको पुष्टि हुन्छ। एक जना पूर्वप्रहरी महानिरीक्षकले अवकाश पाएको दुई महिना नपुग्दै खनाल फोहरी राजनीतिमा देखिनु सजयायोग्य हुनुपर्ने बताउँछन्। 

‘एउटा राजनीतिक दलको राजनीतिक दाउपेचका लागि अर्को दलको सांसदको अपहरण गरेसरह कार्य गर्नु अपराध योग्य काम हो,’ ति पूर्वमहानिरीक्षकले काठमाडौंप्रेससँग भने, ‘यो प्रवृत्तिले संगठनमा बहाल रहेका कर्मठ योद्धाहरुको समेत शिर निहुराएको छ। उनलाई  सजायको दायरामा ल्याउनुपर्छ।’

Hardik ivf

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पार्टी फुटाउने प्रयोजनका लागि यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो। सबै घटनाक्रम हेर्दा यो प्रकरण संगठित अपराधको एक नमूना भएको अधिवक्ता सतिशराज मैनाली बताउँछन्।

संगठित अपराध गरेमा कानूनी व्यवस्था अनुसार १७ वर्षसम्म जेल सजाय हुन्छ। मुलुकी अपराध संहिता २०७४ मा व्यक्तिको  अपहरण गरे १० देखि १५ वर्ष सजाय हुने व्यवस्था छ। तर, संगठित रुपमा अपहरण गरे वा शरीर बन्धक बनाए थप दुई वर्ष गरी १७ बर्ष सजाय हुने व्यवस्था छ।

अधिवक्ता मैनाली उनीहरुले गरेका कार्यलाई निन्दनीय र भत्र्सनायोग्य मात्रै भनेर छाड्न नमिल्ने बताउँछन्। उनले सामान्य नागरिकले यस्तै कार्य गरेको भए अपराध हुने र पहुँचमा हुनेले गरेको कार्यमा माफी मिनाह हुने भन्ने लोकतन्त्रमा कल्पना पनि गर्न नसकिने बताए। 

मैनालीले भने, ‘डा. सुरेन्द्र यादवले आफू साच्चिकै अन्यायमा परेको हो भनेर प्रहरीमा उजुरी दिएर कानूनी उपचार खोज्नु पर्छ।’

संविधानविद् डा. भीमार्जुन आचार्य पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले गरेका गतिविधि कसुरयोग्य भएको बताउँछन्। उनी भन्छन्, ‘यही काम सर्वसाधारण कसैले गरेको भए प्रहरीकालागि अपहरण तथा शरीर बन्धकको कसूर बन्थ्यो। शक्ति निर्देशित र सत्ता संरक्षित घटना भएकाले प्रहरीले चासो लिने कुरा भएन। सत्ता उन्माद र शक्ति दुरूपयोगको यो पराकाष्ठा हो।’

सधैँ शक्तिका पूजारी खनाल

खनालको विगत हेर्दा उनी सधैँ शक्तिका पूजारी भएको प्रष्ट हुन्छ। प्रहरीमा संगठनमा उनका व्याजी समेत रहेका एक पूर्वप्रहरी अधिकारीका अनुसार अहिले जुन घटना सार्वजनिक भयो, त्यो खनालका लागि नौलो विषय होइन।

‘खनाल जहिल्यै पनि शक्तिको अघिपछि लाग्ने व्यक्ति हुन्। उनी राजनीति गरेरै आएकाले पनि राजनीतिज्ञलाई सजिलै प्रभावमा पार्न सक्ने ल्याकत राख्छन्,’ ती पूर्वप्रहरी अधिकृत भन्छन्।  खनाललाई लामो समय नजिकबाट चिनेकाहरु २०६२÷६३ को आन्दोलनमा काठमाडौंको एसपी भएर जनआन्दोलन दबाउन भूमिका खेल्नेदेखि त्यसपछिका जुन दलका सरकार बने त्यही दलको कार्यकर्ता हुनेसम्म प्रवृत्ति रहेको उनी बताउँछन्।

खनाल काठमाडौंको अस्कल क्याम्पसमा पढ्दा कांग्रेस निकट नेविसंघको राजनीति गर्थे। उनी त्यतिबेला नेविसंघबाट स्ववियु सचिवका उम्मेदवार समेत बनेका थिए। ‘जब उनी प्रहरी संगठनमा प्रवेश गरे, तब उनको ध्यान कमाउने र स्टन्टबाजीमा मात्र थियो,’ उनका एक सहपाठी भन्छन्।

उनले एसपीबाट एसएसपीमा बढुवा हुनका लागि गरेको प्रपञ्च हेर्दा उनको छवि प्रष्ट हुन्छ। त्यो बेला कांग्रेस नेता विजयकुमार गच्छदार शक्तिमा हुँदा गुण्डा नाइके गणेश लामा, सहदेव कक्षपति लगायतलाई प्रयोग गरेका थिए। ‘खनाल सधैँ संगठनको छविमा दाग लगाएर भए पनि आफ्नो फाइदाका लागि जे पनि गर्थे,’ ती पूर्वअधिकृतले भने। 
खनाल डिआईजी बन्दा पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताहरुलाई पनि प्रभाव पारेर एक नम्बरमा सिफरिस भएका थिए।

खनाल प्रकरणबारेमा जिज्ञासा राख्दा उनीसँगै आईजीपीका लाइनमा रहेर एआईजीबाट रिटायर्ड भएका पुष्कर कार्कीले विस्तृत बोल्न नमानेपनि छोटो प्रतिक्रिया भने दिए। उनले भने, ‘म यति मात्रै भन्छु। यस्ता घटनाले प्रहरी संगठन बदनाम हुन्छ। रिटायर्ड भएपछि पनि सबै आफ्नो अनुशासनमा बस्नुपर्छ।

खनालका समकक्षीमध्ये एसएसपीसम्म रमेश खरेल कार्यसम्पादन मूल्यांकनमा एक नम्बर थिए। अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै राष्ट्रिय फुटबलका कप्तान सागर थापा लगायतलाई पक्राउ गरेपछि उनको चर्चा चुलिएको थियो।  खनाल शक्तिमा रहेका राजनीतिज्ञ रिझाउन सफल भएकै प्रहरी संगठनको प्रमुख बनेका हुन्। नेकपाका एक नेता भन्छन्, ‘खनाल पहिला पूर्वमाओवादी निकट भएकै कारण आईजीपी बनेका हुन्।’

खनाल प्रहरी संगठनको प्रमुख हुँदा विभिन्न भ्रष्टाचारका मुद्दामा पनि मुछिएका छन्। आईजीपी भएका बेला प्रहरीलाई आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले छापा पनि मारेको थियो। दुई अर्बभन्दा बढीको सामान किन्दा भ्रष्टाचार भएको अख्तियारमा उजुरी छ। तर, अहिले उनको सो उजुरी अख्तियारले अनुसन्धान प्रक्रिया नै अघि बढाएको छैन।
 
महेश र किसानसँग व्यापारिक साँठगाँठ

खनालले पछिल्लो समय अख्तियारको मुद्दाबाट बच्न महेश बस्नेतमार्फत बालुवाटारको ढोका ढकढकाउन पुगेका हुन्।

महेश बस्नेतसँगको उनको साइनो खनालकै गृहजिल्लाका जग्गा व्यापारी किसान श्रेष्ठले जोडिदिएका हुन्। किसानसँग सर्वेन्द्रको एसपी हुँदादेखिको सम्बन्ध हो। सर्वेन्द्रसँग लामो समय काम गरेकाहरु किसानसँग खनालको सम्बन्ध व्यापारिक भएको बताउँछन्। 

भक्तपुर र काठमाडौंमा यी तीनजनाको जग्गा व्यापारमा साझेदारी रहेको एक पूर्वप्रहरी अधिकृत बताउँछन्। 

खनाललाई ढाल बनाएको खेलमा ओली असफल

समाजवादी पार्टी फुटाउने र थप शक्ति आर्जन गर्ने प्रयास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ। उनले यो असफल ‘राजनीतिक अपराध’ का लागि भर्खरै अवकाश पाएका पूर्वआईजीपी खनाललाई प्रयोग गरे।

सधैँ शक्तिको भोका रहेका खनाल सरकारको यो काम फत्ते गरेर अर्को राजनीतिक नियुक्ति पाइने आशामा लोभिए। यो काण्ड सफल भएको भए खनालको योजना अख्यितार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने थियो।

तर, प्रहरीमा हुँदा अनेक स्टन्ट गरेर कुनै बेला ‘नायक’को छवि बनाएका खनाल बिहीबार बिहान मेरियट होटलमा यादवले धोका दिँदा खलनायक बने।

उनी आफैँले यादवलाई आफ्नो टिमले जनकपुरबाट काठमाडौं ल्याएको स्वीकार गरिसकेका छन्। नेपालको राजनीतिक इतिहासकै यो घिनलाग्दो र कच्चा खेलले प्रधानमन्त्री ओली त बदनाम बनेकै छन्। यसमा खनालको संलग्नताले प्रहरी संगठन समेत बदनाम बन्न पुगेको छ। 
 

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्