राजपा र समाजवादी मिलेर बन्यो जनता समाजवादी पार्टी
काठमाडौं, वैशाख ९ : राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताका लागि सहमति पत्रमा ह
काठमाडौं, वैशाख ९ : राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ। बुधबार मध्यराति दुवै पार्टीले एकीकरण गर्ने सहमति गरेका हुन्। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी रहने सहमति जुटेको छ।
एकताको सहमतिपत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी तथा समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने र समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा हरियो रंगको बीचमा तारा हुने सहमति जुटेको छ। यस्तै, पार्टीको चुनाव छाता रहेन टुंगो लागेको छ। सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको तीन दिनमै दुई पार्टी एक बनेका हुन्।
सरकारले राजपा र समाजवादी पार्टी फुटाउनलाई अध्यादेश ल्याएको विश्लेषण भइरहेका बेला मधेस राजनीतिका दुई शक्ति केन्द्र एक बनेका हुन्।
मधेस राजनीतिको यस्तो छ विगत
मधेसीहरुको अधिकारका लागि आवाज उठेको र त्यसका लागि सुरु भएको विद्रहको इतिहास निकै लामो छ। यसको विगत हेर्न २००३ साल तिरै फर्कनुपर्छ। सोही बेलादेखि नै मधेसीहरुको अधिकारका लागि आवज उठ्न थालेको छ। तत्कालीन राणा प्रधानमन्त्री पद्मशम्शेरलाई नरेन्द्र मणिलाई मधेसीको अधिकारका लागि लिखत प्रस्ताव बुझाएका थिए। त्यो नै मधेसीले अधिकारका लागि आवज उठाएको पहिलो कदम हो।
२००७ सालमा नेपाली कांग्रेसले गरेको क्रान्तिका बेला समेत मधेस आन्दोलित बनेको थियो। सन् १९५१ मा कांग्रेस भित्रै मधेसीको हक अधिकारका लागि विद्रोह भएको थियो। त्यसको नेतृत्व बलदेव दास यादव र तुलानन्द झाले नेतृत्व गरे। फलस्वरुप तराई कांग्रेस गठन भयो।
तर, लामोसमयको पञ्चायती व्यवस्थामा राष्ट्रिय राजनीतिसँगै मधेसको राजनीति समेत मुर्झायो। २०४० सालमा भने गजेन्द्रनारायण सिंह लगायतले सद्भावना परिषद्को गठन गरेका थिए। २०४७ सालमा सिंहले पहिलो पटक संघीय राज्य प्रणालीको माग अघि सारेका थिए। तर, त्यसको डेढ दशकसम्म कसैले पनि मधेसीको अधिकारका लागि बोलेनन्। ०४७ पछि एकैपटक २०६३ सालमा मधेसको आन्दोलनको विद्रोह सुरु भएको थियो।
२०६३ माघ १ गतेका दिन अन्तरिम संविधान जारी भयो। त्यसको भोलिपल्टै गैर सरकारी संस्थाका रुपमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका तीन जना नेताले संविधानको प्रतिलिपि जलाए। माघ ३ गतेदेखि मधेसमा आन्दोलन चर्कियो। १९ दिनसम्म चलेको आन्दोलन माघ २४ गतेका सकियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आन्दोलनरत पक्षसँग सहमति गरेका थिए।
त्यसलगत्तै महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले २०६४ फागुन १ गते दोस्रो मधेस आन्दोलनको घोषणा गरे। त्यो आन्दोलन १६ दिनसम्म चलेको थियो। त्यसयताका ७ वर्ष मधेश केन्द्रित दल टुटफुटमै रमाए। खासगरी सत्तास्वार्थका कारण उनीहरु टुक्राटुक्रामा विभाजित बने। ०७२ सालसम्म आइपुग्दा मधेस केन्द्रीत दलको संख्या ८ पुगिसकेको थियो।
तीनै आठ दलले २०७२ साउन ४ गते तेस्रो चरणको आन्दोलन घोषणा गरे। संविधानसँग असहमति जनाउँदै उनीहरुले गरेको आन्दोलनले मुलुकले ६ महिना नाकाबान्दी झेल्न पर्यो। २०७४ वैशाख ७ गते आवद्ध ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन भएको थियो।
०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति मिलेर समाजवादी पार्टी गठन भएको थियो। मधेस आन्दोन उत्कर्षमा पुगेको १४ वर्षपछि पुनः सबै मधेस केन्द्रीत दलबीच एकता भएको छ।
हेर्नुस् सहमति पत्र: