Kathmandu Press

उदयपुरका १२ जना कोरोना संक्रमित : एउटा विवाह र तीन जिल्लाका मस्जिदमा गएको खुलासा

काठमाडौं, वैशाख ६ : शुक्रबार उदयपुरको एक मस्जिदमा बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

उदयपुरका १२ जना कोरोना संक्रमित : एउटा विवाह र तीन जिल्लाका मस्जिदमा गएको खुलासा
फाइल

काठमाडौं, वैशाख ६ : शुक्रबार उदयपुरको एक मस्जिदमा बसेका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीहरु सबै भारतीय नागरिक हुन्। यसअघि प्रदेश नम्बर १ मा कोरोनाको संक्रमण भेटिएको थिएन। 

तर, एकै पटक १२ जना संक्रमित भेटिएपछि उदयपुर आसपासका जिल्लासहित प्रदेश–१ मा त्रास फैलिएको छ। उनीहरु भारतबाट नेपाल कसरी आइपुगे र को–कोसँग उनीहरुको सम्पर्क भयो? यो महत्वपूर्ण विषय हो। उनीहरुको सम्पर्कबारेमा खुल्न नसकेपनि उनीहरुको ट्राभल हिष्ट्री भने पत्ता लागेको छ। 

Hardik ivf

उदयपुरको बेलका नागरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार १२ मध्ये ११ जना दिल्ली आसपासका र एक जना उत्तर प्रदेशका छन्।  उनीहरू दिल्लीबाट ११ डिसेम्बरमा विराटनगर आइपुगेका थिए। जोगबनीबाट अन्य चार नेपालीसहित १६ जना विराटनगरबाट उनीहरू सुनसरीको दुहबीस्थित एक मस्जिदमा बसेका खुलेको थापाले बताए। उनका अनुसार सुनसरीकै इटहरीस्थित मस्जिदमा समेत उनीहरु बसेका थिए।

‘इटहरीबाट उनीहरू सप्तरीको बोदेबर्साइन गाउँपालिका–५ को जाँजर गाउँमा बसेका थिए,’ थापाले काठमाडौंप्रेससँग भने, ‘इस्ती पर्व मनाउन आएका उनीहरू जाँजरमा फागुन ३ देखि ५ गतेसम्म बसेको खुलेको छ।’

त्यसपछि उनीहरू बिहेमा सहभागी हुन सप्तरीकै सप्तकोशी नगरपालिकाको फत्तेपुर पुगेका थिए। लकडाउनले विवाह नभएपछि केही दिन उनीहरु त्यहीँ बसेको थापाको भनाइ छ। 

त्यहाँबाट उनीहरू उदयपुरको चौदण्डीगढी नगरपालिका–५ को शिवाइमा रहेको मदर्सामा बसे। त्यहाँ उनीहरु एउटा बिहेमा समेत सहभागी भएका थिए। त्यो मदर्साबाट उनीहरु चैत ४ गते उदयपुरकै त्रियुगा नगरपालिका–३ भुल्केस्थित जामे मस्जिदमा बसेका थिए। अहिले उनीहरु विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ। 

‘उनीहरु जहाँ–जहाँ गए ती स्थानीय निकायका प्रमुखहरुसँग आजैमात्र मैले कुरा गरेको छु। उनीहरु बसेको ठाउँ सिल गर्ने तयारी भइरहेको बताउनु भएको छ,’ उनले भने, ‘फत्तेपुर र चौदण्डीगढीका मुस्लिम बस्तीहरु सिल गर्ने तयारी भइरहेको छ। सम्बन्धित पालिकाहरुले केस हिस्ट्री बनाइरहनु भएको छ। उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरू पहिचानको काम भइरहेको छ।’

उनीहरु बसेको जामे मस्जिद वरपरका गाउँहरु सिल गरिसकिएको छ। त्यहाँका मानिसहरुको र्‍यापिड टेस्ट सुरु भएको छ। उनीहरू निकै अगाडि नेपाल आएकाले उनीहरु यहीँ नै संक्रमित भएको हुन सक्ने थापाको भनाइ छ।
 

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, वैशाख ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्